झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु


–आदर्श अनलाइन, बागलुङ

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ ।

विश्वकै लामो दाबि गरिएको बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथी निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल यही माघ ३ गते सस्पेन्सन वृज डिभिजन कार्यालय काठमाण्डौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माण पश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रकृया थाल्न खोजेपनी कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाई भएको थियो ।

शुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरेपनी पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दाबी रहेको छ । सस्पेन्सन वृज डिभिजन कार्यालय काठमाण्डौंका सिनियर इन्जिनियर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।

यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झुलुङ्गे पुल थपिएका भएपनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइडहरुमा उल्लेख भएको छैन । पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रकिृया थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकाराज पौडेलले जानकारी दिनुभयो । “माघ ३ गतेपछि बल्ल पुल हाम्रो स्वामित्वमा आयो, पुल हस्तान्तरण नहुँदा सम्म आधिकारिकता पाएको थिएन” नगर प्रमुख पौडेलले भन्नुभयो “विश्व रेकर्ड कायम राख्नका लागि वेबसाइडमा प्राविधिकहरुको सहयोगमा निवेदन दिएका छौं, निवेदनको रेस्पोन्स आइसेको छ, तीन महिना देखि ६ महिना भित्रै पुल हेर्न आउने जवाफ समेत आइसकेको छ ।”

पौडेलका अनुसार निवेदन पश्चात विश्व रेकर्डको कार्यालयले छानविन गर्नेछ, हाम्रो पुल विश्वकै लामो ठहर भएमा विश्व रेकर्ड अर्थात गिनिज बुकमा दर्ता हुनेछ । झण्डै रु. १२ करोड लागतमा बनेको उक्त पुल १३८ मिटर अग्लो रहेको छ । पुल निर्माण शुरु भएको दुई वर्षमै सकिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *