बागलुङमा पनि खुल्यो कृषि ज्ञान केन्द्र

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना भएको छ ।

साविक जिल्ला कृषि विकास कार्यालय नयाँ संघीय अभ्याससँगै खारेज भए पछि जिल्लाका किसानले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

बागलुङमा रहेको कार्यालय खारेजी पछि पर्वतमा खुलेको कृषि ज्ञान केन्द्रले हेर्दै आएको थियो । यहाँका कृषक सेवा लिन पर्वतको कुश्मा जाँदा खर्चिलो र कष्ट झेल्नुपर्ने बाध्यता थियो । जिल्लाका कृषकहरुको तिब्र माग, पहल र दबाब पछि साविक कृषि कार्यालय रहेकै स्थानमा कृषि ज्ञान केन्द्रको कार्यालय सञ्चालनमा आएको हो ।

गण्डकी प्रदेश सरकारले कृषकको हितमा काम गर्ने उद्देश्यले बागलुङ जिल्ला सहित ११ जिल्लामै कृषि ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

पुस २० गतेदेखि बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिनुभयो । भट्टराई कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थ विज्ञको रुपमा काम गर्दै आएकोमा गत आइतबारदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखको रुपमा कार्य आरम्भ गर्नुभएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङमा १२ जना कर्मचारीको दरबन्दीसहित कार्यालय स्थापना भएको भट्टराईको भनाई छ । हाल तीन जनाले काम थालेका छन् । अब बागलुङ जिल्लाभरका कृषकहरुले यही कार्यालयबाट सेवा लिन सक्ने छन् । किसानहरुलाई कृषि सम्बन्धी कामका लागि पर्वत जान नपर्ने उहाँको भनाई छ ।

साविक कृषि विकास कार्यालय बागलुङको भवनमा बागलुङ नगरपालिका आएपछि अहिले एउटा कोठाबाट सेवा सुरु गर्न थालेको उहाँको भनाई छ । ‘कृषि कार्यालयबाट नगरपालिकाले काम गरेको छ, यो बारेमा छलफल भईरहेको छ,’ उहाँले भन्नुभयो ‘नगरपालिकाले अन्तै कार्यालय व्यवस्थापन गरेर हामीलाई हाम्रो कार्यालय दिने अपेक्षा छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *