हिमाल र सूर्योदय हेर्न बेलढुङ्गा !

तस्विरः बेलढुंगाबाट विहान देखिएको मनोरम सुर्योदयको दृश्य ।

यसकारण चर्चामा छ बेलढुङ्गा

आदर्श अनलाइन, बागलुङ

जिल्लामा पछिल्लो समय चर्चामा आएको पर्यटकीय स्थल हो बेलढुङ्गा । पाँच वर्ष अघि सम्म गुमनाम रहेको बेलढुङ्गाको विशेषता त्यहाँका स्थानीय पनि निकै कमलाई मात्रै अवगत थियो । देशमा पर्यटनको हुटहुटी चल्दा गाउँ गाउँमा पनि नयाँ गन्तव्यको खोजी चल्यो । त्यही क्रममा थप पहिचान, प्रचार र प्रर्वद्धन सहित प्राकृतिक भ्यू टावरको रुपमा बेलढुंगाले चर्चा बटुल्न थालेको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली म्याग्दीको सीमानामा अवस्थित बेलढुङ्गामा दैनिक पर्यटक पाहुना पुग्छन् । मिडिया र सामाजिक सञ्जाल मार्फत भएका प्रचारका कारण चर्चामा आएको बेलढुङ्गाबाट सम्मुखमै दर्जनौ हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

तस्विरः बेलढुंगामा हिमाललाई पृष्ठभूमीमा राखेर फोटो खिच्दै आगन्तुक ।


बेलको जस्तै आकृतिमा रहेको उक्त ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिदै आएको थियो । बेलढुङ्गा गुराँसको बन भित्र रहेकाले चैत्र बैशाखमा लालिगुँरासले राताम्य हुँदा अझ मनमोहक हुने स्थानीयको भनाई छ ।

पर्यटकीय गन्तव्य बन्नुमा प्राकृतिक भ्यू टावर मात्र भएर हैन, बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमश्रृङ्खला, हराभरा बनजंगलको मनोरम दृश्य यसको प्रमुख आर्कषण हो । म्याग्दी जिल्लाको सिमानाले समेत छोएको बेलढुङ्गाबाट एका विहानै खुलेका दन्ते लहर हिमाल र सूर्याेदयले आन्तरिक पर्यटकहरुलाई निकै लोभ्याउने गरेको छ ।

प्राकृतिक भ्यू टावर बेलढुङ्गा
समुद्री सतहदेखि २६ सय मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैमा प्राकृतिक रुपमा भ्यू टावर हो । यहाँबाट देखिने हिमश्रृंखला,बागलुङ म्याग्दीका दर्जनौ गाउँ, हराभरा रहेका बनजंगल डाँडाकाँडा सहितको मनोरम दृश्य अनि सूर्योदय र सुर्यास्तले त्यहाँ पुग्नेलाई आहा भन्न बाध्य तुल्याउँछ ।
बेलढुङ्गा पुग्ने आन्तरिक पर्यटकहरु बढेसंगै धम्जाको ओखलेमा बेलढुंगा होम-स्टे (सामुदायिक घरबास) समेत दुई वर्ष देखि सञ्चालनमा छ । सामाजिक सञ्जालमा देखेकै भरमा बेलढुङ्गा भ्रमणमा पुग्नुभएका बागलुङ बजारका दिपक गौतमले बेलढुङ्गा आफूले सोचे भन्दा बढी रमणीय रहेको बताउनुभयो । गत वर्षको वर्षात्ले केही भागमा क्षति पु¥याए पनि पूर्वाधार निर्माणमा केही ध्यान दिन सके अझै आर्कषक गन्तव्य बनाउन सकिने सम्भावना देखिएको गौतमको भनाई छ । अघिल्लो दिन गौतम सहित बागलुङ बजारबाट धम्जा ओखले स्थित बेलढुङ्गा सामुदायिक घरबास बास बस्न पुगेका एक दर्जन आन्तरिक पर्यटक झिसमिसेमै केही सयम यातायातको साधन र केही पदमार्गसँगै बेलढुङ्गा अवलोकनका लागि पुगेका थिए । बेलढुङ्गाको केही तल देउराली सम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झण्डै एक किलोमिटर पदमार्ग मार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ ।

पछिल्लो समय बढेलढुङ्गा घुम्न आउने पर्यटकको संख्या उल्लेख्य बढेको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । “यहाँ घुम्न आउनेहरुले आँखै अगाडि देखिएका हिमाल र सूर्योदय अत्यधिक मन पराएको पाइयो” श्रीसले भन्नुभयो “बन्दाबन्दीमा आन्तरिक पर्यटकको धेरै आगमन भयो, अहिले पनि दिन खाली छैन, आउने क्रम जारी छ ।” प्रायजसो पर्यटक अघिल्ल्लो दिन घरबासमा आएर स्वादिष्ट परिकार र नाँचगान गर्ने र भोलिपल्ट बिहानै बेलढुङ्गा अवलोकनका लागि पुग्ने गरेको स्थानीय लोक श्रीसले बताउनुभयो । बेलढुङ्गाको फेद देउरालीमा वनभोजका लागि समेत बागलुङ र म्याग्दीका बिभिन्न समूह पुग्ने गरेका छन् ।

बेलढुंगाको फेदमा छ स्वर्गाश्रम पनि

बेलढुङ्गाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी लगायतका दर्जन बढी हिमालहरु नजिकै देख्न सकिन्छ । बेलढुङ्गा भन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम समेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने संख्या पनि अधिक छ । बेलढुंगाको चर्चा सँगै स्वर्गाश्रमलाई पनि थप व्यवस्थित गर्न पहल गरिएको छ । दुवै जिल्लाले स्वर्गाश्रम र बेलढुङ्गा जोडेर पदमार्ग, सडक लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरेका छन् । बेलढुङ्गाबाट देखिने हिमाल र सूर्योदयले आफूलाई आकर्षित गरेको बागलुङ बजारबाट बेलढुङ्गा पुग्नुभएको आन्तरिक पर्यटक करिश्मा क्षेत्रीले बताउनुभयो ।

बेलढुङ्गामा नयाँ हिसावले पूर्वाधार निर्माण गर्ने तयारी

गत असारमा अविरल वर्षासंगै क्षती पुगेको बेलढुङ्गामा नयाँ संरचना निर्माण गर्ने तयारी छ ।

बेलढुंगाबाट देखिने सौन्दर्य त छँदैछ । त्यसमा प्राकृतिक सुन्दरता नमेटिने गरी मौलिक खालको चौतारी लगायतका पूर्वाधार निर्माण गरिने स्थानीय अगुवा गोपाल श्रीस बताउँनुहुन्छ । गण्डकी प्रदेश सरकारले बेलढुङ्गा हुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत चालु आर्थिक वर्षमा रु.२० लाख बजेट विनियोजन गरेको छ । बेलढुंगामा भत्किएको स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि केन्द्र सरकार, गण्डकी प्रदेश र काठेखोला गाउँपालिका र नागरिक स्तरमा समेत अभियान थाल्ने तयारीमा रहेको स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *