बाढीको कहरः ‘आमाको यादले रातभर निद्रा लाग्दैन’

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको पश्चिम क्षेत्रका बाढी पीडितको दर्द अझै कहाली लाग्दो छ ।

गत भाद्र १७ गते आएको बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ भूजीखोलामा आएको बाढीमा २२ जनाले ज्यान गुमाएका छन् भने १५ जना अझै वेपत्ता छन् ।

आफ्नी आमा गुमाएकोमा ढोरपाटन नगरपालिका वडा नम्बर ९ की खिमकुमारी पुन सधैँ आमा कतै गएको र आउने आशाले झस्काइरहने बताउनुहुन्छ । भूजीखोलामा आएको भिषण बाढीले उहाँकी ६६ वर्षीया माता दाेठी पुनसँगै पसल र घरबारी सबै बगाएको थियो ।

अहिले उहाँ आफन्तकोमा आश्रय लिएर बस्नुभएको छ । ३२ वर्षीया खिमकुमारी अविवाहित हुनुहुन्छ । उहाँले आफ्नो सबथोक आमा भएको र आफु माथि दैव लागेको बताउनुहुन्छ ।

‘आमाको धेरै याद आउँछ, उहाँको यादले गर्दा रातभर निन्द्रा पनि लाग्दैन, कतैबाट आमा आउनुहुन्छ की जस्तो लाग्छ,’ उहाँले भन्नुभयो, ‘मेरो सबथोक आमा हुनुहुन्थ्यो, बाढीले आमासँगै घरबारी सबै बगायो, आमा कतैबाट आइ हाल्नु हुन्छ की जस्तो लाग्छ,’ खिमकुमारी भन्नुहुन्छ, ‘आमा नहुँदा बाँचेको जस्तो पनि आभाष भएको छैन ।’

अरुको घरमा लामो समय बस्दा समस्या भए पनि सरकारले आफूहरुको पीडा र बाध्यता नबुझेको उहाँको गुनासो छ । केही समय अगाडी विभिन्न दाताले दिएको राहतले बिहान बेलुकाको छाक टारेको र लत्ता कपडा सहयोगीले दिएको बताउनुहुन्छ । बाढीले परेकी दोठी पुनको एउटा एउटा खुट्टा मात्रै भेटिएको थियो ।

‘आमाको सबै शरिर समेत भेटिएन, एउटा खुट्टा मात्रै खोला किनारमा भेटिएको थियो, मैले माआको खुट्टा चौकीमै चिनेको थिए, सदगत पनि गर्न पाइएन, अझै पनि आमा जिवितै हुनुहुन्छ, गाउँ तिरबाटै आउनुहुन्छ की जस्तो लागिरहन्छ, बाटो हेरेर टोलाइरहन्छु ।’

खाना आएर सँगै सुतेका आमा छोरी राती बाढी आएको थाहा पाए पछि छिमेकीलाई उठाउने क्रममा आमालाई गुमाएको खिमकुमारीको भनाई छ । ‘साँझ खाना खाएर सँगै सुतेका थियौँ, बाढी आएको थाहा पाए पछि आमालाई माथि गाउँमा पठाएर मैले छिमेकीलाई उठाउन थाले, गाउँ जान ढिला गर्दा आमा नै बाढीमा पर्नु भयो,’ उहाँले भन्नुभयो ‘पछि माथि गाउँमा उक्लिएर आमालाई खोज्दा बल्ल पो थाहा पाएँ, आमा पनि बाढीमा पर्नु भयो ।’

दिन धेरै बिते पनि बाढीसँगै जन्मदिने आमा गुमाउनु भएकी खिमकुमारीको पीडा र दर्द कत्ति कम भएको छैन । बस्ने घर र खाने गास समेत बाढीले लगेपछि दाईको घरमा बस्दै आउनुभएको छ । सरकारले घर बनाउने भने पनि अहिलेसम्म कुनै पनि कदम अगाडी नबढेकाले घर बनाइदिने आशा पनि मरिसकेको उहाँको भनाई छ ।

‘सरकारले पहिले घर बनाई दिने त भन्थे तर अहिले कुनै पनि सुरसार छैन, आजभोली त कोही पनि आउँदैन,’ उहाँले भन्नुभयो ‘बस्ने बास र खाने गासको पनि ठेगान छैन, अहिले त आफन्तकोमा छु, आफन्तकोमा पनि कति दिन बस्ने ?’

उहाँले चिसो मौसम सुरु भए पछि थप समस्या पर्दै गएको बताउनुभयो । ‘आफन्तकोमा त बसेको छु तर आफ्नो घरमा बसेको जस्तो त हुँदैन । चिसो समय छ, बस्ने खानेमा त समस्या भई हाल्छ नि,’ उहाँले भन्नुभयो ।

बाढीले १ सय ३१ घरमा क्षति पु¥याएको पु¥याएको थियो । जसमध्ये ८० घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने ५१ घरमा आंशिक रुपमा क्षती भएको थियो ।

बाढीले ११ वटा जलविद्युत केन्द्रको विद्युत गृह र नहर बगाउँदा पूर्ण रुपमा अवरुद्ध छ । एक स्वास्थ्य ईकाई, ११ झोलुङ्गे पुल, ढलान पुल ५, काठे पुल १० र दुई विद्यालय समेत बाढीले बगाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *