घरबासले बदल्यो ओखलेका महिलाको दैनिकी

डम्मर बुढा मगर, बागलुङ
प्रायजसो घरायसी काममा व्यस्त बन्ने गरेका ग्रामीण क्षेत्रका महिलाहरु पछिल्लो समय पर्यटन प्रवद्धर्नमा सक्रिय बन्दै गएका छन् । जिल्लामा २८ वटा सामुदायिक घरबास (होम–स्टे) सञ्चालनमा छन् । सबै होमस्टेमा महिलाको सहभागिता उत्साहजनक देखिन्छ ।

पर्यटकीय क्षेत्रको प्र्रचार प्रसार र आयआर्जनको माध्यमका रुपमा बिस्तारै होम–स्टे व्यवसयासीहरु लागि परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा ओखलेका स्थानीय महिलाहरु पनि पर्यटकीय क्षेत्रको प्रचार र आर्थिक आय आर्जनमा सक्रिय बन्दै गएका छन् ।

बेलढुङ्गा सामुदायिक हाेम स्टे

धम्जा ओखलेकी माया घर्ति पुनः स्थानीय जनप्रिय प्राथमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ । उहाँले दिउँसोको समय विद्यालयमा शिक्षण गर्ने र विहान बेलुकाको समय होम–स्टेमै समय दिनुहुन्छ । उहाँले गाउँमा होमस्टे सञ्चालनमा आएपछि गाउँका महिलाहरुको दैनिकी बदलिँदै गएको बताउनुहुन्छ ।

‘गाउँमा होमस्टे संचालनमा आएपछि गाउँघरका दिदीबहिनीहरुको दैनिकी परिवर्तन भएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र लुवाइखुवाईमा समेत सुधारिएको छ,’ उहाँले भन्नुभयो ‘बिस्तारै व्यावसायिक रुपमा लाग्दै छौँ, गर्दैछौँ, यसले हामीलाई एकताबद्ध समेत गराएको छ ।’

उहाँले होमस्टेले गर्दा गाउँ घरका छर छिमेकीहरुमा थप भावनात्मक रुपमा एकताबद्ध भएको र धेरैको जीवनशैली समेत फेरिएको बताउनुभयो ।

‘होमस्टे संचालनमा आइसकेपछि हाम्रो गाउँ समाज एकतामा बाँधिएको छ, पहिले आ–आफ्नै तरिकाले आ–आफ्नै पेसा व्यवसायमा लागि राख्नुहुन्थ्यो भने, अहिले गाउँको लागि र पर्यटन प्रवद्र्धनका लागि पनि केही गर्नुपर्छ भन्ने भावना जगेको छ,’ पुनले भन्नुभयो ‘पाहुनहरु आउँदा पनि आलोपालो गरेर उहाँहरुलाई सन्तुष्टि बनाउने र हाम्रो पहिचान दिलाउन सक्रिय हुनुन्छ र स्थानीय सामग्री उत्पादनमा पनि उत्तिकै क्रियाशिल हुनु भएको छ ।’

पुनले होमस्टे संचालनको छोटो समयमै धेरै पर्यटकहरु आएको भन्दै उनीहरुलाई सन्तुष्टि पार्न र मनोरञ्जन दिनका लागि आफूहरु निरन्तर लागि परेको बताउनुभयो । उहाँले सुरुवाती चरण भएको हुँदा नयाँ अनुभव र सिकाई कम भएको हुँदा केही कमी कमजोरीहरु हुन सक्ने भन्दै यसलाई थप परिस्कृत गर्नका लागि सबै सम्बन्धित निकायसँग सहकार्य गर्ने बताउनुभयो ।

‘हाम्रा लागि यो नयाँ काम र नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नु पर्ने कामहरु धेरै छन् तर पनि हामी जाने बुझेको हिसाबले काम गरेका छौँ, केही कमीकमजोरी पाहुनाहरुले पनि औल्याइ दिनुहुन्छ, उहाँहरुको सुझावलाई पनि हामीले सहज रुपमा ग्रहण गरेका छौँ र सुधार गरि रहेका छौँ’ घरबास सञ्चालिका माया श्रीसले भन्नुभयो ‘पाहुनाहरुले हामीबाट केही नयाँ कुराहरु सिक्नु हुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकि रहेका छौँ, यसले गर्दा यहाँका दिदीबहिनी र समुदायको पनि धेरै परिवर्तन हुँदै गएको छ ।’

उहाँले पर्यटन मन्त्रालय र सम्बन्धित निकायले पर्यटन प्रवद्र्धन तथा होमस्टे व्यवस्थापनको लागि त्यही अनुसारको तालिम, गोष्ठी र परामर्श दिन सके आफू जस्ता धेरै होम स्टे संचालकलाई सहज हुने भन्दै सम्बन्धित निकायको अपेक्षा अनुसारको सहयोग हुन सकेको बताउनुभयो ।

‘होम स्टे सुरु गरेको धेरै समय भएको छैन, यो सम्बन्धि हामीलाई धेरै ज्ञान पनि छैन तर पनि जसोतसो काम गरि रहेका छौँ, आउने पाहुनालाई खान, बस्न दिने त गरि राखेका छौँ भने मनोरञ्जनाको लागि सामुदायिक भवन छ त्यसैबाट मनोरञ्जन दिने कोसिस गरेका छौँ,’ अर्का सञ्चालक रजिकला श्रीसले भन्नुभयो ‘भवन मात्रै भएर पनि भएन त्यहाँ चाहिने आवश्यक सामग्रीको अभाव छ, त्यसका लागि आर्थिक जुटाउन पनि गाह्रो छ, कुनै तालिम पनि लिएका छैनौँ, सम्बन्धित निकायले यस सम्बन्धि कार्यक्रमहरु गर्न दिने र बजेटको व्यवस्थापन गर्न सके हामी जस्ता पर्यटन व्यवसायीलाई निकै सजिलो बन्ने थियो ।’

धम्जा गाउँ

पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा हेको ओखले गाउँमा स्थानीयहरुको सक्रियतामा २०७५ सालदेखि होमस्टे संचालनमा आएको छ । स्थानीयहरुले ओखले गाउँको १२ वटा घरमा होमस्टे संचालन गरेका छन् । हामेस्टे संचालनका लागि स्थानीयहरुले हालसम्म २५ लाखभन्दा बढी खर्च गरीसक्नुभएको बेलढुङ्गा सामुदायिक होमस्टे सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । उहाँले स्थापना भएको सालमा गण्डकी प्रदेश सरकारले हामेस्टे पवद्र्धनका लागि १० लाख रुपैयाँ सहयोग गरेको सचिव श्रीसले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट सामुदायिक भवन निर्माण गरेको भन्दै वडा कार्यालयले व्यवस्थित शौचालय निर्माणका लागि रु.३ लाख छुट्याएको बताउनुभयो ।सचिव श्रीसले हाल ओखलेका १२ घरमा होमस्टे संचालन हुँदै आएको भन्दै एक रातमा ५० भन्दा बढी पाहुना राख्न सक्ने बताउनुभयो ।

‘स्थापनाको वर्ष प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गरेको थियो त्यो बाट सामुदायिक भवन निर्माण ग¥यौँ, अहिले १२ घरमा पाहुन राख्न सक्ने व्यवस्था मिलाएका छौँ,’ उहाँले भन्नुभयो ‘अझै व्यवस्थित गर्ने चरणमै छौँ, सम्बन्धित निकायबाट सहयोग भयो भने हामीलाई थप टेवा पुग्ने थियो ।’

उहाँले होमस्टेमा आउने पाहुनहरु बिस्तारै बढ्दै गएको जानकारी दिनुभयो । कोभिड–१९ का कारण केही समय रोकिएको भन्दै लकडाउनको समयमा पैदल यात्रा गरेर नजिक–नजिकबाट पाहुन आउने गरेको बताउनुभयो ।

‘पाहुनहरुको उपस्थिती पनि राम्रै छ, दिनदिनै नआए पनि महिनामा धेरै पाहुनाको आगमन हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ आउने पाहुनाहरुले पनि हामीलाई केही सुझाव दिने गर्नु भएको छ, त्यसलाई हामीले आत्मसाथ गर्दै सुधार गर्दै गइरहेका छौँ ।’ होमस्टेमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापरबाट बनाइएका परिकार र लोकल कुखुरा, खसी बोका, आलु, गुन्द्रुक लगायतका स्वादिस्ट परिकार खुवाउने गर्छन् ।

होमस्टे संचालकहरुले पाहुनालाई मनोरञ्जन दिनका लागि मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाच समेत देखाउने गर्छन् । होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमाना पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै हामे स्टेमा पुग्ने गर्छन् । पर्यटकीय क्षेत्रका रुपमा प्रचार हुँदै गएको बेलढुङ्गा गत वर्षातको समयमा पहिरोका कारण भत्किदा बेलढुङ्गाको अस्तित्व खतरामा पर्ने देखिएको छ ।

बेलढुङ्गासम्म पुग्ने पदमार्ग र मोटरबाटो पुगे पनि त्यहाँ थप संरचना निर्माण गर्नु पर्ने देखिन्छ । बेलढुङ्गा समुन्द्री सतहदेखि २६०० मिटरको उचाई पर्छ, यहाँबाट धौलागिरी, माछापुच्छे्र, निलगिरी लगायत अनगिन्ती हिमश्रृङ्खला देख्न सकिन्छ भने म्याग्दी, पर्वत, स्याङ्जा लगायत बागलुङको थुप्रै भू–भागहरु अवलोकन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *