पञ्चकोटमा दैनिक हजार पर्यटक !


–आदर्श अनलाइन, बागलुङ

केही दिन अघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा थकालीले भन्नुभयो–“मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुंगे पुल समेत निकै आर्कषक गन्तव्य रहेछ । अब मुस्ताङ जाने र पुगेकाहरु फर्किने बेला यहाँ आउन छुटाए धेरै राम्रो गन्तव्य ‘मिस’ हुने रहेछ ।”

पहिलो पटकनै पञ्चकोटले लोभ्याएको भन्दै थकालीले मुस्ताङ पछिको उत्कृष्ट गन्तव्य पञ्चकोट बन्न सक्ने बताउनुभयो । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा अहिले आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको छ । कोरोना भाइरसका कारण घरमै बसेका आन्तरिक पर्यटकहरुको आकर्षण पञ्चकोट बन्दै गएको छ । अहिले पञ्चकोटमा कोरोना पछि कतिपय दिनमा करिब एक हजार सम्म पर्यटक आउने गरेको पञ्चकोट विकास समितिले जनाएको छ ।

पञ्चकोटमा शुक्रबार र शनिबार पर्यटकको निकै चाप हुने गरेको छ । अन्य समय पनि दैनिक ५÷७ सयको हाराहारीमा पर्यटक आउन थालेका छन् । पञ्चकोटमा निर्माण भएको गरुढ शिला, शिस महल, भौगोलिक बातावरण र त्यहाँबाट देखिने हिमश्रृंखलाले मनै लोभ्याउने गरेको पञ्चकोट घुम्न पुग्नु भएका आन्तरिक पर्यटक सुमन कार्कीले जानकारी दिनुभयो ।

पञ्चकोटमा निर्मित धार्मिक कलाकृतिले पनि धेरैलाई लोभ्याउँछ । अहिले पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणाधिन अवस्थामा छ । पर्यटकको सिजन भएको र मुस्ताङको मुक्तिनाथ मन्दिर समेत कोरोना पछि खुला भएका कारण बागलुङको पञ्चकोटमा पर्यटक बढेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष तथा पञ्चकोट विकास समितिका उपाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । “शुक्रबार र शनिबार एक हजार भन्दा बढी पर्यटक आउने गरेका छन्” सापकोटाले भन्नुभयो “आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै आएको पञ्चकोटमा थपिदै गएका धार्मिक पूर्वाधारले पर्यटक आकर्षित हुने क्रम बढ्दो छ ।”

उपाध्यक्ष सापकोटाका अनुसार अबको केही वर्षमै पञ्चकोटमा दैनिक तीन हजार पर्यटक ल्याउने पञ्चकोट विकास समितिको लक्ष्य छ । जिल्ला सदरमुकामबाट ५ किलोमिटर दुरीमा रहेको पञ्चकोट पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको सापकोटाको भनाई छ ।

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि बि.स.२०७१ सालदेखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिदै आएको छ । दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामानै अध्ययन तथा अवलोकन र पूजा पाठका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुदै गएको हो । पाँच वर्षदेखि निर्माणाधिन पञ्चकोटमा झण्डै रु.२५ करोड भन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रुपमा निर्माण हुने विश्वशान्ति कलशको रु.६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अहिले फाउण्डेशनको कार्य भइसकेको छ ।

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलश समेत निर्माण गरिदैछ । कलश निर्माण पछि पञ्चकोटमा बाह्य पर्यटकहरु समेत आउने अपेक्षा गरिएको छ । समुन्द्री सतह देखि १ हजार १ सय मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरी निलगिरी लगायतका दर्जन बढी हिम श्रृङ्खला देख्न सकिन्छ ।

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा निर्माण भइरहेका ५ सय ६७ मिटर लम्बाइको झोलुङगे पुल र कुश्मा बागलुङ जोड्ने गरी निर्माण भइ सञ्चालनमा आएको बञ्जी जम्पका कारण समेत बागलुङमा आन्तरिक पर्यटक बढि रहेको बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । राजभण्डारीका अनुसार कोरोना पछि थलिएको पर्यटक उठ्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *