निसीखोलाको सबै वडामा स्वास्थ्य चौकी बन्दै

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुधारमा सकरात्मक प्रयास थालेको छ ।

गाउँपालिकाले सबै वडाका नागरिकलाई सरल र गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउनका लागि नभएका वडामा स्वास्थ्य चौकीको सेवा सुविधा र भएका स्वास्थ्य चौकीको स्तरोन्नतिका लागि काम थालेको हो ।

गाउँपालिकाको वडा नम्बर १, ३, ५ र ६ मा स्वास्थ्य चौकी सञ्चालनमा छन् भने वडा नम्बर २, ४ र ५ मा सञ्चालनको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

वडा नम्बर २ र ५ मा जग्गा व्यवस्थापन भइरहेको छ भने वडा नम्बर ४ को थापागाउँमा स्वास्थ्य चौकीको भवन निर्माण कार्य जारी छ ।

वडा नम्बर १ मा देविस्थान स्वास्थ्य चौकी, वडा नम्बर ३ मा बोहोरागाउँ स्वास्थ्य चौकी, ६ मा निसी स्वास्थ्य चौकी र ७ मा राजकुट स्वास्थ्य चौकी अहिले सञ्चालनमा छन् । यी स्वास्थ्य चौकी साविकको गाबिस हुँदाबाट नै सञ्चालनमा थिए ।

गाउँपालिकाको प्रत्येक वडामा एक स्वास्थ्य चौकी निर्माण गर्ने नीति अुनसार वडा नम्बर २, ४ र ५ मा सञ्चालनका लागि प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शाक्यले बताउनुभयो । वडा नम्बर ४ मा भने जग्गा व्यवस्थापन भई भवन निर्माण भइरहेको छ ।

स्वास्थ्य उपचारका लागि टाढा जानु पर्ने स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै अहिले वडा नम्बर २ को अर्नाकोट र वडा नम्बर ५ को निसीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोपबहादुर चन्दले बताउनुभयो ।

यसलाई थप व्यवस्थित र स्तरोन्नति गर्ने अभियान स्वरुप गाउँपालिकाले विनियोजन गरेको ३५ लाख रुपैयाँमा वडा नम्बर ४ को थापागाउँमा स्वास्थ्य चौकी निर्माण भइरहेको छ । भवनमा निर्माण पश्चात सेवा सुरु हुनेछ ।

‘वडा नम्बर २ र ५ मा जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा छौँ, वडा नम्बर ४ मा निर्माण भइरहेको छ,’ स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, ‘यी दुई वडामा जग्गा व्यवस्थापन हुँदा साथ निर्माण प्रक्रिया अगाडी बढ्छ, वडाका जनप्रतिनिधि जग्गा व्यवस्थापनमा लाग्नु भएको छ ।’

गाउँपालिकाको वडा नम्बर–४ मा गाउँपालिका स्तरीय १० शैयाको आधारभूत अस्पताल समेत निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि मंसिर १५ गते शिलान्यास भइ सकेको छ ।

अस्पताल निर्माणका लागि डिपीआर तयार गरि रहेको र पौष महिना भित्र ठेक्का सम्झौता गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो । पालिका स्तरीय आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारले ८५ लाख विनियोजन गरेको थियो ।

गाउँपालिकाले नयाँ स्थापना हुन थालेका वडामा पूर्वधार निर्माण गरिरहेको र विगतदेखि संचालन हुँदै आएका स्वास्थ्य संस्थाको स्तरोन्नति भइरहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

‘सबै नागरिकको पहुँचमा गुणस्तरिय र सहज स्वास्थ्य सेवा प्रवाहको लागि वडा–वडामा स्वास्थ्य चौकी निर्माण गरिरहेका छौँ, केही वडामा जग्गा व्यवस्थापन भइरहेको छ, कुनैमा भवन निर्माण हुँदैछ,’ अध्यक्ष पौडेलले भन्नुभयो–‘अब कुनै पनि नागरिक स्वास्थ्य उपचार पाउनबाट बञ्चित हुनुपर्ने छैन, अब धेरै खर्च गरेर टाढा जानु पर्ने बाध्यता अन्त्य हुनेछ ।’

पालिकामा सञ्चालन भएका सबै स्वास्थ्य संस्थामा कर्मचारी पनि प्रयाप्त छन् । सरकारी दरबन्दी भएका संस्थामा स्थायी कर्मचारी ल्याएको र नभएको ठाउँमा गाउँपालिकाले करारमा कर्मचारी राखेको छ ।

‘हाम्रो पालिकामा भएका कुनै पनि स्वास्थ्य संस्थामा कर्मचारीको अभाव छैन, सबै ठाउँमा व्यवस्थापन गरेका छौँ,’ उहाँले भन्नुभयो ‘औषधी व्यवस्थापनमा पनि हामीले धेरै चनाखो भएर काम गरेका छौँ, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गरेका छौँ ।’

गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल समेत संचालनमा ल्याएको छ । तर, कोरोनाका बिरामी भने छैनन् । संघीय सरकारले विनियोजन गरेको १० लाख रुपैयाँमा ५ शैयाको कोभिड १९ अस्थायी अस्पताल बनाइएको हो ।

उहाँले गाउँपालिका शून्य होम डेलिभरी अभियानमा लागेको भन्दै गर्भवती महिलालाई स्वास्थ्य परामर्श दिने र पोषणका लागि अण्डा लगायतका पौष्टिक आहारयुक्त सामान उपलब्ध गराउँदै आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *