नेकपा विभाजन : बागलुङमा पनि कित्ताकाट

आदर्श अनलाइन, बागलुङ
झण्डै दुई तिहाईको सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । मंगलबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बसेसँगै नेकपा औपचारिक रुपमा विभाजनको अवस्थामा पुगेको हो ।

प्रचण्ड, माधव नेपाल लगायतको उपस्थितिमा भएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । उता, केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गर्दै प्रबत्ताको रुपमा प्रदिप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । साथै आगामी मंसिरमा महाधिवेशन गर्ने उद्घोष सहित आयोजक कमिटी समेत बनाएको छ ।

यो सँगै प्रदेश र जिल्ला स्तरमा पनि राजनीतिक धुब्रिकरण तिब्र बन्न थालेको छ । नेकपा विभाजन भएसँगै बागलुङमा नेता कार्यकर्ताबीच जोड घटाउ सुरु भएको छ । बागलुङमा तत्काल हेर्दा प्रचण्ड माधव नेपाल पक्ष बलियो देखिएको छ ।

तत्कालिन एकिकृत माओवादी केन्द्र र नेकपा एमाले एकीकरण पछि बनेको ७ सदस्यीय बागलुङ जिल्ला कार्यालय मध्ये अधिकांश प्रचण्ड र माधव नेपाल पक्षमा उभिएका छन् । जिल्ला इन्चार्ज बलावती शर्मा प्रचण्ड नेपाल पक्षमा लागेका छन् भने सह–इन्चार्ज मनकुमारी केसी केपी ओली पक्षमै दृढ हुनुहुन्छ ।

७ कार्यालय सदस्य मध्ये जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, कार्यालय सदस्य लालबहादुर थापा, बिष्णु भुषाल, फमलाल न्यूरे, चन्द्र बुढा प्रचण्ड नेपाल पक्षमा प्रष्ट लागेका छन् भने केपी ओली निकट मानिएका अर्का कार्यालय सदस्य कृष्ण पाठक भने खुल्नुभएको छैन । आदर्शसँगको कुराकानीमा पाठकले आफु अहिले सम्म कुन पक्षमा भनेर निर्णय गरिनसकेको बताउनुभयो ।

जिल्ला कमिटीको दुई तिहाई सदस्य पनि प्रचण्ड माधव नेपाल पक्षकै भएको जिल्ला सचिव ज्ञामनाथ गैरे बताउनुहुन्छ । यद्यपी, ओली पक्षिय नेताहरुले अहिलेको परिस्थितिजन्य घटनाक्रम र तथ्य बुझे पछि नेता, कार्यकर्ताको ठुलो पंक्ति यतै आउने दाबी गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बागलुङबाटै ८ जना केन्द्रीय सदस्य मनोनित गरेकाले यसको प्रभाव कति रहन्छ भन्ने कुराले पनि जिल्लाको शक्ति समिकरणमा प्रभाव राख्नेछ ।

ओलीद्वारा बागलुङबाट १० केन्द्रीय सदस्य मनोनित
केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी बैठकले मंसिर २ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको छ । यसका लागि महाधिवेशन आयोजक कमिटी बनाउँदै ५ सय ५६ जना केन्द्रीय सदस्य थप गरेको छ ।

मौजुदा केन्द्रिय सदस्य ४ सय ४७ मा ५ सय ५६ सदस्य थप गरी १ हजार १ सय ९९ पु¥याइएको छ । जसमध्ये १ सय ९६ जना केन्द्रीय सदस्य मनोनित हुन बाँकी छ । बागलुङबाट नेकपाको केन्द्रीय सदस्यमा १० जना थप भएका छन् ।

जसमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, गण्डकी प्रदेश सदस्य श्री प्रसाद शर्मा, गण्डकी प्रदेश सदस्य गिता शर्मा, ममतादेवि शर्मा, संविधान सभासदस्य नरबहादुर थापा, संघीय सांसद सुर्य पाठक, गण्डकी प्रदेश सदस्य हिरा बहादुर केसी, मोहनलाल शर्मा, शुनिल शेरचन र टेकबहादुर केसी रहेको नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *