बसिबियाँलो : बन्न सक्छ आम्दानीको स्रोत

सिर्जना पन्त, बागलुङ
तपाई के गर्नुहुन्छ ? सानो व्यापार पसल छ । पसलमा के गर्नुहुन्छ ? ग्राहक आउँदा सामान बेच्ने, नआउँदा बस्ने । बागलुङ बजारको देउराली चोकमा १८ वर्षदेखि निरन्तर किराना पसल सञ्चालन गर्दै आएकी निमा पौडेललाई कोही कसैले सोध्यो भने उनको रेडिमेड जवाफ सधैं यही हुन्थ्यो ।

चिनी, चियापत्ती, मसला, दाल, चामल बेच्दै आएकी निमाको पसलमा मठ मन्दिर र पुजा कर्ममा प्रयोग हुने बत्तीको धागो खोज्ने ग्राहकहरु दैनिकजसो आउन थाले । बिहान घरधन्दा, अबेर पसल खोल्यो, ग्राहक आए सामान बेच्यो, नभएर दिनभर वरपरका दिदीबहिनीसँग गफ गरेरै दिन बितायो । यसरी चलेको निमाको दैनिकी पसलमा धागो किन्न आउने ग्राहकको पटक–पटकको एउटै प्रश्न र मागले ८ वर्षयता फेरिएको छ ।

निमाको पसलमा पुजामा बत्ती (बाती) बनाएर प्रयोग गरिने धागो किन्न आउने प्रायः ग्राहकहरुको प्रश्न हुन्थ्यो–‘तयारी बत्ती पाइदैन ?’ केही वर्षसम्म सोध्नेहरु सोधी रहे । निमाले छैन, हाम्रोमा त धागो मात्र पाइन्छ भनेर जवाफ दिइरहनुभयो । दिनभर खाली हात गफ मात्र गरेर बस्नु भन्दा आफ्नै पसलमा भएको धागोलाई बत्ती बनाएर बेच्ने सोच निमाको मनमा पलायो । पछिल्लो ८ वर्ष यता निमा श्रीमानले पसलको तखातामा भरिदिएको सामान बेच्ने मात्र होइन, आफ्नै हातले बनाएका बत्ती (बाती)बेचेर आम्दानी समेत गर्नुहुन्छ ।

‘श्रीमान दिनभर जागिरमा जानुहुन्छ, म व्यापार गरेर बसेकी छु,’ निमा भन्नुहुन्छ–‘दिनभर पसलमा ग्राहक आउने त होइन, त्यसैले खाली समयमा बत्ती (बाती) बनाउने गरेकी छु ।’ बत्ती (बाती) कात्ने, बेच्ने र पैसा कमाउने उहाँको सोच ८ वर्ष पहिले पनि थिएन, अहिले पनि छैन । अनावश्यक कुरा गरेर दिन कटाउन भन्दा खाली समयको सदुपयोग गरौ भनेर बत्ती कात्न सुरु गरेकी निमासँग उहाँकै छिमेकमा व्यापार गरेर बस्ने अरु दिदी बहिनी पनि जोडिनुभएको छ ।

देउराली चोकमै कस्मेटिक पसल गर्दै आउनुभएकी निर्मला पन्त, फलफुल तथा तरकारी पसल गर्दै आउनुभएकी सिता शर्मा निमाका छिमेकी मात्र होइनन् । सँगै बत्ती कात्ने र बेच्ने सारथी हुन् । ‘धागो किन्न आउने ग्राहकलाई तयारी बत्ती पनि पाइन्छ नी,’ भन्ने गरेका दिन सम्झदै निमाका छिमेकी सिता शर्मा भन्नुहुन्छ–‘आजभोली त यति दिनमा बत्ती तयार गर्दिनुप¥यो भनेर अर्डर नै आउन थालेको छ ।’

चौरासी पुजा, व्रतबन्ध, वार्षिकी (एकाए), विभिन्न सप्ताह र पुराणमा बालिने लाख बत्ती तयार गर्नका लागि आफुहरुलाई अर्डर आउने गरेको सिताको भनाई छ । तीन जना मध्ये जसलाई अर्डर आए पनि उहाँहरु सामूहिक रुपमा बत्ती कात्नुहुन्छ । ‘एक्लैले लाखौ बत्ती कात्न समय लाग्छ, तीन जनाले सामूहिक काम गर्दा थोरै समयमा अर्डर पुरा गर्न सकिन्छ,’ सिता भन्नुहुन्छ ‘पालैपालो सबैलाई आएका अर्डर पुरा गर्छाै ।’ ‘दिनको २ देखि तीन घण्टा अनिवार्य बत्ती कात्छौ, अर्डर पुरा गर्न हतार छैन भने एक जनाले दिनमा ४,५ हजार मात्र पनि बनाउँछौ,’ सिता भन्नुहुन्छ–‘पैसाका लागि नभएर खेर गएको समय व्यवस्थापनका लागि गरेको काम भएर रमाइलो लाग्छ ।’

फरक–फरक प्रयोजनमा प्रयोग हुने ५, ७, ९, ११ र २१ सुते बत्ती कात्न समय सँगै लागत पनि फरक–फरक नै लाग्छ । उनीहरुले एक लाख बत्तीको न्यूनतम ८ देखि १० हजार रुपैयाँ सम्म लिने गरेको बताउनुहुन्छ । दिदीबहिनीसँग मिलेर थालेको रहरको कर्मलाई सिताले बसिवियाँलोको नाम दिनुहुन्छ । ‘एक लाख बत्ती कात्दा थोरैमा पनि ३ हजार रुपैयाँको धागो मात्र लाग्छ,’ निमा र सितासँगै बत्ती कात्दै आएकी निर्मला पन्त भन्नुहुन्छ, ‘सुरुवातको दिनमा हात विस्तारै चल्थे त्यसैले समय धेरै लाग्थ्यो,आजभोली हात छिटो–छिटो चल्छन् थोरै समयमा धेरै बत्ती कातिन्छ ।’ व्यापार नहँुदा खाली भएको समयको व्यवस्थापन मात्र होइन, घर खर्च चलाउने आम्दानी पनि भएको उहाँको भनाई छ । बत्ती बेचेरै कमाएको पैसा ठ्याक्कै हिसाबमा नराखे पनि व्यवसाय र घर परिवार चलाउन आफ्नो रहरको पेशाले सहयोग पु¥याएको महिला उद्यमी बताउँछन् ।

पहिले–पहिले बागलुङकै विभिन्न ग्रामिण भेगबाट उनीहरुले तयार गरेको बत्ती किन्नेहरु आउनुहुन्थ्यो । तर,आजभोली उनीहरुले बनाएका बत्तीको चर्चा म्याग्दी र पर्वत मात्र होइन । पोखरा, काठमाण्डांै र चितवन सम्म पनि पुगेको छ । धागोबाट बनाइएको बत्ती हिन्दु धर्म संस्कृती र परम्परा अनुसार बिभिन्न धार्मिक क्रियाकलापमा प्रयोग गरिने हुनाले चोखो, शुद्ध र पवित्र पनि हुनुपर्छ भन्ने मान्यता छ । आँफुहरुले तयार गरेका बत्ती धार्मिक शास्त्र र मान्यता अनुसार शुद्ध र पवित्र हुने भएकालेनै विभिन्न ठाउँबाट माग हुने गरेको उनीहरुको भनाई छ । ‘हामी महिनावारी भएको ६ दिन सम्म बत्ती कात्दैनौ, घरमा जुठा, सुत्केरा परेको समयमा पनि बत्ती कात्दैनौ,’ निर्मलाले अग्रसरकर्मी सँग भन्नुभयो, ‘चोखा लुगा लगाएर मात्र बत्ती तयार गर्ने गरेको भएर हाम्रा बत्तीको माग बढेको छ, सबैले मन पराउनुभएको छ ।’

बिहान र साँझको समयमा घर धन्दामा व्यस्त रहने महिलाहरु दिउँसोको समयमा भने एकै ठाउँमा बसेर गफिदै बत्ती तयार गर्नुहुन्छ । ‘लामो समय सम्म बत्ती कात्दा हातको कुँइना दुख्ने, जोर्नी, घाँटी र गर्धन दुख्ने समस्या हुँदो रहेछ,’ निर्मला भन्नुहुन्छ ‘सबैले एकै ठाउँमा बसेर बत्ती कात्दा धेरै थकान र दिक्दारी भने महुशुस हुँदैन ।’

परिवारले राखिदिएको स–सानो पसलमा दुई चार हजारको सामग्री बेचेर बसे पनि मन लागेको ठाउँमा खर्चिन पाउँने पैसा हाम्रो आफ्नै आम्दानी बत्ती बेचेर पु¥याउँछौ भन्दा खुसी लाग्ने गरेको उनीहरुको भनाई छ । घर, घडेरी, गर–गहना जोड्ने गरी आम्दानी नभए पनि आफुसँग आफैले कमाएको थोरै पैसा भयो भने मन लागेको भाँडा, मन लागेको कपडा किन्न, मन लागेको खान र मन लागेकालाई दिन कसैलाई सोध्नु नपर्नेमा महिला उद्यमी एक मत छन् । एक जनालाई आएको अर्डर तीन जना मिलेर पुरा गर्ने गरेको भए पनि जसले जति हजार बत्री कात्छ, त्यसैको हिसाब गरेर पैसा बाँड्ने गरेको उनीहरुको भनाई छ ।

‘सुन्नेलाई यस्तो सानो कुरा पनि भन्नुपर्छ भन्ने लाग्ला’ सिता भन्नुहुन्छ–‘आँफैले कातेका बत्ती बेचेर आफैले रोजेर किनेका चरेशका थाल, कचौरा, कित्ली जीवनभर सम्झना हुने गरी साँचेर राखेकी छु ।’ लाखौ कमाएको भए करोडौका सपना हुन्थे होला । हजारमा कमाउने भएर अंकमा भन्दा पनि भावनामा यसको महत्व बढि हुने गरेको अनुभव सुनाउँछन् । ‘छोराछोरी विद्यालय पठाएर दिनभर काम केही छैन भनेर बस्ने, अधिकाशं समय मोवाइल फोनमा भुल्ने दिदीबहिनी पनि देखेका छौ,’ निर्मलाले भन्नुभयो ‘काम गर्न खोज्यो र जाँगर चलायो भने दुई चार पैसा घरभित्रै बसेर पनि कमाउन सकिन्छ ।’

अघिल्ला वर्षहरुमा निमा, सिता र निर्मलालाई यति बेला भ्याई नभ्याई हुन्थ्यो । तर कोरोनाका कारणले यसवर्ष भने बत्ती कात्ने कर्म पनि प्रभावित भयो । चैत महिनामा सक्ने गरी आएका ८ लाख बत्तीको अर्डर अन्तिममा आएर फिर्ता भयो । कोरोना रोकथाम तथा व्यवस्थापनको लागि भन्दै सरकारले लकडाउन घोषणा गरेपछि पूर्व निर्धारित पाठ, पूजा, सप्ताह, पुराणहरु रोकिए । चैतदेखि यता अहिले सम्म खुलेर पाठ पुजा र सप्ताह पुराण लगाउने गरी बातावरण बनेको छैन । पछिल्लो ९ महिनामा उहाँहरुले थोरैमा पनि २ लाख रुपैयाँ आम्दानी गर्नुहुन्थ्यो । उहाँहरुको पसल र व्यवसाय भन्दा छुट्टै खेर गएको समयलाई सदुपयोग गरेर हुने आम्दानी भएर दुई लाख रुपैयाँ सानो रकम होइन । ‘विस्तारै व्यापार व्यवसाय सञ्चालनमा आए पनि पहिलेको जस्तो आम्दानी छैन, गाउँ घरमा चौरासी, व्रतबन्ध र पाठ पुजा भएका छैनन्,’ निमा भन्नुहुन्छ ‘सधै यस्तै त कहाँ होला र ? अब विस्तारै सबै पहिले जस्तै हुन्छ भन्ने विश्वासमा छौ ।’

पहिले जस्तो कसाकस नभए पनि थोरै–थोरै बत्ती भने उहाँहरुले दिन दिनै बनाउनुहुन्छ । पछिल्लो समय सबै क्षेत्रमा चहल–पहल बढेकाले बत्तीको माग छिट्टै आउनेमा उहाँहरु विश्वस्त हुनुहुन्छ । कोरोनाले गर्दा केही समयलाई बत्तीको माग कम भए पनि अवस्था सामान्य हुँदै जाँदा आगामी दिनमा पनि बत्ती तयार गरेर बेच्ने चाहना र योजना भने उनीहरुको जस्ताको तस्तै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *