मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड: सुगम गिज्याउँदै दुर्गम

खेमराज गौतम, बागलुङ

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ ।

बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाड लगाएतका क्षेत्रमा कालोपत्रे भएर सुगम बनेको सन्र्दभमा सुगम मानिएको जिल्ला सदरमुकाम दुर्गम भएजस्तो भान भएको छ । निसीखोलाबाट सरसर कालोपत्रेमा सवारीमा गुड्दै आएका यात्रुहरु घोडाँबादे आएपछि हिउँदमा धुलो र बर्खामा हिलोमा फसिदै सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।

ठेक्का सम्झौता भएको पाँच वर्ष सम्म कालोपत्रे हुन नसकेको लोकमार्गमा अहिले फ्याट्ट फुट्ट काम भएको देखिन्छ । निर्माण व्यवसायीले बागलुङ सदरमुकाम खण्डमा कालोपत्रे गर्ने गरी अब गति लिने बताउदै आएका छन् ।

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन नसक्नुका विषयमा सवत्र चासो र चिन्ताको विषय बनेपछि लोकमार्ग आयोजना कार्यालय पर्वतले कालोपत्रे गर्नका लागि लामो समय पछि पहल थालेको छ ।

लोकमार्गका कारण दुर्गम मानिएको बागलुङको पश्चिम क्षेत्रका सबैजसो सडक कालोपत्रे भएर सुगम बन्दा समेत जिल्ला सदरमुकाम बागलुङ बजार देखि घोडाबाँधे खण्डको सडक ठेक्का सम्झौता भएको पाँच वर्ष सम्म पनि कालोपत्रे हुन सकेको छैन ।

कालोपत्रे हुन नसक्दा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । आयोजनाको ट्रयाक खोलेको २० वर्ष बितिसक्दा समेत कालोपत्रे नभएकोमा यहाँका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेताहरुले चर्को आलोचना समेत खेप्दै आएका छन् ।

आयोजना कार्यालय पर्वतका नवआगन्तुक प्रमुख मेघराज मरासिनीको पहल र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया समेत गरिएको छ ।

जस्लाई बागलुङमा सकरात्मक पहलका रुपमा समेत लिइएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ बजार उपल्लाचौर–अक्षेते–बिहुँ खण्ड र बिहुँ घोडाँबाधे सडक खण्डका मुख्य ठेकदार, जनप्रतिनितधि, राजनैतिक दल, पालिका प्रमुखहरुले समेत सामुहीक रुपमा कालोपत्रेका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि कालोपत्रे नहुनु गम्भीर लापरवाही भएको भन्दै जवाफदेही बनाउनका लागि सरोकारवालाका बीचमा ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि राखेर स्पष्टिकरण तथा आगमी प्रतिबद्धता गराएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।

“कार्यालय प्रमुख भएर आएको लामो समय भएको छैन । तर, यस अवधिमा थुप्रै सकरात्मक पहल गरेको छु, सरोकारवालासँगको समन्वयमा सडक बन्न नसकेको यथार्थ हो” मरासीनीले भन्नुभयो “सबैको पहलमै सडक कालोपत्रे हुनेमा आशावादी छौं, पहिलोपटक मुख्य ठेकेदारहरुलाई जिल्ला झिकाएर प्रजिअले निर्देशन गर्नुभएको छ, अरु सरोकारवालाले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।”

गण्डकी प्रदेश सांसद चन्द्रबहादुर बुढाले अहिले सम्म लोकमार्ग कालोपत्र नहुँदा यहाँका जनताले ठूलो समस्या भोगेकाले अब यसबाट निर्माण कम्पनी भाग्ने छुट नभएको बताउनुभयो ।

यस्तो छ कालोपत्रे हुन नसक्नुका कारण
पूष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा कालोपत्रे हुन नसक्नुमा धेरै कारण छन् । पहिलो त निर्माण कम्पनीको चरम लापरवाही र बेवास्ता हो । दोस्रो, मध्यपहाडी आयोजना कार्यालयले अनुगमन गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन नसक्नु हो । तर, अरु धेरै कारण लोकमार्गको कामलाई अपेक्षाकृत रुपमा अघि बढाउन नसकिएको ठेकेदार कम्पनी बताउँछन् ।

सदरमुकाम खण्डको उपल्लाचौर अक्षेते बिहु खण्डमा खानेपानीको पाइप, सडकको मापदण्डमा परेका घर हटाउन, बोक्सेमा निरन्तर रुपमा खसेको पहिरो व्यवस्थापन गर्न नसक्नु, भीर कटान गर्दा सवारी आवागमन बन्द गर्नुपर्ने लगायतका समस्याका कारण कालोपत्रेमा ढिलाई भएको निर्माण व्यवसायी दिपेन्द्रबहादुर शाहीले स्विकार गर्नुभयो ।

“हामीलाई सुरक्षाको समेत व्यवस्था होस्, खानेपानीको पाइप हटाइयोस् हामी अबको जेठ भित्र कालोपत्रे गर्न तयार छौं” शाहीले भन्नुभयो “नगरपालिकाले माटो फाल्ने जग्गा व्यवस्थापन गर्न समेत समस्या छ, यी स्थानीय समस्यामा सहज समाधान भउ हामी आगामी जेठ भित्र कालोपत्रे गर्नेछौं ।”

लोकमार्गको उपल्लो खण्डको रुपमा रहेको अक्षेते बिहुँ घोडाबाधे खण्डमा समेत आवश्यक कच्चा पदार्थको अभाव र माटो फाल्ने स्थान नभएका कारण सडक कालोपत्रे गर्न समस्या भएको उक्त खण्डको कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण व्यवसायी सुर्यबहादुर खड्काले जानकारी दिनुभयो । उपल्लो खण्डमा कच्चा पदार्थको रुपमा गलकोट नगरपालिका–१ स्थित चौराहको बनबाट खरिद गरी ल्याए पनि पछिल्लो समय समन्वयको अभावमा कच्चा पदार्थ ल्याउन नसकेको खड्काले जानकारी दिनुभयो ।

“७ सय मा लिएको कच्चा पदार्थको रेट बढाएर दुई हजार बनाइएको छ, स्थानीय तहले समन्वय गरेर कच्चा पदार्थ ल्याउने व्यवस्था र सडक कटानको माटो फाल्ने व्यवस्था काठेखोला गाउँपालिकाले गरोस्” खड्काले भन्नुभयो “जेठ भित्र कालोपत्रे गरेर सडक जिम्मा लगाउने गरी सबै तयारी अवस्थामा छ, कच्चा पदार्थ निकाल्ने व्यवस्थापन भए पुग्छ ।”

खानेपानीको पाइप हटाइरहेको र आवश्यक परे थप पाइप हटाउन संस्था तयार रहेको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधि सुधिर श्रेष्ठले जानकारी दिनुभयो ।

लोकमार्ग बागलुङ खण्डको वर्तमान अवस्था
कुल १ हजार ७ सय ७६ किलोमिटरको लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले बताएको छ ।

बागलुङको समृद्धि संग जोडिएको लोकमार्ग सबै कालोपत्रे भएमा बागलुङले विकासमा फड्को मार्न सक्ने छ । यसलाई बागलुङको लाईफलाईन सांग समेत जोडिएको छ । यसमा पनि २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो ।

उपल्लाचौर देखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको भए पनि अझै सम्म जम्मा ५० प्रतिशत मात्रै भौतिक प्रगती भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

लोकमार्गको निसीखोला खण्डमा समेत १७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । निसीखोला खण्डमा सडक निर्माणको अवस्था सन्तोषजनक रहे पनि सदरमुकाम खण्डमा ठेकेदारको चरम लापारवाही देखिन्छ ।

नेपालमा सबैभन्दा बढी लोकमार्गले छोएको भाग बागलुङ भएपछि विकासको मुल आधार बनेको छ । तर, दुर्गमले सुगमलाई गिज्याई रहँदा समस्यामा परेको छ । तल्लो खण्डको माघ १२ र उपल्लो खण्ड माघ ९ गते ठेक्का मिति सकिदैछ । उनीहरुलाई अन्तिम पटक ६ महिनाको म्याद थप्नका लागि प्रकिया अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

ठेकेदारले गरे लिखित प्रतिबद्धता
ठेकेदार कम्पनीले मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा लिखित रुपमै २०७८ जेठ महिना भित्रै सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाही र उपल्लो खण्डको ठेकेदार कम्पनी एमपी एसिएफ इसिसी जेभीका आधिकारिक प्रतिनिधि सुर्यबहादुर खड्काले अहिले भएको ढिलाई प्रति आत्मआलोचना गर्दै अबको ६ महिना भित्रै कालोपत्रेको काम सक्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।

यसका लागि लोकमार्ग निर्माणमा देखिएका खानेपानीको पाइप, कच्चा पदार्थको अभाव, घर टहरा हटाउने र सवारी आवागमन लगायतका समस्यामा सबैको सहयोग र सहजीकरण भएमा जेठ भित्रै कालोपत्रे गर्ने बागलुङका जनप्रतिनिधि, राजनैतिक दल तथा सरोकारवाला निकाय संग प्रतिबद्धता जनाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिनुभयो ।

सदरमुकाम नजिकै रहेको उपल्लाचौर–अक्षेते–खण्डको खहरेको भीर कटानका लागि १५ दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ । यही मङ्सिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी अगाडी बढेको छ ।

आगमनलाई तालिका बनाएर बन्द गरी चट्टान कटान कटान गर्न समन्वय गरिरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेले जानकारी दिनुभयो । “मैले सक्दो समन्वय गर्छु, सवारी साधन तालिका बनाएर बन्द गर्छु” न्यौपानेले भन्नुभयो “काम अगाडी बढाउन प¥यो, सडक कालोपत्रे हुनुप¥यो, अब कुनै पनि बाहनामा छुट दिन सकिदैन ।”

सकरात्मक संकेत
ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित भएर लोकमार्ग सदरमुकाम खण्ड कालोपत्रेका लागि लिखित प्रतिवद्धता नै जनाए पछि लोकमार्ग निर्माणको आशा जागेको छ ।

लामो समय सम्पर्कमा नरहेका ठेकदारहरु सम्र्पकमा आउने, क्रसर उद्योग स्थापना गर्ने र जेठ सम्म कालोपत्रे गर्ने लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा प्रतिवद्धता जनाएकाले ढिलै भए पनि सडक कालोपत्रे हुनेमा सरोकारवाला आशावादी देखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय समक्ष दुबै निर्माण व्यवसायीले लिखित रुपमा जेठ भित्रै कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनु, लोकमार्गमा देखिएका बिद्यमान बाधाहरुमा स्थानीय प्रशासन र सम्बन्धित पालिकाले समन्वय सहजीकरण गर्ने लगायतका विषयमा प्रतिबद्धता जनाएकाले लोकमार्ग कालोपेत्र हुनेमा सकरात्मक संकेत देखिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

“केही बाधा समस्या परे हामीले सुल्झाउछौं, तपाईहरु काममा तिब्रता दिनुस् भनेका छौं” अध्यक्ष थापाले भन्नुभयो “लिखित रुपमा प्रतिबद्धता जनाएर कालोपत्रे गर्ने निर्णय भएकाले अब अलि बढी आशातित र उत्साहित भएका छौ ।” काठेखोलामा पर्ने लोकमार्गको खण्डमा कुनै समस्या नरहेको, आवश्यक कच्चा पदार्थ र माटो फाल्ने व्यवस्थाका लागि तत्काल समन्वय र व्यवस्थापन गर्ने बताउनुभयो ।

दुर्गममा लोकमार्गका कारण विकासले तिव्रता पाएको वर्षौ बित्दा समेत सदरमुकाम सेरोफेरोमै राष्ट्रिय गौरवको आयोजनाको यस्तो बिजोग अवस्था आउनु दुखद भएकाले ढिलै भए पनि निर्माण कम्पनीले लिखित प्रतिवद्धता जनाउनु सकरात्मक भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । “निसीखोला, ढोरपाटन, बडिगाड र गलकोटमा सडक कालोपत्रे भएको छ, सदरमुकाममा कामकाजले आउँदा बाटोमै फसिएर बस्नुपर्ने अवस्था छ” अध्यक्ष पाइजाले भन्नुभयो “दुर्गम क्षेत्रले सुगम मानिने बागलुङ बजार क्षेत्रलाई गिज्याइरहेको भान भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *