पालिकाकै गौरवको योजनाः तमानमारङ्गशाला

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिन्छ । तर, पछिल्लो समय पूर्वाधार विकासले उल्लेख्य फड्को मार्दै गएको छ ।

सडक, स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी लगायत विकासका पूर्वाधार निर्माणसँगै खेलकुदको पूर्वधार रंगशाला समेत निर्माण गर्न थालेको छ ।

तमानखोला गाउँपालिकाले वडा नम्बर ३ को तमान गाउँमा रंगशाला निर्माण गर्न थालेको हो । पहिले विद्यार्थीहरु खेल्ने सानो ठाउँलाई स्थानीयको सक्रियतामा सम्याएर ठूलो रंगशाला (खेल मैदान) बनाएको स्थानीय भेषबहादुर पुनले बताउनुभयो ।

पहिले यो ठाउँ जलमग्न अवस्थामा रहेको र अहिले यसलाई प्रदेश र स्थानीय सरकारको सहयोगका साथै गाउँलेले झारा गरेर खेल मैदानको रुपमा विकास गरेको उहाँको भनाई छ ।

‘यो ठाउँमा पानी जम्थ्यो, सिम थियो, पछि यसलाई हामीले समथर बनाएर सानो ग्राउण्ड बनाएका थियौ,’ उहाँले भन्नुभयो, ‘डोजर लगाएर ठूलो रंगशाला बन्यो, अहिले त केटाकेटीहरु पनि रमाएर खेल्न पाएका छन्, कतै लड्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।’

आफूहरुले लामो समयदेखि खेल मैदानको लागि जनश्रमदान गरेको र त्यो दुःखको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरुले पाउने अपेक्षा स्थानीय अगुवाको छ । स्थानीय खेलाडी कृष्ण बुढा मगरले सानो खेल मैदानमा खेल्दा खेलाडीहरुलाई समस्या भएकोमा अब त्यो समस्या हट्ने बताउनुभयो । उहाँले रंगशाला निर्माणपछि आफ्नो गाउँमा पनि राष्ट्रिय स्तरको खेल आयोजना गर्न सकिने बताउनुभयो ।

‘हामी सानो ग्राउण्डमा खेल खेल्दा निकै समस्या भोगेका थियौँ, अहिले ठूलो मैदान बनेको छ, यो निर्माण सम्पन्न भयो भने हामी जस्ता खेलाडीलाई अरु ठाउँमा गएर खेल खेल्न पनि निकै सहज हुनेछ,’ उहाँले भन्नुभयो ‘खेल खेल्ने मैदान सानो भएकै कारण यहाँका धेरै खेलाडीहरु माथिल्लो स्तर सम्म पुग्न सकेनन्, यहाँ खेलाडी नभएका होइनन् धेरै छन् तर माथि पुग्ने अवसर र उचित खेल मैदान र त्यो अनुसारको बातावरण नहुँदा यही नै खुम्चिुन परेको छ ।’

खेल क्षेत्रबाट पनि तमानखोलालाई चिनाउन सकिने भएकाले व्यवस्थित रंगशाला निर्माण थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष डम्मर बुढा मगरले बताउनुभयो । उहाँले स्थानीयले निर्माण गरेको सानो खेल मैदानलाई रंगशालामा रुपान्तरण गर्न थालेको भन्दै यसका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम सुरु गरेको बताउनुभयो ।

‘यहाँ धेरै त स्थानीयको जनश्रमदान छ, पहिले सानो–सानो मैदान थियो, यसलाई बढाएर यति ठूलो बनाउने काम स्थानीयबाटै भएको हो,’ उहाँले भन्न्ुभयो ‘गाउँपालिकाले पनि केही बजेट विनियोजन गरेर अहिले सम्याउने काम भएको छ, यसमा अझ धेरै काम गर्नु बाँकी छ ।’

स्थानीयको अधिक जनश्रमदान, गाउँपालिका, प्रदेश र केन्द्र सरकार सँगको सहकार्यमा रंगशाला निर्माणलाई अघि बढाउने गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । अध्यक्ष बुढा मगरले गत वर्ष गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको र त्यसबाट मैदान सम्याउने, घेराबार लागउने र पर्खाल लगाउने काम भएको भन्दै गाउँपालिकाले २ करोडको गुरुयोजना तयार गरेको बताउनुभयो ।

यसका लागि गाउँपालिकासँग प्रयाप्त बजेट नभएकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर पुरा गर्ने योजनामा रहेको अध्यक्ष बुढाको भनाई छ । प्याराफिट निर्माण र सम्याउने काम भईरहेको र हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको उहाँको भनाई छ ।

‘गाउँपालिकाले रंगशाला निर्माण सम्पन्न गर्नका लागि दुई करोडको गुरुयोजना तयार पारेको छ, यो बजेट गाउँपालिकाले मात्रै विनियोजन गर्न सक्ने अवस्था छैन, त्यसले गर्दा प्रदेश र केन्द्रमा पनि हामीले प्रस्ताव पठाएका छौँ,’ उहाँले भन्नुभयो ‘माथिल्लो निकायबाट सहयोग भयो भने केही समयमै यसको निर्माण सम्पन्न हुनेछ ।’

रंगशाला निर्माणका लागि गाउँपालिकाले अहिले सम्म ३० बढी खर्च गरिसकेको र स्थानीयले एक करोड भन्दा बढीको जनश्रमदान गरिसकेको बताउँछन् । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट ३ लाखको ग्याविन जाली समेत सहयोग मिलेको अध्यक्ष बुढा मगरले जानकारी गराउनुभयो ।

‘गाउँपालिकाले अहिलेसम्म ३० लाख बढी खर्च गरेको छ, यसलाई पालिकाकै गौरवको योजनाको रुपमा हामीले राखेका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘यसको निर्माण पश्चात यहाँका खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुग्ने र खेलबाटै तमानखोलालाई माथि सम्म जोड्ने हामीले अपेक्षा लिएका छौँ, अहिले काम हुँदैछ, सबै तहबाट सहयोग भयो भने केही समयमै रंगशाला निर्माण सम्पन्न हुनेछ, यो तमानखोलाको मात्रै नभई सिंगो बागलुङ जिल्लाकै गौरव र अवसरको हुनेमा हामी आशावादी छौँ ।’

यस ठाउँमा अहिले पनि कुनै मेला महोत्सव लाग्दा बागलुङका साथै म्याग्दीबाट पनि बढी नागरिकहरु आउने गरेका छन् । तमानमा पर्यटकीय क्षेत्र सोलेडाँडा पनि नजिकै रहेकाले खेल पर्यटनको सम्भावना पनि छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *