बागलुङमा थपिए १४ हजार २९८ मतदाता

आदर्श अनलाइन, बागलुङ
आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी बागलुङमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा बागलुङ जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफल तथा वैठकलार्ई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालय बागलुङका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरणमा उल्लेख भएका १८ वर्ष पुगेका नागरिकले मात्र मतदान गर्न पाउने भएका छन् । पुस ५ गतेसम्मको तथ्याङ्क अनुसार बागलुङमा १ लाख ८८ हजार १०८ मतदाता संख्या रहेको जिल्ला निर्वाचन अधिकारी शिवराम शर्माले जानकारी दिनुभयो । “हामीले निर्वाचनको मिति तोके संगै आन्तरिक तयारीलाई तिब्रता दिएका छौं” शर्माले भन्नुभयो “सुरक्षा निकाय तथा सरोकारवाला संगको छलफल, मदतान स्थल र केन्द्रको अध्यावधिक लगायतका विषयमा निर्वाचन आयोगमा पठाइसकेका छौं ।”

यसअघि बागलुङमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख ६८ हजार ३४९ मतदाता थिए । २०७६ मंसिर १४ गते बागलुङमा भएको प्रदेश तथा वडा अध्यक्षको उपनिर्वाचनमा पुन पाँच हजार ४६१ मतदाता थपिएर जम्मा १ लाख ७३ हजार ८१० मतदाता थिए ।

आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा १४ हजार २९८ मतदाता थपिएको शर्माले बताउनुभयो । निर्वाचनको तयारीस्वरुप यही माघ १६ देखि १८ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ । जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताउनुभयो । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी समेत खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १०३ मतदान स्थल र २०१ मतदान केन्द्र रहेकोमा आगमी निर्वाचनमा भने २१९ मतदान केन्द्र बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।

जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार मतदाता संख्यामा आएको वृद्धि संगै १८ मतदान केन्द्र थप्न सिफारिस गरिएको छ । चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उहाँको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा दुई निर्वाचन क्षेत्र छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *