प्रधानमन्त्रीबाट जनभावना माथि खेलवाड भयोः नेता पौडेल

डम्मर बुढा मगर, बागलुङ
प्रचण्ड माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद विघटनको बिरोधमा मंगलबार बागलुङमा सांकेतिक रुपमा बिरोध प्रदर्शन गरेका छन् ।

बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित बिरोध सभामा बोल्दै केन्द्रीय नेता देवेन्द्र पौडलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी समस्या हल गर्न तर्फ नलागी देशलाई नै पछाडि फर्काउने दुश्प्रयास गरेको बताउनुभयो ।

पार्टीका नेताहरुलाई मन्त्री पदको लोभ देखाउने र पार्टीका समस्या समाधान गर्न तर्फ नलाग्दा समस्या भएको उहाँको आरोप थियो । ओलीको अहंकार, घमण्डी र एकलौटीले गर्दा अहिलेको अवस्था सिर्जना भएको पौडेलले बताउनुभयो ।

‘प्रधानमन्त्रीले पार्टीको समस्या समाधान गर्ने तर्फ भन्दा दर्जनौ नेताहरुलाई पदको लोभ देखाउन लाग्नुभयो, मलाई पनि धेरै पटक मन्त्रीको अफर आए तर मैले अस्वीकार गरेँ,’ पौडेलले भन्नुभयो ‘पार्टीमा भएका कुनै पनि नेताको कुरा नसुन्ने उहाँको अहंकार र घमण्डले गर्दा अहिले यस्तो अवस्था आएको छ ।’

उहाँले जनताले तत्कालिन बामगठबन्धनलाई धेरै विश्वास गरेर पाँच वर्षका लागि राज्यसत्ता संचालन गर्न जनादेश दिए पनि प्रधानमन्त्री ओलीले देश, जनभावना र पार्टी माथि गम्भीर खेलवाड गरेको बताउनुभयो ।

‘यसरी नै उहाँ अहंकारी कदम चाल्दै जानुभयो भने जनताले अहंकारको टीका लगाएर बिदाई गर्छन्,’ नेता पौडेलले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन भएकै छैन, संविधानमा भएको व्यवस्था एक व्यक्तिको स्वार्थको लागि कसरी हुन सक्छ ? यो संविधानको हत्या हो ।’

जिल्ला इन्चार्ज बलावती शर्माले प्रधानमन्त्री ओली नसच्चिए सडकबाट जनता उठेर कलंकको टीका लगाएर बिदाई गर्ने बताउनुभयो ।

बिरोध सभालाई नेकपा प्रदेश कमिटी सदस्यद्धय श्रीप्रसाद शर्मा, हिराबहादुर केसी, महिला नेतृ कुशुम बुढा मगर लगायतले सम्बोधन गर्नुभएको थियो । नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता र सचिव ज्ञामनाथ गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *