आजदेखि बागलुङमा कोरोना खोप लगाउन सुरु

साधना पन्त, बागलुङ
बागलुङमा आजदेखि कोरोना खोप लगाउन सुरु गरिएको छ । कोरोना महामारीको रोकथाम तथा व्यवस्थापन र संक्रमितको उपचारमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई आजदेखि पहिलो चरणको खोप लगाउन सुरु गरिएको हो । खोप लगाउने कार्य माघ २४ गतेसम्म सञ्चालन हुने छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार धौलागिरी अस्पतालका ७५ र बागलुङ नगरपालिकाका ७५ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप लगाईने जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशिक्षक डाक्टर रामबहादुर केसीले नेपाल सरकारको विषेश पहलमा भारतबाट कोभिड सिल्ड नाम गरेको १० लाख खोप अनुदानमा ल्याएर प्रदेश प्रदेशमा वितरण गरिएको बताउनुभएको थियो ।

उहाँले उक्त खोप एक व्यक्तिलाई २ डोज खोप (प्रति डोज ०.५ एम सि) २८ दिन भित्रमा लगाउनुपर्ने बताउनुभयो । देशभर एकसाथ बुधबारबाट पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिएका सरकारी र गैह्रसरकारी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका, सार्वजनीक फोहोर संकलक सरसफाइकर्मी (पालिकाद्वारा नियुक्त), एम्बुलेन्स तथा शव वाहान चालक तथा सह–चालकहरु, कोभिड– १९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लागाउने केसीले बताउनु भयो ।

कोरोना खोप लगाएका व्यक्तिमा कुनैपनि असर र प्रभाव देखिन गए नेपाल सरकारले निशुल्क उपचार गर्ने समेत उहाँले बताउनुभयो । एकपटक लगाएको खोपले ६ महिना सम्म गर्ने केसीको भनाई छ । १८ वर्ष भन्दा तलका व्यक्ति, दिर्घरोगी, सुत्केरी, गर्भवती र अन्य खोप प्रयोग गरिरहेका व्यक्तिलाई कोरोना खोप लगाउन नमिल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यलय बागलुङका प्रमुख सुरग गुरौले बागलुङ जिल्लामा पहिलो चरणमा १ हजार ८ सय ६१ जनालाई खोप लगाइने बताउनु भयो ।

उहाँले माघ १५ गते बागलुङ नगरपालिकाका १ सय जना, काठेखोला गाउँपालिकाका ५० जना र धौलागिरी अस्पतालका ५० जनालाई, १६ गते काठेखोेला गाउँपालिकाका ५० जना बागलुङ नगरपालिकाका १ सय र धौलागिरी अस्पतालका ५५ जनालाई, १७ गते जैमिनी नगरपालिकाका ५०, काठेखोला गाउँपालिकाका ४५, बागलुङ नगरपालिकाका ५० र बडिगाड गाउँपालिकाका ४० जना, १८ गते काठेखोला गाउँपालिकाका ४५, गल्कोट नगरपालिकाका ५०, जैमिनी नगरपालिकाका ५० र ढोरपाटन नगरपालिकाका ५० जनालाई, १९ गते ताराखोला गाउँपालिकाका ५०, गल्कोट नगरपालिकाका ५० र निसीखोला गाउँपालिकाका ५० जनालाई, २० गते बडिगाड गाउँपालिकाका ५०, तमानखोला गाउँपालिकाका ४०, गल्कोट नगरपालिकाका ५० जना र बरेङ गाउँपालिकाका ५० जनालाई, २१ गते जैमिनी नगरपालिकाका ६३, बडिगाड गाउँपालिकाका ४०, गल्कोट नगरपालिकाका ५० र ताराखोला गाउँपालिकाका ४४ जनालाई, २२ गते निसीखोला गाउँपालिकाका ५०, ढोरपाटन नगरपालिकाका ५० र गल्कोट नगरपालिकाका २६ जनालाई, २३ गते बरेङ गाउँपालिकाका ५५, तमानखोला गाउँपालिकाका ३४ र बडिगाड गाउँपालिकाका ४० जनालाई र अन्तिम दिन २४ गते बडिगाड गाउँपालिकाका ३८, ढोरपाटन नगरपालिकाका ५५ जना र निसीखोला गाउँपालिकाका ४१ जनालाई खोप लगाईने बताउनुभयो ।

खोप लागाउनका लागि बागलुङ नगरपालिकाका ६ जना र धौलागिरी अस्पतालका ६ जना गरी १२ जना स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरि तयार गरिएको छ । खोप लगाएपछि शरिर दुख्ने, ज्वरो आउने, खोप लगाएको ठाउँमा रातो हुने जस्ता सामान्य लक्षण देखिन सक्ने भन्दै गुरौले नआत्तिन समेत सुझाव दिनुभयो ।

पत्रकार सम्मेलन जिल्ला प्रशासन कार्यलय बागलुङका प्रमुख सुरेश न्यौपानेको अध्यक्षता र प्रशासकिय अधिकृत धिरेन्द्र राज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *