बैशाख भित्रै नयाँ घर पाउदै बिहुँ काउलेका भूकम्प पीडित

आदर्श अनलाइन, बागलुङ
भूकम्प गएको पाँच वर्ष पछि बागलुङमा एकीकृत बस्ती निर्माण शुरु भएको छ ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई सापकोटा चोकमा एकीकृत बस्ती निर्माण शुरु गरेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)ले जनाएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का प्रमुख उमेश कुमार चौधरीका अनुसार ढिलै भए पनि एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । अहिले एकीकृत बस्तीको भुईतलाको डिपिसी सम्पन्न भएको छ । २०७५ वैशाखमा भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गर्नका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले संयुक्त लालपूर्जा वितरण गरेको थियो । जग्गा खरिदका लागि प्रति पीडित परिवार दुई लाख रकम दिइएको थियो ।

एकीकृत बस्ती निर्माण गर्न प्रति परिवार तीन लाख रुपैयाँ र पूर्वाधार निर्माणका लागि प्रति परिवार ४ लाख गरी एकिकृत बस्ती निर्माण सम्पन्न गर्नका लागि प्राधिकरणले जम्मा ९० लाख खर्च गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रेणुका कुमारी पाण्डेयले जानकारी दिनुभयो । पाण्डेका अनुसार पछिल्लो समय बागलुङमा पुर्ननिर्माण प्राधिकरणले गति लिएको छ । अहिले सम्म ६६ प्रतिशत भन्दा बढी निजी आवास पुर्ननिर्माणको काम सम्पन्न भएको छ ।

भूकम्प पीडितको घर धमाधम निर्माण भइरहेको र केही महिना भित्रै अरु पूर्वाधार निर्माणको काम समेत शुरु गरिने राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का इञ्जिनियर बिक्रम सापकोटा बताउनुहुन्छ । “अहिले डिपिसीको काम भइरहेको छ, आगामी बैशाखभित्रै काम सक्ने लक्ष्य रहेको छ” सापकोटाले भन्नुभयो “सँगै बस्तीमा अरु पूर्वाधारको काम समेत शुरु गरिनेछ ।”

भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भिषण वर्षाले जमिन भासिएपछि स्थानीय १० घरधुरीका बासिन्दा विस्थापित भएका थिए । विस्थापित परिवारलाई लालपुर्जा बितरण गरेको एक वर्ष पछि घर निर्माण थालिएको र घर सम्पन्न भइसकेपछि सम्बन्धित परिवारको नाममा लालपूर्जा कित्ताकाट गरिनेछ । आगामी बैशाख भित्रै निजी आवास र पूर्वाधारको निर्माण सकेर हस्तान्तरण गर्ने प्राधिकरणको योजना छ ।

एकीकृत बस्तीमा घर सँगै सडक, विद्युत, खानेपानी, सार्वजनिक शौचालय, सार्वजनिक भवन लगायतका पूर्वाधार समेत निर्माण गरिनेछ । बस्ती निर्माण स्थलमा सडक नपुगेका कारण निर्माण सामाग्री बोक्न समस्या भएको छ । भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयको घरमा आश्रय लिएर बसेका १० दलित परिवारले बैशाख भित्रै नयाँ घर पाउने भएका छन् । “भूकम्प गएको पाँच वर्ष सम्म अरुकै घरमा आश्रित लिएर बस्न बाध्य भएका छौ” पीडित चिन्ते दमैले भन्नुभयो “लालपूर्जा हातमा आएर घर निर्माण शुरु हुँदा ढिलै भए पनि नयाँ घर पाउने भए पछि खुसी छौं ।” जग्गा खरिद गर्न प्रति परिवार २ लाख रुपैयाँ, पूर्वाधार निर्माणका लागि ४ लाख रुपैयाँ तथा नमूना बस्ती निर्माणका लागि ३ लाख गरी प्रति परिवार ९ लाख रुपैयाँ खर्च लाग्ने छ । बस्ती तल र माथिवाट पूष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको ठहर पश्चात अन्यत्रै एकीकृत बस्ती निर्माण गर्ने सुझाव अनुसार प्राधिकरणले बस्ती निर्माण थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *