डम्मर बुढा मगर, बागलुङ
–मुखिया र जनप्रतिनिधि सेवामा सँगै
नयाँ व्यवस्था सहित सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि जिल्लाको तमानखोलामा पुराना केही प्रथा अझै प्रचलनमा छ ।
अधिकांश गाउँ–ठाउँमा मोवाइलमा हात हातमा पुगिसकेको छ । यसबेलामा पनि जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँमा यो प्रचलन अझै कायमै छ ।
गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् । अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेको बताउनुहुन्छ । गाउँलेहरुबाट आफुले यो जिम्मेवार पाएको तीन वर्ष भएको उहाँको भनाई छ ।
४ वर्ष पुग्यो भने नयाँ कटुवाल बनाउने गाउँलेको नीति छ । कटुवालको मुख्य काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो । रुपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरु हुँदा गाउँलेलाई यसैगरी सूचना पु¥याउने काम गर्नुहुन्छ ।
गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरुको सूचना दिनको लागि गाउँको अग्लो स्थानमा गएर हाँको हाल्नुहुन्छ । र गाउँलेहरु सोही आधारमा कार्यक्रम, बैठक, सभाहरुमा सहभागि हुने गर्छन् ।
तमान गाउँमा ३ सय ७४ घरधुरी छन् । सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पु¥याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगाएतका ठाउँमा पुगेर सूचना दिने गरेको रुपलाल बताउँनुहुन्छ ।
गाउँमा एक जना मुखिया समेत छन् । मुखियाले दिएको आदेश अनुसार रुपलालले गाउँलेलाई सूचना दिने काम गर्छन् । ललित घर्ती मगर अहिले गाउँका मुखिया चुनिनुभएको छ । उहाँ मातहत नै कुटुवालले काम गर्नु पर्ने हुन्छ ।
कटुवाल रुपलालले परम्परादेखि चल्दै आएको हुँदा कटुवाल प्रथालाई आफूले पनि निरन्तरता दिएको बताउनुभयो । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा आफु खुसी रहेको उहाँको भनाई छ । ‘परापूर्वकाल देखि चल्दै आएको चलन हो, अहिले पनि चलिरहेको छ, पहिले मोवाइल, रेडियो, टेलिभिजन भएको अवस्थामा यो अत्यन्तै प्रख्यात थियो, अझै पनि हाम्रो गाउँमा निरन्तर नै छ,’ कटुवाल रुपलालले भन्नुभयो ‘गाउँ–टोल टोलमा पुगेर सूचना प्रवाह गर्नु धर्म सम्झिएको छु ।’
कटुवालले वर्षभरी सूचना प्रवाह गरे बापत एक घरबाट २ सय रुपैयाँ प्राप्त गर्छन् । ३ सय ७४ घरधुरी रहेको तमान गाउँबाट रुपलालले हरेक वर्ष ७४ हजार ८ सय रुपैयाँ कमाउने गरेको बताउनुहुन्छ । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरु काम समेत गर्न सकिने उहाँको भनाई छ । ‘हाँको हाल्ने काम सधैँ हुँदैन, यो त बेला मौकामा मात्रै हो, अरु समयमा अरु काम पनि गर्छु,’ उहाँले भन्नुभयो ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखिनै हुँदै आएको छ, खै हेरौ अब पछिल्लो पुस्ताले के गर्छन् ? अहिले त सूचना दिने माध्यम धेरै आएका छन् ।’
गाउँलेहरुले हरेक चार÷चार वर्षमा नयाँ कटुवाल चयन गर्ने गर्छन् । रुपलालले गर्न थालेको अहिले ३ वर्ष भयो । अर्को साल आफ्नो कार्यकाल सकिने उहाँले बताउनुभयो । सुरु–सुरुमा हाँको हाल्दा घाँटीमा समस्या आउने गरेको भन्दै काम गर्दै जाँदा बानी परेको उहाँ अनुभव सुनाउनुहुन्छ । ‘यो काम त्यति सजिलो छैन, कुरल्ने (कुर्लिनु) भन्ने सानो तिनो काम पनि होइन, मलाई सुरुमा धेरै समस्या भएको थियो’ उहाँले भन्नुभयो, ‘पछि–पछि बानी पर्दै जाँदा आवाज पनि चर्को आउन थाल्यो कराउन पनि सजिलो भयो ।’
मुखिया र जनप्रतिनिधि सेवामासँगै
तमान गाउँका गाउँलेहरुले चुनेर बनाएको व्यक्ति हो मुखिया । मुखियाले गाउँको नेतृत्व गर्छ । गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको लागि काम गर्छ ।
अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुनुहुन्छ । उहाँले तमान गाउँका ३ सय ७४ घरधुरीलाई ‘हेण्डलिङ’ गर्नुभएको छ । काम र भूमिकाका हिसावले अहिलेका जनप्रतिनिधि जस्तै हो तर कुनै पनि सेवा सुविधा नलिएको मुखिया घर्ति बताउनुहुन्छ । यो एक किसिमले समाज सेवा नै हो ।
गाउँमा भएका विकृति विसंगतिलाई हटाएर सू–सुचित गाउँ निर्माणमा मुखियाको मुख्य भूमिका हुन्छ । परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरुले यसलाई निरन्तरता दिएको उहाँको भनाई छ ।
‘यो प्रथा हाम्रो पाका पुर्खाहरुदेखि नै चल्दै आएको हो, यसलाई हामीले निरन्तरता दिएका छौँ, हामीले खासमा गाउँमा हुने विशेष कामहरु, पुजाआजा, कार्यक्रम हुँदा सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौ,’ मुखिया घर्तीले भन्नुभयो, ‘मुखियाले गाउँको नेतृत्व गर्ने हो, अहिलेको वडा अध्यक्ष जस्तै हो, तर मुखियाले कुनै पनि सेवा सुविधा लिदैनन् ।’
घर्ति भन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका हुनुहुन्थ्यो । उहाँको मृत्यु भए पछि घर्ती मुखियामा चुनिनुभएको थियो । अहिले उहाँले दुई कार्यकाल चलाउँदै छन् । मुखियाको कार्यकाल ४ वर्षको हुने र आफुले एक कार्यकाल समेर गाउँलेले पुनः मुखिया बनाएको उहाँको भनाई छ । घर्तिले दोस्रो कार्यकाल सुरु गरेको एक वर्ष पुरा भएको छ ।
पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको मुखिया घर्तिले बताउनुभयो । स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आए पछि सहकार्य समन्वय गरेर काम गरेको उहाँको भनाई छ ।
‘स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गथ्र्यो, गर्नुपथ्र्यो, अहिले जनप्रतिनिधि आए पछि उनीहरुसँग सहकार्य गरेर काम गछौँ, उहाँहरुलाई पनि सहज अनि हामीलाई पनि सहज भएको छ,’ उहाँले भन्नुभयो ‘जसरी पनि समाज परिवर्तन गर्ने हो, खासगरी मुखियाले गाउँमा हुने विभिन्न किसिमका कामहरुमा विशेष भूमिका खेल्छ ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले मुखिया प्रथा परम्परादेखि नै चल्दै आएकाले जनप्रतिनिधिलाई समेत सघाउ प¥याएको बताउनुभयो । उहाँले मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप नगर्ने भएको हुँदा आफुहरुलाई समेत टेवा पुग्ने बताउनुभयो ।
‘यो पहिलेदेखिनै निरन्तर चल्दै आएको छ, हटाउने कुरा पनि भएन, यसले त जनप्रतिनिधिलाई समेत सहयोग गरेको छ, यसको त संरक्षण गर्नुपर्छ,’ उहाँले भन्नुभयो ‘गाउँमा हुने हरेक क्रियाकलापमा मुखियाको भूमिका राम्रो छ, यसलाई थप परिस्कृत गराउनुपर्छ ।’