बागलुङमा पीसीआर प्रयोगशाला : निर्णय भयो, स्थापना भएन


–आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस (कोभिड १९) सक्रमणको जोखिम कायमै रहे पनि बागलुङमा राख्ने भनिएको पीसीआर प्रयोगशाला स्थापना भएको छैन ।

सरकारले धौलागिरी अस्पतालमा पीसीआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा समेत पीसीआर प्रयोगशाला स्थापना नभएको हो । धौलागिरी अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिना पछि गत कात्तिक २७ गते पीसीआर मेसिन खरिदका लागि टेण्डर गरिएको थियो ।

टेण्डर गरिएको दुई महिना पुरा हुँदा समेत पीसीआर प्रयोगशाला निर्माणको अझै टुंगो छैन । धौलागिरी अस्पतालले पीसीआर निर्माणमा गरेको ढिलाई प्रति नागरिकको तिव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्रयाकबाट काम गर्नुपर्नेमा महिनौ लाग्ने गरी ढिलाई गरिनु दुखद र लापरवाही भएको बताएका छन् ।

सरकारले बजेट पठाउदा समेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको अधिकारकर्मी राम शर्मा बताउनुहुन्छ । “जुन बेला बागलुङमा कोरोनाको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिवेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो,अहिले पनि कोरोनाकै कारण ज्यान गइरहेका घटना छन्” शर्माले भन्नुभयो “अहिले परीक्षण र सक्रिय सक्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाई गरिएको छ । अब खोप र पीसीआर मेनिस सँगसँगै आउला जस्तो छ ।”

निर्णय भए पनि तीन महिना सम्म बजेट नआएको र ढिला बजेट आएपछि खरिद प्रकृयामा जाँदा समय लागेको अस्पतालले जनाएको छ । नेपाल सरकारले अस्पताललाई तीन महिना अघि पीसीआर मेशिन खरिद गर्नका लागि एक करोड रुपैयाँ पठाए पनि बजेट अप्रयाप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । धौलागिरी अस्पतालमा पीसीआर मेसिन खरिद गर्न रु.एक करोड लाग्ने भए पनि प्रयोगशाला व्यवस्थापनका लागि प्रयाप्त बजेट नभए पछि पीसीआर ल्याव व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु.४० लाख विनियोजन गरेको थियो । त्यसपछि मात्रै धौलागिरी अस्पतालले पीसीआर मेसिन खरिद र प्रयोगशाला बनाउन प्रकृया थालेको छ ।

सुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा केही जटिलता भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरी अस्पताल बगालुङका मेडिकल सुपरीटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । “मेसिन खरिद गरेपछि ल्याव सञ्चालनमा आउनु पर्दछ, केही औजार छुट भएमा पुनः सञ्चालनमा ढिलाई हुन्छ, त्यसैले इस्टिमेट गर्न समय लागेको हो”डा.पोखरेलले भन्नुभयो “हामीसँग बायोलोजिकल प्राविधिकको अभावका कारण ढिला भएको हो, अहिले टेन्डर प्रक्रियामा गएपछि चार कम्पनीले पीसीआर ल्याउन ठेक्का हालेका छन्, केही दिनमै कम्पनी छनोट गर्नेछौं ।” तर, ठेक्का प्राप्त भइसकेपछि कम्पनीले तीन महिना भित्र ल्याव स्थापना गर्ने समय भएकाले त्यतिबेला सम्म नेपालमा खोप समेत आउने सम्भावना रहेको आँकलन समेत गरिन्छ । यद्यपि, यो ल्याब अन्य प्रयोजनमा समेत उपयोग भने गर्न सकिनेछ ।

पीसीआर परीक्षण मेसिन आइहाले पनि प्रयोगशाला सञ्चालनका लागि समेत दक्ष जनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ । पीसीआर प्रयोगशाला स्थापना भइसके पछि दक्ष जनशक्ति समेत सरकारले पुरा गर्नेमा धौलागिरी अस्पताल आशावादी छ । साविक धौलागिरी अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरी अस्पतालमा पीसीआर परीक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा संकलन गरिएको कोरोना परीक्षणको स्वाब गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । र कोरोना आंशकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ ।

अहिले बागलुङबाट परीक्षणका लागि पठाइएको कोरोनाको रिपोर्ट आउन तीन दिन लाग्ने गरेको छ । आम नागरिकबाट परीक्षणको दायरा बढाउनु पर्ने माग फेरी उठ्न थालेको छ । गत असार १२ गते सरकारले बागलुङ सहित बिभिन्न स्थानमा पीसीआर मेसिन थप गर्ने निर्णय गरेको थियो । अब पीसीआर प्रयोगशाला तीन महिनाभित्र सञ्चालनमा आउने अस्पतालले दाबी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *