आदर्श अनलाइन, बागलुङ
देशमा राजतन्त्र अन्त्य भएको घोषणा गरिएको १२ वर्ष पछि राजतन्त्रकै पक्षमा बागलुङ बजारमा बुधवार बिरोध प्रदर्शन गरिएको छ ।
हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापनाको माग सहित बागलुङ बजारमा बिरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र राष्ट्रिय युवा मोर्चाको आयोजनामा राजावादी समर्थक शुभेच्छुकहरुको ठुलो समूहले मोटर साइकल ¥याली सहित कालिका भगवती मन्दिरदेखि बागलुङ बजार परिक्रमा गरेको थियो ।
प्रदर्शनमा ‘राजा आउ, देश बचाउँ, भ्रष्टाचारीलाई कारबाही गर, राजतन्त्र पुर्नस्थापना गर, संघीयता खारेज गर, गणतन्त्र धोका हो, हिन्दुराष्ट्र जिन्दावाद लगायतका नारा लगाएका थिए । बिरोध प्रर्दशन पछि लोकतान्त्रिक चोकमा आयोजित संक्षिप्त कार्यक्रममा स्वतन्त्र राष्ट्रिय युवा मोर्चाका संयोजक संजय खड्काले वर्तमान सरकारले देश माथि गम्भीर खेलवाड गरेकाले अब सबैले आवाज उठाउनु पर्ने बताउनुभयो । देश जटिल अवस्थामा देखिन थालेकाले राजतन्त्र नै उत्तम विकल्प भएको उहाँको भनाई थियो ।
बिरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष भीमप्रसाद गौचन, वरिष्ठ नेता दिलविकास राजभण्डारी, केन्द्रीय सदस्य देविप्रसाद कँडेल, जिल्ला अध्यक्ष सुरेन्द्र खड्का, सहअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतका नेताहरुको समेत सहभागिता थियो ।
बिरोध प्रदर्शनका लागि बागलुङ, म्याग्दी, पर्वत र कास्कीबाट समेत राजतन्त्रको पक्षमा रहेका समर्थक शुभेच्छुक उपस्थित भएका थिए । पछिल्लो समय देशव्यापी रुपमा राजावादीहरुले सरकार बिरुद्ध बिरोध प्रर्दशन गर्दै आएका छन् । राजावादी सँगै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाले समेत सरकारका बिभिन्न पछिल्लो गतिविधिलाई लिएर कोरोना कहरकै बीच सडक प्रदर्शनका कार्यक्रम आयोजना गरेका छन् ।