प्रेरक पाइला : विदेश छोडेर तरकारी खेतीमा राजमनको उदय

डम्मर बुढा मगर, बागलुङ
धेरै युवाहरु आफ्नो र परिवारको सुनौलो भविष्य देखेर गाउँ घरमा ऋण धन गरेर विदेश पलायन हुने गर्छन् । तर विदेशमा पुगेर साहुको ऋण समेत नतिर्दै स्वदेश फर्किनु परेको धेरै उदाहरणहरु छन् । धेरै युवाहरु विदेशको दुख सहन गर्न नसकेर हण्डर खाएर स्वदेश फर्कीएका छन् ।

गाउँ ठाउँमा यस्ता युवाहरु धेरै भेटिन्छन् । उनीहरु ‘देश खाएर शेष पल्टिएको’ जस्तै भएका छन् । स्वदेश फर्कीएर धेरै विकल्पहरु खोजिरहेका छन् । कोहीले केही इलम सुरु गरेका छन् भने केही एत्तिकै भौतारिएका छन् ।

स्वदेश फर्केर पनि केही युवाहरु उदाहरणीय काम गरेका छन् । व्यवसायी बनेका छन् । तिनै युवा मध्येका एक हुन निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोलाका राजमन बुढा मगर । उनी पनि धेरै वर्ष विदेश धाए तर कुनै प्रगति हुन नसकेपछि स्वदेश फर्किएर व्यावसायीक कृषि पेसा अँगाले ।

अहिले गाउँ घरमै व्यावसायीक तरकारी खेतिमा तल्लिन छन् । ३७ वर्षीय बुढा मगर विदेश त्यागेर कृषि पेसा अँगालेपछि गाउँका अन्य युवाहरु पनि व्यवसाय तर्फ तानिएका छन् । अहिले गाउँ–गाउँमा समेत युवाहरु फलफूल तथा तरकारी र बाख्रापालन तर्फ आकर्षित भएका छन् ।

No description available.

अहिले उनी आफ्नै परिवारसँगै बसेर तरकारी खेतिमा लागेका छन् । बराइन ३ वर्ष र मलेसियामा २ वर्ष बिताएका बुढा मगरले विदेशबाट फर्किएर आफ्नै गाउँ ठाउँमा व्यवसायी बनेका छन् । उनले विगत ३ वर्षदेखि झिवाखोला बजारमा व्यावसायीक कृषि गर्न थालेका हुन् ।

उनी जति आम्दानी गर्छन्, उती नै लगानी गरि व्यवसायलाई बढाउँदै आएका छन् । बुढा मगरको मध्य पहाडी लोक मार्ग अन्तरगतको झिवाखोला बजार छेउमा कृषि फर्म छ । तरकारी बारी छेउमै लोकमार्ग हुँदा उनले उत्पादन गरेका तरकारी तथा फलफूल सहज रुपमा विक्री गर्न पाएका छन् ।
उनले विदेशबाट फर्किएर २०७४ सालमा निसीखोला कृषि फर्म दर्ता गरेर व्यवसाय सुरु गरे । व्यवसयाबाट आफू र आफ्नो परिवार सन्तुष्टि रहेको उनी बताउँछन् ।

‘विदेशमा धेरै दुख गरियो, तर सोचेको जस्तो भएन, विदेशमा धेरै दुख गर्नु पर्ने र त्यसको प्रतिफल कम पाइने भएपछि म स्वदेश फर्किएँ,’ बुढा मगरले भने ‘अब आफ्नै गाउँ ठाउँमा सिर्जनशिल काम गर्नु पर्छ भन्ने हिसाबले लागेको छु, हेरौ कस्तो हुन्छ, यो पेसामा लाग्दा धेरैको हौसला मिलेको छ ।’
सात जनाको परिवार रहेको उनको परिवारमा बाबाआमा, श्रीमति र १ छोरा २ छोरी गरि ७ जना छन् । ७ जनाको परिवार यही व्यवसायबाटै चलेको उनको भनाई छ । यो व्यवसायमा उनलाई परिवारको राम्रो सहयोग मिलेको छ ।

No description available.

‘यही व्यवसायबाट मेरो परिवार चलेको छ, मलाई परिवारका सबै सदस्यको सहयोग मिलेको छ, आफ्नै बारीमा काम गर्दा धेरै खुसी मिलेकोछ,’ उनले भने ‘बिहान बेलुका बारीमै काम गर्न पाएको छ, गाउँघरमा हुने अन्य कार्यक्रमहरुमा पनि सहभागी हुन पाइएको छ, यसबाट जे सन्तुष्टि छु ।’
उनकी श्रीमती बिनाकुमारीले भने झिवाखोला बजारमै फेन्सी पसल संचालन गरेकी छिन् । उनले समय–समयमा श्रीमानलाई पनि बारीमा सघाउने गर्छिन् भने अधिकांश समय फेन्सी पसलमै बेस्त हुन्छिन् ।

बुढा मगरले बारीमा लटरम्म टमाटर, काँक्रो, बन्दा, काउली र साग लगायतका तरकारी उब्जाएका छन् । बारीमै तरकारी किन्ने ग्राहक आएपछि उनीलाई बजारको समस्या छैन । उनले उत्पादन गरेको तरकारी निसीखोलामै खपत हुने गरेको उनी बताउँछन् ।

उनको उत्पादनले निसीखोलाको झिवाखोला, देविस्थान, जुग्जाखोला, निसी, भल्कोट लगायतका ठाउँमा बजार पाउने गरेका छन् । बढी उत्पादन भएको समय बुर्तिबाङ बजार र ढोरपाटनसम्म पु¥याउने गरेको उहाँको भनाई छ ।

उनले आफूले उत्पादन गरेको तरकारीले प्रसस्त मात्रामा बजार पाएको भन्दै व्यवसायलाई थप बढाउने सोचमा रहेको बताए । झिवाखोला बजारमा ३ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको व्यवसाय पछिल्लो समय फस्टाउँदै गएपछि यसलाई थप व्यस्थित गराउन तर्फ आफु होमिएको उनको भनाई छ ।

No description available.

उनले तरकारी खेतिसँग गड्यौलापालन समेत सुरु गरेका छन् । उनले यस क्षेत्रमा पर्याप्त मात्रामा कृषि प्राबिधिक नहुँदा समय–समयमा आफू जस्ता कृषिकहरुलाई समस्या पर्ने गरेको बताउनुभयो ।
‘हाम्रो ठाउँमा कृषि प्राविधिकको अभाव छ, माटो परीक्षण गराउन समेत समस्या छ, बेला–बेलामा तरकारीमा रोग लाग्ने, किराले खाने गर्छ, त्यसले गर्दा हामीलाई समस्या पर्छ,’ बुढा मगरले भने ‘प्राबिधिक भएको भए हामीलाई धेरै सहज हुन्थ्यो, उत्पादन पनि राम्रै गर्न सकिन्थ्यो ।’

गाउँपालिकाले समय–समयमा बिउ बिजन दिने गरेको भन्दै कृषि ज्ञान केन्द्र पर्वतले पनि२ लाख ७५ हजार अनुदान समेत दिएको उनको भनाई छ । ‘गाउँपालिकाले समय–समयमा बिउ विजन दिने.गरेको छ, यसले पनि हामी जस्ता कृषिकलाई फाइदा पुगेको छ,’ उनले भने ‘कृषि ज्ञान केन्द्रले दिएको अनुदान दिएपछि बगैचा व्यवस्थापन गर्न र अन्य व्यवस्थापनमा धेरै सहज पुग्यो ।’

उनले अझ कृषिलाई सजन अनुसारका तरकारी तथा फल फूल उत्पादनका लागि तालिम, परामर्श र औषधीहरु उपलब्ध गराउन सके कृषकलाई थप उत्साह मिल्ने उनको भनाई छ ।

उनले विदेश जाने युवालाई समेत स्वदेशमै व्यवसायी बन्न सुझाउँछन् । ‘मलाई थाहा छ, विदेशमा कति दुख हुन्छ, कति कडा मेहनत गर्नुपर्छ, त्यो अनुभव मैले गरेको छु,’ उनले भने ‘धेरै युवा साथीहरु दिनानु दिन विदेश पलायन भइ राख्नु भएको छ, यो उर्जाशिल समय आफ्नै पाखापखेरामा लागउन सकियो भने हामी अवश्य सफल बन्छौँ, विदेश जाँदा गर्ने लगानी यही गरौँ, त्यसको प्रतिफल हामीले अवश्य पाउने छौँ ।’

४ लाख रुपैयाँ लगानीबाट सुरु गरेको व्यवसाय फस्टाउँदै गएपछि उनले आम्दानी हुने अधिकांश रकम व्यवसायमै लगानी गरेको बताउँछन् । व्यवसायमा लगानी थप्दै १ लाखभन्दा बढी वार्षिक नाफा गर्ने उहाँको भनाई रहेको छ ।

बुढा मगर व्यवसायसँगै राजनीतिक र समाजिक पेसामा समेत सक्रिय छन् । उनी नेपाली कांग्रेस निसीखोला गाउँपालिकाका उप–सभापति हुन् । त्यस्तै निसीखोला गाउँपालिकामा रहेका विभिन्न संघ संस्थाहरुमा आवद्ध भएर सामाजिक क्षेत्रमा काम समेत गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *