पत्रकार महासंघको भवन निर्माण सपना दुई दशकमा पुरा

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङले शाखा स्थापनाको दुई दशकमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

२०७३ फागुनबाट निर्माण सुरु गरेको पत्रकार महासंघ बागलुङ शाखाको भवनले हालै आएर पूर्णता पाएको छ । लामो समय देखिको जग्गा व्यवस्थापनले चार वर्ष अघि सार्थकता पाएपछि पत्रकार महासंघ बागलुङले भवन निर्माण थालेको थियो । शाखा स्थापना भएको २० वर्ष पछि महासंघले आफ्नै भवनमा कार्यालय स्थापना गर्ने सपना साकार भएको छ ।

एक करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको तीन तलाको आधुनिक भवन सम्पन्न भएर उद्घाटनको चरणमा रहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । महासंघको गत वर्ष सम्म दुई तला भवन निर्माण भएकोमा यस वर्ष सुविधा सम्पन्न हल निर्माण सहित भवन निर्माणले पूर्णता पाएको हो । अहिले भवन परिसरमा पत्रकार महासंघको ढुंगामा कँुदिएको लोगो सहितको ‘एफएनजे स्मारक’ निर्माण तथा सहयोगदाताको शिलालेखमा नाम समेत टाँस गर्ने काम सकिएको छ ।

शाखाले भवन निर्माणका लागि स्वतस्फुर्त सहयोग संकलनका लागि ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान सञ्चालन गरेको थियो । यस अभियानबाट एक करोड बढी रकम संकलन भएको संस्थाका कोषाध्यक्ष बिजय राना बताउँनुहुन्छ ।

“शाखा स्थापनाको दुई दशक पछि महासंघको भवन निर्माणको सपना पुरा भएको छ, यो सत्कर्मका निमित्त महासंघका पूर्व अध्यक्षदेखि लिएर सबै क्षेत्र र निकायबाट अभूतपूर्व भुमिका, साथ सहयोग मिल्यो” अध्यक्ष शिरीषले भन्नुभयो “यो पवित्र कर्मको हकदार जिल्लाका पत्रकार र सबै सहयोगी मनहरु हुनुहुन्छ ।” जिल्लाका सबैजसो सरकारी कार्यालय रहेको स्थान बागलुङ नगरपालिका–२ सञ्चारचोकमा भवन निर्माण गरिएको हो । महासंघको सुविधा सम्पन्न भवनमा महासंघको कार्यालय सहित २ सय बढी क्षमताको कार्यक्रम सभाहल र आधुनिक सूचना केन्द्र समेत स्थापनाको अन्तिम चरणमा छ ।

महासंघको भवन निर्माणका लागि सञ्चार मन्त्रालय, गण्डकी प्रदेश सरकार, बागलुङ स्थित स्थानीय तह,सामाजिक संघ संस्था, पत्रकार र सहयोगदाताबाट सहयोग प्राप्त भएको कोषाध्यक्ष रानाको भनाई छ । रानाका अनुसार, महासंघको भवन निर्माणमा संघीय सरकार, गण्डकी प्रदेश र पालिकाबाट रु.५५ लाख ४६ हजार, विभिन्न संघ संस्थाबाट रु.१३ लाख बढी, समाजसेवी व्यवसायी लगायतबाट १३ लाख, पत्रकार महासंघ संस्थागत क्षमता विकास कार्यक्रमबाट १० लाख, पत्रकार सञ्चारकर्मीबाट मात्रै ८ लाख बढी रकम संकलन भएको थियो । जसमध्ये सञ्चार मन्त्रालयबाट ५ लाख, गण्डकी प्रदेश सरकारबाट १५ लाख, बागलुङ नगरपालिकाबाट १७ लाख र अन्य विभिन्न पालिकाबाट १ लाख देखि ५ लाख सम्म सहयोग प्राप्त भएको उहाँको भनाई छ ।

चार वर्ष अघि निवर्तमान अध्यक्ष मुकेश राजभण्डारी नेतृत्वको कार्यसमितिको पहलमा तत्कालिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे तथा नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीको पहलमा जिल्ला बाल कल्याण समितिको नाममा रहेको करिब ५ आना जग्गा ५० वर्षको भोगचलनका लागि व्यवस्थापन गरेको थियो । त्यस लगत्तै वर्तमान कार्यसमितिले काम थालेर महासंघको आफ्नै भवन बनाउने सपना पुरा भएको महासंघ बागलुङ शाखाका सचिव राम थापाले जानकारी दिनुभयो । महासंघको नवनिर्मित भवन यही मंसिर ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *