सदरमुकाम भित्रकै विद्यालयको दुराअवस्था : छैन शौचालय र प्राङ्गण, कक्षा कोठाको उस्तै समस्या


–आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाम बागलुङ बजारका अधिकांश विद्यालय भौतिक पूर्वाधारका हिसावले सुविधा सम्पन्न छन् । सदरमुकामका सरकारी विद्यालयमा ठूला ठूला पक्की भवन, खेलकूद मैदान लगायतका पूर्वाधार निर्मित छन् । यही सदरमुकाम भित्रकै एक पुरानो सामुदायिक विद्यालय भने बत्ती मुनीको अध्यारो जस्तै भएको छ ।

गाउँ–गाउँका सरकारी विद्यालय समेत सुविधा सम्पन्न भइरहेको अवस्थामा जिल्ला सदरमुकामको पुरानो उपल्लाचौर आधारभूत विद्यालयले पूर्वाधारको चरम अभाव खेप्दै आएको छ । विद्यालयका लागि जग्गा अभाव भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत कठिन भएको विद्यालयले जनाएको छ ।

२०१९ सालमा स्थापना भएको विद्यालयमा अहिले जम्मा चार कोठाको मात्रै विद्यालय भवन छ । पुरानो जीर्ण विद्यालय भवन भुकम्पले क्षती पु¥याए पनि पुर्ननिर्माणका लागि जग्गा अभाव भएका कारण तत्कालै पुर्ननिर्माण गर्न नसकिएको विद्यालयका प्रधानध्यापक शान्ती सापकोटाले बताउनुभयो । विद्यालयको क्षेत्रफल जम्मा एक रोपनी ७ आनामा मात्रै भएका कारण आवश्यक भौतिक संरचना निर्माण गर्न समेत नसकिएको सापकोटाको भनाई छ । “अहिले विद्यालय प्राङ्गण, पुरानो भवन र शौचालय समेटेर दुई कोठे पक्की भवन निर्माण थालिएको छ” प्रधानध्यापक सापकोटाले भन्नुभयो “यति सानो जग्गामा दुई वटा पक्की भवन बन्ने भए पछि विद्यालय प्राङ्गणको अभाव हुने भएको छ ।” अहिले दुई कोठे भवन निर्माणका लागि विद्यालयमा भएको शौचालय भत्काइएको छ, विद्यालयको जग्गामा शौचालय समेत छैन ।

विद्यालय नजिकै अर्काको जग्गामा टिनले बारेर अस्थायी शौचालय निर्माण गरिएको छ । विद्यालय भवन निर्माण भइरहँदा विद्यार्थीलाई शौचालय जानै समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हुसेनले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा पर्ने उक्त विद्यालयका लागि आवश्यक जग्गा प्राप्तिका लागि निकै पहल गरे पनि नसकिएको हुसेनको गुनासो छ । “विद्यालय अन्यत्र लैजाने कुरा भएन, सदरमुकामको जग्गा खरिद गर्न निकै महङ्गो छ, मौजुदा जग्गामा भवन निर्माण गर्दा शौचालय भत्काइएको छ, खेलकूद मैदान छैन” अध्यक्ष हुसेनले भन्नुभयो “विद्यालयमा अब सानो टुक्रा मात्रै जमिन बाँकी रहेको छ । उक्त जग्गामा शौचालय निर्माण गर्ने योजना छ ।” अहिले चार कोठालाई ८ कोठामा विभाजन गरी कक्षा सञ्चालन गरिएको छ । प्लाईको बार लगाएर कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई अध्ययन र शिक्षकलाई अध्यापन गर्न समेत सकस भइरहेको गुनासो छ ।

विद्यालयमा खानेपानीको समेत समस्या छ । विद्यालयमा कार्यालय तथा पुस्तकालय मुस्किलले साँघुरो कोठाबाट सञ्चालन गरिएको छ । १ सय २० जना विद्यार्थी रहेको विद्यालयमा अधिकांश विद्यार्थी अति विपन्न, मजदुरका छोराछोरी तथा मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई जग्गा आवश्यक भए पनि धेरै पटक प्रयास गर्दा समेत जग्गा प्राप्ती गर्न नसकेको वडा अध्यक्ष ध्रुव्र बहादुर केसीले बताउनुभयो ।

अहिले उक्त विद्यालयमा दुई कोठे पक्की भवन निर्माण गर्न थालिएको छ । यो भवन निर्माण पश्चात अध्यापनमा केही सहज हुने अपेक्षा गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको २३ लाख ९० हजार तथा बागलुङ नगरपालिकाको रु.८ लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

पुर्ननिर्माण प्राधिकरणले चार कोठे विद्यालय भवन बनाउन प्रयास गरे पनि जग्गा नहुँदा दुई कोठे भवन बनाउन थालेको हो । जिल्ला सदरमुकाम भित्र स्थापित भए पनि उपेक्षामा परेको विद्यालयमा विद्यालय भवन निर्माण संगै नगरपालिकाले शौचालय निर्माण गरिदिने नगर प्रमुख पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *