जैमिनीमा कृषि र पशु ‘पल्टन’

साधना पन्त, बागलुङ

जिल्लाको जैमिनी नगरपालिकाले युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नयाँ अभियान थालेको छ ।

नगरपालिकाले विदेश जाने क्रम रोकेर आफ्नै गाउँ ठाउँमा रोजगारी सिर्जना गर्न ‘कृषि पल्टन र पशु पल्टन’ परियोजना सञ्चालनमा ल्याएको छ ।

सामूहिक रुपमा कृषि र पशु पालन गर्नेहरुको संख्यामा वृद्धि गर्दै सम्वृद्ध नगरपालिकाको सपना साकार पार्नको लागि परियोजना सञ्चालनमा ल्याईएको जैनिमी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले बताउनुभयो । ‘विवाहमा जन्त जाने र मृत्यु हुँदा मलामी जाने युवाहरुको समेत गाउँमा कमी हुन थालेको छ’, मेयर पौडेलले अग्रसरसँग भन्नुभयो, ‘समयमै यो परिस्थिति रोक्न नसके भोलीका दिनमा गम्भीर समस्या आउने देखियो । यही क्रम रहे सम्वृद्ध नगरपालिका, सम्वृद्ध राष्ट्रको सपना पुरा नहुने देखेर नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।’

जैमिनी नगरपालिकाले अबको दुई वर्षमा जैमिनीलाई दुधमा आत्मनिर्भर बनाउँदै ब्लक निर्माण गर्ने तयारी गरेको छ । कृषि र पशु पल्टन परियोजना सञ्चालनमा आएपछि नगरपालिकामा दुधमा मात्र होइन, खाद्यान्नमा पनि आत्मनिर्भर हुने मेयर पौडेलको विश्वास छ ।

पशु पल्टन परियोजना अन्र्तगत नगरपालिकाले २५ जना व्यक्तिलाई समूहमा गाई, भैसी पाल्नका लागि प्रोत्साहन गर्नेछ । नगरपालिकाको ६० र समूहको ४० प्रतिशत लगानीमा ३ वटा समुहले नगरपालिकाबाट यो परियोजना प्राप्त गर्न सक्नेछन् । यो वर्षका लागि नगरपालिकाले ३ वटा समूह सँग काम गर्ने गरी ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले विनियोजन गरेको उक्त रकममा तीन वटा समूहले ३६ लाख रुपैयाँ थप गर्नु पर्नेछ ।

सहकारी, समूह वा फर्मले पशु पल्टन, कृषि पल्टन परियोजनामा नगरपालिकामा आवेदन दिन सक्नेछन् । यथेष्ट सूचना नपुगेको अवस्थामा यसको पुनः म्याद थप गरेर कृषकहरुलाई थप अवसर प्रदान गरिने नगरपालिकाका अधिकृत नेत्रप्रसाद आचार्यले बताउनुभयो । हाल सम्म २ वटा समूहबाट गाई भैसी पाल्ने गरी पशु पल्टन परियोजना अन्र्तगत निवेदन परेको छ । कृषि पल्टन परियोजनामा आवेदनका लागि कृषक समुहले फाराम लिएर गएको उहाँको भनाई छ ।

न्यूनतम ५ जना व्यक्तिको समूह बनाएर खाद्यान्न बाली लगाउने गरी यो परियोजनामा ५ वटा समुह छनौट हुनेछन् । नगरपालिकाको १५ लाख र कृषक समूहको १० लाख रुपैयाँ गरी २५ लाख रुपैयाँमा सञ्चालन हुने यो परियोजनाले खाद्यान्न बाली लगाउने कृषकलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने आचार्यले बताउनुभयो ।

५० रोपनी जमिनमा खाद्यान्न बाली लगाउने गरी कृषि पल्टन परियोजनाका लागि कृषकहरुले वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ । युवाहरुको वैदेशिक रोजगारीमा आकर्षण र बसाई सराईका कारण गाउँ रित्तिदै गएपछि बाँझिएको जमिनलाई समुपयोग गर्दै बैदेशिक रोजगारी समेत रोक्ने गरी परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको आचार्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *