सामूहिक खेतीमा आकर्षित महिला

साधना पन्त, बागलुङ
जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका महिलाहरु यतिबेला सामूहिक रुपमा व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।

कुनै समय आफुले उत्पादन गरेको तरकारीले आफ्नै भान्छालाई पनि नपुग्ने अवस्था भोगका स्थानीय महिला अहिले आत्मनिर्भर बनेका छन् । आत्मनिर्भर मात्रै होइन, व्यावसायिक कृषकको परिचय समेत बनाउन थालेका छन् ।

आफ्ना उत्पादनले आफैलाई नपुगे पछि वाक्क परेका उनीहरुले सुरुवाती दिनमा बाध्यताका बीच सामूहिक खेती सुरु गरेका थिए । तर, अहिले व्यक्तिगत रुपमा समेत व्यावसायिक अभ्यास थालेका छन् ।

एक वर्ष अगाडी गलकोट नगरपालिकाले महिलाहरुलाई व्यावसायिक बनाउनका लागि ‘मिसन प्याज खेती’ कार्यक्रम ल्याएको थियो । प्याजको बीउँ दिएर महिलाहरुलाई सामूहिक रुपमा बेर्ना तयार गर्ने, प्याज रोप्ने सँगै समूहमै बेच्न लगाइएको थियो । अर्म, पर्म र मेलापातमा समूहमा काम गरे पनि त्यो समय सम्म उनीहरुले सामूहिक उत्पादन, बजारिकरण र आम्दानीको बारेमा भने सोचेका थिएनन् । नगरपालिकाले ल्याएको ‘मिसन प्याज खेती’ पश्चात महिलाहरुले व्यावसायिक खेतीको सम्भावना देखेका हुन् ।

महिलाहरुले गाउँकै पुरुषहरुसँग सल्लाह लिएर ८ महिला र ३ पुरुष सहित एक वर्ष अगाडि सुमित्रा कार्कीको अध्यक्षतामा मेलमिलाप एकीकृत कृषक समुह गठन गरेका थिए । उनीहरुले सोही समुहलाई ८ महिना अगाडी एकीकृत कृषि फार्मको रुपमा गलकोट नगरपालिकामा दर्ता गरेका छन् । उनीहरुले ३५ रोपनी जग्गामा सामुहिक तरकारी खेती गरेका छन् ।

यसमा केही लिज र केही समूहका सदस्यहरुकै जग्गा उपयोग गरिएको छ । समुहका अध्यक्ष कार्कीले गाउँकै सहकारीबाट १ लाख ४० हजार रुपैयाँ कर्जा लिएर तरकारी खेती सुरु गरेको भए पनि १ वर्षमै खर्च कटाएर ५ लाख आम्दानी गर्न सफल भएको बताउँनुहुन्छ । आम्दानी भएको उक्त रकम पनि थप लगानी गरेर व्यावसायिक विस्तार गरिएको छ ।

समूहमा ३ जना पुरुष भएपनि आफुहरुले गर्न नसकेको काममा मात्र उनीहरुको सहयोग लिने गरेको कार्कीको भनाई छ । ‘वडा कार्यालयले तरकारीको बीउँ बिजन दिएर सहयोग गरेको छ,’ अध्यक्ष कार्कीले भन्नुभयो ‘अबका दिनमा आधुनिक कृषि उपकरण सहयोग गरिदिए हामीलाई अझै सहज हुन्थ्यो ।’

सामूहिक रुपमा तरकारी खेती सुरु गरेपछि गाउँलेहरुलाई समेत ताजा र अर्गानिक तरकारी किन्न बजार धाउने समस्या हटेको समूहका सचिव जगत गुरुङले बताउनुभयो । ‘घर परिवारसँग बसेर ताजा तरकारी खाँदै आम्दानी पनि हुने,’ गुरुङले भन्नुभयो ‘मौसमी भन्दा बेमौसमी तरकारी खेतीमा अझै धेरै आकर्षण बढेको छ ।’

च्याउ, बन्दा, काउली, ब्रोकाउली, सिमी, टमाटर, काक्रो, खुर्सानी, गाजर, आलु, धनियाँ, मुला उत्पादन गरेर गलकोटकै हटिया बजारमा बिक्री गर्ने गरेको गुरुङले बताउनुभयो । ‘आफ्नो घरमा खाने तरकारी उत्पादन गर्न सक्ने हामीहरु बिक्री गर्ने तरकारी उत्पादन गर्न किन सक्दैनौ ?’ गुरुङ प्रश्न गर्नुहुन्छ ‘सामूहिक रुपमा काम गर्दा सहज मात्रै होइन, छिट्टै आम्दानी पनि हुने रहेछ ।’

उत्पादन र आम्दानी राम्रो भएका कारण अहिले गाउँमा महिलाहरुले सहकारीबाट कर्जा लिएर कृषि कर्ममा लागेका छन् । स्थानीय सरकारले पनि महिलाहरुका लागि बिशेष योजना लिएर काम गरेमा महिलासँगै अन्य युवाहरुको पनि आकर्षण बढ्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *