अपडेट छैनन् कार्यालय र पालिकाका वेबसाइड

आदर्श अनलाइन, बागलुङ
जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाईड सञ्चालनमा ल्याएका छन् । तर, बागलुङ जिल्लाका पालिकाको वेबसाईड अपडेट हुन नसकेको पाइएको छ ।

आफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा र सूचनामूलक बनाउन सबैजसो कार्यालयको वेभसाइड बनाइए पनि बागलुङका अधिकांश स्थानीय तहले आफ्ना वेबसाइट अपडेट गरेका छैनन् । जिल्लाको सबैभन्दा महत्वपूर्ण कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले समेत आफ्नो वेबसाइडमा अपडेट नगरेको पाइएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । अझ कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिनिधिको समेत विवरण राखेका छैनन् भने सम्पर्क नम्बर समेत गलत छन् ।
सूचना र सञ्चारको युगमा वेवसाइड खोल्दा स्थानीय तहको सबै विवरण शिर्षक अनुसार हुनुपर्नेमा सामान्य अपडेट मात्रै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको वेवसाईडमा जिल्लाका सहरकारी कार्यालय प्रमुखहरुको विवरणमा प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुको नाम छ । जबकि जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने आएको पनि चार महिना वितिसक्यो । यद्यपि, यस विषयमा जानकारी लिदाँ प्रमुख जिल्ला अधिकारीले केही अपडेट नभएको भए सच्चाउने प्रतिवद्धता जनाउनुभयो । प्रतिक्रिया लिए लगत्तै अहिले सरकारी कार्यालय प्रमुखहरुको नामावली विवरणनै हटाइएको छ । तर, सामचार तयार पार्दा उक्त अपडेट नभएको तस्विर लिइसकेको थियो ।

बागलुङका धेरैजसो स्थानीय तहका वेबपेजमा वडागत प्रोफाइल विवरण, सामाजिक सुरक्षा, मासिक, चौमासिक, आयव्याय, वार्षिक प्रगति प्रतिवेदन लगायतका विवरण भने अपडेट नै गरिएको छैन । केही अपडेट गरिए पनि पूर्ण छैनन् । वेबसाइड अपडेट नहुँदा सामान्य सूचना लिनका लागि पनि स्थानीय तह र सरकारी कार्यालयसम्मै पुग्नु पर्ने बाध्यता छ । हरेक स्थानीय तहमा वेबसाइड अपडेट गर्ने कर्मचारी भए पनि अपडेट नगरी तलब मात्रै खाएर बसेको सेवाग्राही गणेश शर्माले गुनासो गर्नुभयो ।

निसीखोला गाउँपालिकाको वेबसाइडमा सामान्य जनप्रतिनिधि र वडाको विवरण बाहेक अन्य कुरा वेबसाइडमा राखिएको छैन । निसीखोला गाउँपालिकाको वेबसाइड तीन महिना अघि सम्म खुल्दै नखुल्ने समस्या थियो । पछिल्लो समय त्यसमा सुधार गरेर बल्ल वेबसाइड अपडेटमा लागेको निसीखोला गाउँपालिकाका सूचना प्रविधि अधिकृत नारायण पौडेलले बताउनुभयो ।

“म कार्यालय आएको तीन महिना भयो, म आउनु अघि गाउँपालिकाको वेबसाइड बन्द अवस्थामा थियो, अहिले नयाँ वेबसाइड सञ्चालनमा ल्याएका छौं” पौडेलले भन्नुभयो “सामान्य अपडेट त गरेका छौं, आय व्याय विवरण, सामाजिक सुरक्षा भत्ता तथा पञ्जीकरणको विवरण प्रशासनबाट नआएका कारण अपडेट नभएको हो ।” अहिले निसीखोलाको मोवाइल एप समेत रहेको पौडेलको भनाई छ । तर, वित्तीय सुशासन भित्र पर्ने कुनै पनि कुरा अपडेट नभएको पाइएको छ । नागरिक बडापत्र समेत अपडेट छैन ।

जिल्लाको गलकोट नगरपालिकाले वडा अध्यक्षहरुको समेत विवरण राख्न सकेको छैन । वडा कार्यालय र सम्पर्क नम्बर राखेपनि ११ वटै वडाको सम्र्पक नम्बरमा फोन गर्दा रजिष्टर गरिएको छैन भन्ने जवाफ आउछ । नगरपालिकाको वेबसाइडमा नगर प्रमुख, उपप्रमुख र केही उच्च कर्मचारी बाहेक जनप्रतिनिध, वडा अध्यक्ष तथा सदस्यहरुको कुनै बिवरण पाइएको छैन ।

यस विषयमा नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष हेमन्त भण्डारीले वडा अनुसार नम्बर निकाले पनि केही समयपछि प्राविधिक समस्या आउँदा सञ्चालनमा ल्याउन नसकेको बताउनुभयो । रजिष्ट्रर नगरेको नम्बरको विवरण राखेको नगरपालिकाले कुनै पनि वडा अध्यक्ष तथा सदस्यहरुको सम्पर्क हुने खालको नम्बर राखेको छैन । भण्डारीले तत्कालै वडा अध्यक्ष तथा सम्पर्क नम्बर वेबसाइडमा राख्न भनेको बताउनुभयो । बागलुङ नगरपालिकाको वेबसाईडमा धने धेरै कुरा अपडेट छन् ।

जैमिनी नगरपालिकाको वेबसाइडमा घटना दर्ता, सामाजिक सुरक्षाको विवरण छैन । तर विज्ञापन, कर बडापत्र, जनप्रतिनिधिको विवरण अपडेट छ । बरेङ गाउँपालिकामा अधिकांश कुरा अपडेट भए पनि घटना दर्ताको विवरण छैन । ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाको वेबसाइड समेत सामान्य अपडेट मात्रै छन् । घटना दर्ता, सामाजिक सुरक्षा, बिद्युतिय सुशासन लगायतका विषय वेबसाइडमा राखिएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *