शिक्षालाई प्रबिधिसँग जोड्दै बरेङ

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको बरेङ गाउँपालिकालाई शिक्षालाई प्रबिधिमैत्री बनाउन थालेको छ ।

बरेङ गाउँपालिकामा ७ वटा माध्यमिक, २ वटा आधारभूत र २६ वटा प्राथमिक विद्यालय छन् । समय सापेक्ष सिकाइलाई प्रभावकारी र प्रविधिमैत्री बनाउनका लागि सबै माध्यमिक विद्यालयमा इन्टरनेट जडान गरिएको बरेङ गाउँपालिकाका शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘माध्यमिक तहका सबै विद्यालयमा इन्टरनेट जडान गरिसकेका छौ,’ उहाँले भन्नुभयो,‘आधारभूत तहका विद्यालयमा पनि जडान प्रक्रिया सुरु गरेका छौ ।’

गाउँपालिकाले माध्यमिक तहका विद्यालयका वेभसाइड समेत निर्माण गर्ने तयारी गरेको छ । वेभसाइड मार्फत विद्यालय र विद्यार्थीको गतिविधि अभिभावकले सहजै थाहा पाउन सक्नेछन् । ‘विद्यालयलाई प्रविधियुक्त बनाउनका लागि माध्यमिक तहका सबै विद्यालयको वेभसाइट बनाउने तयारीमा छौँ,’ उहाँले भन्नुभयो ‘वेभसाइड मार्फत विदेश भएका अभिभावकले पनि आफ्ना बालबालिका र विद्यालयको गतिविधि सहजै थाहा पाउन सक्नेछन् ।’

स्थानीय तहको सरकार बने पछि गुणस्तरिय शिक्षाका लागि शहर र सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य गरेर गाउँमै समय सापेक्ष प्रबिधिमैत्री गुणस्तरिय शिक्षा प्रदान गर्ने व्यवस्था र बातावरणका लागि निरन्तर लागिपरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँनुहुन्छ ।

‘पहिलेको तुलनामा हामी आएपछि शैक्षिक क्षेत्रमा धेरै परिवर्तन ल्याएका छौ, पहिले विद्यालय भवन अभाव हुँदा बालबालिका बाहिरै बस्ने अवस्था थियो भने अहिले पालिका भित्रका कुनै पनि विद्यालयमा त्यो अवस्था छैन,’ अध्यक्ष शर्माले भन्नुभयो ‘अझै पनि हामीले पूर्वाधार तयार गर्नुका साथै गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि बिशेष ध्यान केन्द्रित गरेर लागिरहेका छौँ ।’

बरेङमा भूगोलका कारण शिक्षक दरबन्दी मिलानमा समस्या छ । थोरै विद्यार्थी भएको केही विद्यालय मर्ज गर्ने तयारी समेत छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रमका लागि शिक्षामा ९३ लाख २० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । यस बजेटबाट शैक्षिक सुधार सहितका कार्यक्रम सञ्चालन गरिनेछ ।

गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निशुल्क सिनेटरी प्याड समेत वितरण गरिरहेको छ । गाउँपालिका भित्रका प्राथमिक, आधारभूत र माध्यमिक तहका सबै विद्यालयमा पक्की भवन निर्माणसँगै शौचालय र खानेपानीको समेत व्यवस्थापन गरिएको छ ।

‘विद्यालयको आवश्यकता र विद्यार्थीको संख्याका आधारमा पूर्वाधार निर्माण र शिक्षक दरबन्दी समेत गर्ने काम भइरहेको छ र अझै केही विद्यालयमा व्यवस्थापन गर्न बाँकी छ,’ उहाँले भन्नुभयो ‘बाँकी भएका विद्यालयहरुमा पनि तत्काल काम सुरु हुन्छन्, त्यो काम निरन्तर चलिरहेको छ ।’

समय अनुकुल गुणस्तरीय शिक्षा प्रदानका लागि समय–समयमा शिक्षक तथा अभिभावकलाई विभिन्न किसिमका तालिम समेत प्रदान गरिएको उहाँको भनाई छ ।

गाउँपालिकाले कोरोना कहरका समयमा पनि सुरक्षा मापदण्ड अपनाएर पठनपाठनलाई समेत निरन्तरता दिएको छ । कोभिड–१९ का कारण बन्दाबन्दीको सुरुवाती चरणमा केही समय पठन–पाठन ठप्प भए पनि असार महिना पछाडीबाट निरन्तरता दिएको शिक्षा अधिकृत शर्माको भनाई छ ।

‘कोभिडका कारण केही समय विद्यालय बन्द भए, पठनपाठन पनि ठप्प भए । तर, केही समयपछि हामीले टोल–टोलमा पुगेर सिकाई सहजीकरण ग¥यौँ,’ अधिकृत शर्माले भन्नुभयो ‘त्यस पछाडी विद्यालय नै खोलेर संचालन गरेका छौँ ।’ उहाँले धेरै विद्यार्थी हुने विद्यायमा दिवा र विहानी कक्षा गरि संचालन गरेको र थोरै भएका विद्यालयमा एकै चरणमा पठनपाठन गरि रहेको उहाँको भनाई छ ।

गाउँपालिकाले विद्यालर्थीहरुलाई सुरक्षाका लागि माक्स समेत वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । रेडियो लगायत सामाजिक संजाल मार्फत पनि गाउँपालिकाले विद्यार्थीको क्षमता वृद्धिका लागि कार्यक्रम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शिक्षक, कर्मचारी र जनप्रतिनिधि सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने नीति लिएको छ । पालिकाले नीतिगत रुपमा निर्णय गरेपछि गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका पढाउन सुरु गरेको अध्यक्ष शर्मा बताउँनहुुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *