संसद विघटनको विरोधमा नेकपाले बागलुङमा प्रदर्शन गर्ने

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आगामी पुस १४ गते बागलुङ बजारमा विरोध प्रदर्शन गर्ने भएको छ ।

नेकपा जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम प्रतिगामी र अलोकतान्त्रिक भएको ठहर गर्दै यसका विरुद्धमा विरोध प्रद्धर्शन गर्ने निर्णय गरेको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरेले जानकारी दिनुभयो ।

नेकपा विभाजन पछि आयोजित बैठक तथा भेलामा जिल्ला कमिटीमा रहेका १ सय ५४ सदस्य मध्ये १ सय ३ जना सदस्य उपस्थित रहेको गैरेले बताउनुभयो । जिल्ला कमिटीका ४२ जना सदस्य अनुपस्थित थिए । अगुवा कार्यकर्ता बैठक भनिए पनि ओली निकट मानिएका केही जिल्ला सदस्यले भने आफुहरुलाई कुनै खबर नगरिएको गुनासो गरेका छन् । बैठकमा अधिकांश प्रचण्ड–नेपाल पक्षका नेताको सहभागिता थियो ।

दुई पार्टी एकीकरणका बेला पूर्व एमालेका ८० र पूर्व माओवादीका ६५ जना गरी १ सय ४५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको थियो । अधिकांश संसद विघटनको बिपक्षको निर्णयमा अडिग रहदै प्रचण्ड, माधव नेपाल पक्षमा प्रष्ट खुले पनि कार्यक्रममा सहभागी १५/२० जना सदस्य पर्ख र हेरको अवस्थामा देखिएको सचिव गैरेको भनाई छ ।

आइतबारको बैठकमा जिल्लाका ९ पालिकाका अध्यक्षले पार्टीको गतिविधि र अवस्थाका बारेमा जानकारी गराएका थिए । बरेङ गाउँपालिकाका अध्यक्ष प्रदिप थापा र सचिव भने दुवै अनुपस्थित रहे ।

भेला तथा बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्मा, केन्द्रीय सल्लाहकार तथा संविधान सभा सदस्य पूर्णबहादुर राना, प्रदेश कमिटी सचिवालय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चन्द्र बुढा सागर, प्रदेश कमिटी सदस्य श्रीप्रसाद शर्मा, हिराबहादुर केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।

बैठकले सबै पालिका तथा वडाहरुमा बैठक गर्ने, जनसंगठन, जनप्रतिनिधिको भेला समेत गर्ने निर्णय गरेको सचिव गैरेले बताउनुभयो ।

भेला तथा बैठक जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, कार्यालय सदस्य फमलाल निउरेको स्वागत मन्तव्य र सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *