कोरोना कहरपछि मुस्ताङमा दैनिक २ सय पर्यटक

सुन्दरकुमार थकाली
जोमसोम—प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर गत पुस २१ गतेबाट दर्शनका लागि खुल्ला गरिएसंगै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना कहरले लामो समय देखि बन्द मुक्तिनाथ मन्दिर खुल्ला भएसंगै दिनहु २ सयको संख्यामा स्वदेशी पर्यटक मुस्ताङ आउन थालेका हुन् ।

सरकारले आन्तरिक तथा बाह्य हवाई सेवा संञ्चालनमा ल्याएपनि मुस्ताङमा अझै विदशी पर्यटक भित्रिएका छैनन् ।मुस्ताङको मुक्तिनाथ खोल्न गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरुको चौतर्फी दबाव सृजना गरेपछि मुक्तिनाथ विकास समिति ,स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको सहमतीमा दर्शनका लागि खुल्ला गरिएको थियो । मुक्तिनाथ विकास समितिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भक्तजनहरुलाई दर्शन गर्ने व्यवस्था मिलाएको थियो । विदेशी पर्यटकको हकमा भने अझै पिसिआर रिपोर्ट आवश्यक पर्ने नियम कायमै छ ।

सरकारले पर्यटकीय स्थल तथा पर्यटकीय गन्तब्य खुल्ला गर्ने निर्णय गरेपनि मुक्तिनाथ मन्दिर ढिलो गरी खुल्ला गरिएको थियो । प्रदेशका अन्य जिल्लामा पर्यटकीय गतिविधि हुने गरेपनि मुस्ताङमा मुक्तिनाथ मन्दिर नखुल्दा मुस्ताङका होटल पुरै बन्द थिए भने कतिपय गाउँहरुले बन्दाबन्दी गरेका थिए । यस्तै ,स्थानीय प्रशासनले समेत मुस्ताङ आउजाउमा समेत अघोषित निशेधआज्ञा लगाएको थियो ।

कोरोना कहरले बन्द मुक्तिनाथ खुलेपछि दैनिक २ सयको हाराहारीमा स्वदेशी पर्यटक मुक्तिनाथ आउने गरेको मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनले मन्दिर आउने दर्शनार्थीलाई आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर दर्शन गर्ने व्यवस्था मिलाईएको बताए ।

हिउँदयामको चिसो मौसममा समेत स्वदेशी पर्यटक मुस्ताङ आउन थालेपछि मुस्ताङका पर्यटन व्यवसायी र फलफुल व्यवसायी उत्साहित भएका छन् ।यसअघि हिउँदयामको मौसममा सुनसान हुने मुस्ताङमा मुक्तिनाथ खुलेपछि पर्यटकीय चहल÷पहल बढेको हो ।हिउँदयामको मौसममा मुस्ताङका स्थानीय तथा पर्यटनकर्मी बर्सेनि जाडो छल्न बेसी झर्ने गरेपनि यसवर्ष कोरोना कहरका कारण जिल्लामै छन् ।जोमसोममा फलफल व्यवसाय गरेका एक व्यवसायीले भने ‘कोरोना कहरले मुक्तिनाथसंगै मुस्ताङ ठप्प हँुदा सटरभाडा तिर्न समेत मुश्किल प¥यो ,अहिले मन्दिर खुलेपछि पर्यटक आउन सुरु भयो । अब बिस्तारै पर्यटक आउँछन् भन्नेमा आशावादी छौं ।’

पछिल्लो समय मुस्ताङ आउजाउ सहज भएपछि लामो तथा छोटो दुरीका यातायातका साधन निर्वाध रुपमा संञ्चालन भईरहेको छ । तर,गत चैत्र ११ गते बन्द रहेको पोखरा/जोमसोम हवाई सेवा भने अझै संञ्चालनमा आउन सकेको छैन । मुक्तिनाथ मन्दिर खुलेसंगै म्याग्दी हुँदै मुस्ताङमा सार्वजनिक ,निजी ,हरियो प्लेटका सवारी साधनका साथै दिनहु ३० देखी ५० वटा सम्म मोटर साईकल भित्रिने गरेको पाईएको छ । यसअघि कोरोना कहरले बन्दाबन्दी खेपी रहेका स्वदेशी पर्यटकले मुस्ताङ आउदा आनन्दको अनुभुती गर्न थालेका छन् ।

जनकपुर र तनहुबाट आएका स्वदेशी पर्यटकले कोलाहल मुक्त मुस्ताङ आउँदा अन्य गन्तब्य भन्दा फरक अनुभव भएको बताएका छन् । मुस्ताङ खुल्ला भएको थाहा पाएपछि साथीहरु मिलेर यहाँ आएको र यहाँ आउँदा मुक्तिनाथसंगै थकाली होमस्टे , ढुम्बाताल ,कुछप तेरङ्गा गुम्बा ,यारुझो भ्युटावर लगायतको दृष्यावलोकन गर्ने अवसर प्राप्त भएको बताए । मुस्ताङ जिल्ला साँच्चैकै हरियाली बिनाको सौन्र्दयताले आफुहरुलाई मोहित बनाएको र अरुलाई पनि मुस्ताङ घुम्नै पर्ने ठाउ हो भनी जानकारी गराउने उनीहरुको भनाई छ ।

लामो समय कोरोनाले बन्द रहेको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किन थालेको छ ।मुस्ताङ आएका पर्यटकले यहाँको अन्य धार्मिक स्थलको दर्शन र पर्यटकीय गन्तब्यमा पुग्ने गरेको पाईएको छ ।मुस्ताङ आएका पर्यटकले जोमसोम नजिकै रहेको थकाली होमस्टेमा समेत बाँस बस्न पुग्ने गरेका छन्।

मुस्ताङमा पर्यटकीय चहल/पहल बढेपछि यहाँ उत्पादित कृषि उपजले समेत बजार पाउन थालेपछि स्थानीय किसान समेत खुसी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *