आदर्श अनलाइन, बागलुङ
सत्ताको बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै बागलुङ जिल्लाबाट केपी ओली नेतृत्वको केन्द्रीय सदस्यमा मनोनित भएका केही नेताले पद अस्वीकार गरेका छन् । केहीले भने पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् ।
बुधवार मात्र ओलीले साविकको केन्द्रीय कमिटीमा ४ सय बढी सदस्य थप गर्ने क्रममा बागलुङबाट १० जनाको नाम केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो ।
ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनित भएका तत्कालिन एमाले पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष हिराबहादुर केसी, नेकपा प्रदेश कमिटी सदस्य गिता शर्माले उक्त निर्णय अस्वीकार गर्नुभएको छ । श्रीप्रसाद शर्मा र हिराबहादुर केसीले आफुहरुसँग कुनै परामर्श नगरी बदनाम गर्ने हिसाबले नाम राखिएको बताएका छन् । ‘मलाई यस बिषयमा कसैले केही छलफल परामर्श गरेको छैन,’ केसीले भन्नुभयो, ‘कसले केन्द्रीय सदस्य बनाएको हो ? नाम दिएर प्रचार गरिरहेको छ, उसैलाई सोध्नुहोला ।’
गीता शर्माले पनि आफूसँग कुनै छलफल नगरी सदस्यमा नाम राखेकाले आफूले अस्वीकार गरेको बताउनुभयो । उहाँले अब प्रचण्ड माधव नेपाल समूहमा समर्पित र सक्रिय रहने प्रष्ट पार्नुभयो ।
अर्का केन्द्रीय सदस्यमा मनोनित सुनिल शेरचन र मोहनलाल शर्माले यसका बारेमा प्रष्ट प्रतिक्रिया दिएका छैनन् । शर्माले केन्द्रबाट फोन सम्पर्क भएको र विवेक सम्मत निर्णय गर्ने बिषयमा आफुले थप केही नभनेको बताउनुभयो । शेरचनले पनि आफु पार्टी एकताको पक्षमा रहेको र विभाजन पछि पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रया दिनुभयो । आफु पार्टी एकता र जनबादको पक्षमा रहेको उल्लेख गर्दै अब पनि कार्यकर्ताको भावना अनुसार निर्णय लिने बताउनुभयो ।
केन्द्रीय सदस्यमा मनोनित संविधानसभा सदस्य नरबहादुर थापा, संघीय सांसद सूर्य पाठक, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडल, ममतादेवी शर्मा, टेकबहादुर केसी र मोहनलाल शर्माले कुराकानी भएको र पूर्ववत पार्टीमै रहने बताएका छन् ।
नेकपा केन्द्रीय सदस्य मनोनित बागलुङका तीन नेताद्वारा अस्वीकार, दुई मौन
