बाढीले विद्यालय बगर : धुलोमै बसेर पढ्छन् सुप्राङका विद्यार्थी

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङ स्थित जनचेतना प्राथमिक विद्यालयको भवन बाढीले बगाए पछि अहिले चिसो भूईमा बसेर पढ्न बाध्य भएका छन् ।

गत भदौ १७ गते राति आएको बाढीले विद्यालय बगाए पछि पठन पाठनमा समस्या भएको स्थानीयले बताएका छन् । बालकक्षा सहित ४ वटा भवन रहेको यस विद्यालयमा बाढीले सबै बगाएको थियो । विद्यालय भवन सहित खेल मैदान, धारो र शौचालय समेत सबै बगाएको थियो ।

कक्षा ३ मा पढ्ने बिमला घर्तीले विद्यालय बाढीले बगाए पछि धुलोमा बसेर पढ्नु गरेको दुखेसो पोख्नुभयो । धुलोले ओठ मुख फुटेको देखाउँदै उहाँले बेच्नमा बसेर पढ्न पाए थोरै भए पनि सजिलो हुने बताउनुभयो ।

‘पढ्ने ठाउँ धुलैधुलो छ, हावा चल्यो भने सबै आँखा मुख भित्र पस्छ, रोग लाग्ने डर हुन्छ, अस्तीनै त झन् धेरै बिरामी भएका थियौँ, अहिले निको भएका छौँ,’ बिमलाले भन्नुभयो, ‘धेरै समस्या भएको छ अहिले, सबै एकै ठाउँ बसेर पढ्नु पर्छ, केही पनि बुझिन्, फेल भइन्छ कि भन्ने डर लाग्छ ।’

स्थानीय अभिभावक गोविन्द पुनले विद्यालयको यस्तो हालत हुँदा पनि कुनै पनि निकायले गम्भीरताका साथ लिन नसकेको बताउनुभयो । उहाँले सम्बन्धित निकायले चासो दिएको भए अहिले सम्म करिब–करिब विद्यालय भवन निर्माण भइसक्ने बताउनुभयो ।

‘यो ठाउँको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकायले यता तर्फ ध्यान दिन सकेन, अहिले बालबालिका धुलोमा बसेर पढ्न बाध्य छन्, धुलोमा बसेर पढ्दा केटाकेटी सबै बिरामी भएर,’ उहाँले भन्नुभयो ‘यो समस्याबाट हामी कहिले मुक्त हुने ?, हाम्रा समस्या कसले बुझ्दिने ?’

आपतविपद्मा जनतालाई सहयोग नगर्ने जनप्रतिनिधि, सांसद र सरकार चुनावका बेला मात्रै किन चाहिने भन्दै स्थानीय आक्रोशित छन् ।

‘जहाँ विद्यालय भवन थियो, त्यहाँ अहिले नाम निशान केही छैन,’ जनचेतना प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्ति मगरले भन्नुभयो,‘ठूलो विपद आइप¥यो, विद्यालय सबै बगाए पछि बालबालिकालाई भुइँमै धुलोमै राखेर पठन पाठन सञ्चालन गर्न बाध्य भएका छौ ।’ स्कुलमा बस्ने, लेख्ने पढाउने सबै बाढीले बगाए पछि अहिले बालबालिकालाई पढाउने ह्वाइट बोर्ड, घण्टी समेत व्यवस्थापन हुन सकेको छैन ।

भवन नहुँदा बालबालिका खुला आकाश मुनी धुलोमा बसेर पढ्न बाध्य भए पनि सरकार र सम्बन्धित निकायले समेत गम्भीरता नदेखाएको उहाँले गुनासो गर्नभयो । प्रधानाध्यापक घर्तिले भवन निर्माणका लागि पुर्ननिर्माण प्राधिकरणले सहयोग गरे पनि अरु संस्था तथा सम्बन्धित निकायबाट केही सहयोग नपाएको बताउनुभयो ।

‘भवनको अभाव हुँदा हाम्रा विद्यार्थीहरु धुलैमा पढ्न बाध्य छन्, धुलोमा बसेर पढ्दा बालबालिका बिरामी भएका छन्, हामी शिक्षकहरु पनि बिरामी भयौँ,’ घर्तिले भन्नुभयो ‘विद्यालय भवन निर्माणका लागि पुर्ननिर्माणले सहयोग गरेको छ, अरु कुनै पनि निकायले चासो देखाएको पाइएन ।’

पुर्नर्निमाणबाट ट्रसको भवन निर्माण गर्नका लागि २३ लाख ९० हजार बजेट विनियोजन भएको छ । ढोरपाटन नगरपालिकाबाट शौचालय निर्माणका लागि ७ लाख बजेट परेको छ । यो बजेटले निर्माण हुने भवन प्रयाप्त नहुने भएकाले पछाडी तला थप्ने गरी पक्की भवन निर्माण थालनी गरेको उहाँको भनाई छ ।

‘ट्रस भवन निर्माणका लागि पुननिर्माणबाट बजेट पर्यो, तर हामीलाई प्रयाप्त नभएको हुँदा पक्की भवन निर्माण गर्न सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो ‘पछि कुनै निकायले सहयोग गरेमा तला थप्ने गरी नयाँ भवनको निर्माण गर्नेछौ ।’

यहाँ स्थानीय युवाहरुले विभिन्न ठाउँबाट सहयोग जुटाएर विद्यालय निर्माण गर्ने जग्गा किनिदिएका छन् । तर, यस क्षेत्रका सांसद र जनप्रतिनिधिबाट अपेक्षित सहयोग नपाएको उहाँको दुखेसो छ ।

‘हाम्रो भेगको सांसद हुनुहुन्छ, खिमबिक्रम शाही, उहाँ आएर नजर त लगाउनु भएको हो, तर प्रदेश सरकार र उहाँबाट केही सहयोग भएन,’ उहाँले भन्नुभयो ‘जनताको दुःख पीडामा केही सहयोग होला भनेका थियौँ, निवर्तमान संघीय सांसद देवेन्द्र पौडेलले पनि नाकमुख देखाउनु भएको छैन, बरु यहाँका इस्टमित्रहरुले धेरै सहयोग गर्नु भएको छ ।’

स्थानीय युवाहरुको पहलमा सुप्राङमा ३० लाखमा तीन रोपनी जग्गा खरिद गरिएको छ । ‘हामी एकदम पीडामा छौँ, हेर्ने निकायले पनि अहिलेसम्म त्यसरी सहयोग गरेको छैन’ उहाँले भन्नुभयो ।
यस विद्यालयमा बाल कक्षादेखि ३ कक्षासम्म पढाई हुन्छ । हाल १ सय ५० विद्यार्थी यहाँ अध्ययनरत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *