उत्पादनमा युवा: बँदेललाई व्यवसायमा बदल्दै दिवस

आदर्श अनलाइन, बागलुङ

दैनिक सयौ युवा विदेश गइरहेका बेला जिल्लाका एक युवाले भने गाउँमै पृथक व्यवसाय थालेका छन् ।

सानै उमेरदेखि फरक सोच र कर्ममा सक्रिय बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ ताराको छम्टु गाउँका ३० वर्षिय दिवस खत्रीले बँदले पालन थालेका छन् ।

खत्री आफूमात्रै होइन, अन्य युवालाई समेत रोजगारी दिने अभिप्रायले पशु र कृषि कर्ममा लागेको उहाँ बताउनुहुन्छ । अन्य युवा र स्थानीयलाई पनि सकरात्मक सोच र उत्पादनमूलक कार्यमा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले गाउँमै केही नयाँ काम थालेको उहाँले बताउनुभयो ।

खत्री सानै उमेरदेखि राजनीति र समाजसेवामा समेत क्रियाशिल हुनुहुन्छ । व्यावसायिक बंगुर पालन नौलो व्यवसाय नभए पनि जंगली बँदेल पालन नेपालमै नितान्त फरक व्यवसाय भएको खत्रीको दाबी छ । खत्रीले यसअघि ताराखोलामै अन्य व्यवसायी, उद्यमीसँग मिलेर रेन्बो ट्राउट माछा फर्म सञ्चालनमा ल्याउनुभएको थियो । यसका साथ बाख्रा पालन व्यवसायलाई पनि सँगै अघि बढाउनुभएको छ ।

बँदेल पालन एकल भए पनि माछा र बाख्रा पालन सामुहिक रुपमा सञ्चालनमा रहेको उहाँको भनाई छ । उहाँको आफ्नै फर्निचर तथा ग्रिल उद्योग समेत सञ्चालनमा छ । बँदेल पालन नेपालमै नयाँ सोचको व्यवसाय हो । यसअघि जिल्लामै पहिलो पटक ढोरपाटन नगरपालिका–२ सलामकोटमा युवा व्यवसायी चुडामणी कंडेले कालिज पालन व्यवसाय सुरु गर्नुभएको छ ।

जंगली बँदेलबाट बैज्ञानिक गर्भधारणको माध्यमबाट उत्पादन भएका पाठापाठीको व्यावसायिक पालन शुरु गर्नुभएका खत्रीले आफ्नो व्यवसाय अत्यन्तै फरक भएको दाबी गर्नुभएको छ । सामाजिक राजनीतिक काममा समेत सक्रिय हुँदै आउनुभएका खत्री १३ वर्षको उमेरदेखि सशस्त्र द्वन्द्वमा होमिनुभएको थियो । शान्ति प्रकृयापछि गाउँमा फर्कनुभएका खत्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँ कमिटिको अध्यक्ष समेत हुनुहुन्छ भने तारा माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा समेत हुनुहुन्छ ।

बंगुरभन्दा तीन गुणा महङ्गो बँदेलको मासु
खत्रीले पोखराबाट ८ महिना अघि मात्रै रु.९ हजार ५ सय प्रति बँदेलका पाठापाठी खरिद गरी बँदेल पालन शुरु गर्नुभएको हो । बंगुर भन्दा निकै स्वादिष्ट हुने बँदेलको मासुको मुल्य समेत उच्च रहेका कारण दुई वर्ष देखिको अध्ययन र अनुसन्धानपछि पोखराबाट ३० वटा बँदेलका पाठापाठी ल्याएर व्यावसायिक बँदेल पालन शुरु गरिएको खत्रीको भनाई छ । अहिले सात वटा बँदेल मासुका लागि तयार भएको र अग्रिम रुपमै माग भइसकेको छ । बजारमा बंगुरको मासु प्रति केजी ३ सय ५० रहेकोमा बँदेलको मासु प्रति केजी एक हजार भन्दा बढी मुल्य पर्ने भएकाले बँदेल पालन व्यवसाय राम्रो हुने अपेक्षामा रहेको उहाँको भनाई छ ।

राजनीति सेवा हो, कमाई खाने भाँडो होइन
राजनीति र समाजसेवालाई आफ्नो पेशा व्यवसाय ठान्ने परिपाटी गलत भएको भन्दै नयाँ नयाँ व्यवसाय गर्ने र युवालाई रोजगारी दिएर गाउँमा समृद्धिको उभार ल्याउने अभियानमा आफू रहको दिवस खत्री बताउनुहुन्छ । “देशमा परिवर्तन ल्याउन सानै उमेरमा जनयुद्धमा होमिए, अहिले गाउँमा बँदेल, ट्राउट माछा र बाख्रा पालन गर्दै आएको छु” खत्रीले भन्नुभयो “राजनीति, समाजसेवा संगै अर्थोपार्जनका लागि नयाँ व्यवसायमा हात हाल्दै आएको छु, केहीलाई रोजगारी समेत प्रदान गरिरहेको छु ।” उहाँले बँदेल पालन व्यवसाय एकल लगानी, माछा र बाख्रापलन सामुहिक लगानीमा गर्दै आउनुभएको छ । खत्रीले सञ्चालनमा ल्याएको ताराखोला प्रदिक बँदेल फर्ममा अहिले ४८ वटा बँदेल रहेका छन् ।

कृषि क्रान्ति ल्याउने खत्रीको योजना
खत्रीले बागलुङका सफल उद्यमी व्यवसायी सुवास राजभण्डारी सँगको सहकार्यमा ताराखोला रेन्बो ट्राउट फर्म तीन वर्ष अघिदेखि शुरु गरिएको थियो भने आठ महिना अघिबाट बँदेल पालन शुरु गर्नुभएको हो । खत्री सहित चार जनाले सामुहिक रुपमा बाख्रापलन समेत गर्दै आउनुभएको छ । सामूहिक बाख्रा फर्ममा ८० बाख्रा छन् । उहाँले बँदेल पालनमा १५ लाख लगानी गरेको बताउनुहुन्छ । रेन्बो ट्राउट फर्ममा २५ लाख र बाख्रा पालनमा १५ लाख व्यक्तिगत लगानी गरेको उहाँको भनाई छ । खत्रीको बिभिन्नि व्यवसायमा ७ जना स्थानीयले रोजगारी समेत पाएका छन् । बँदेल फर्ममा ४८ बँदेल रहेका छन् । अब बँदेलका पाठापाठी खरिद गर्न नपर्ने र आफ्नै फर्ममा उत्पादन गर्ने उहाँको भनाई छ । “द्वन्द्वको समय र यस पश्चात नेपालमा ठूला राजनीतिक क्रान्ति भए, अब पालो कृषि क्रान्तिको हो, यसबाट सबै किसिमको समृद्धि हासिल गर्न सकिन्छ”– खत्रीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *