डम्मर बुढा मगर, बागलुङ
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरको गाउँ । जहाँ बसोबास गर्ने नागरिकको आफ्नै रहनसहन, बोलीचाली, खानपान र संस्कृति छ । प्रायजसो यहाँका नागरिकहरु खेतिपाती र पशुपालनमै निर्भर छन् । केही वर्ष अगाड सम्म शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधारको निकै कम पहुँच भएको यस बोबाङ गाउँको परिचय नै बदलिएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ७ र ८ मा पर्ने यो गाउँमा पछिल्ला तिन वर्षमा शिक्षा, स्वास्थ्य, सडक लगायतको विकासमा उल्लेख्य उभार आएको छ ।
बोबाङ गाउँ भन्दा साथ धेरैलाई अझै पनि लाग्छ कि यो ठाउँ दुर्गमै छ । यहाँका नागरिको जीवनशैली व्यवहारनै परिवर्तन भएको छैन । शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासको पूर्वाधारले जोडिएकै छैन । तर, अब अहिलेको बोबाङ पहिलेको जस्तो रहेन ।
स्थानीयहरु शिक्षित र सचेत बन्दै गएका छन् । स्वास्थ्य, शिक्षा, खानोपानी, सडक यातायात लगायत विकासका पूर्वाधारहरुले बोबाङ जोडिँदै गएको छ । बहुप्रतिक्षित ढोरपाटन शिकार आरक्षको प्रवेश मार्ग र गाउँका रुपमा रहेको बोबाङ गाउँ राष्ट्रिय गौरवको योजना सालझण्डी–ढोरपाटन सडकले बीच भागबाटै गएपछि विकास र सुविधाले थप गति लिने अपेक्षा गरिएको छ ।
सडक आए पछि गाउँका धेरै परिवर्तन आएको स्थानीय बताउँछन् । यो सडक बोबाङ लगायत सिंगो भूजीखोलावासीका लागि वदरदान सावित भएको छ । सडक नपुग्दा घण्टौ लगाएर दैनिक उपभोग्य सामान किनबेच गर्ने गाउँमा अहिले दर्जनौ पसल सञ्चालनमा छन् । जीवनको अधिक समय गाडी नदेखेका, नचढेका वृद्धवृद्धाहरु घरै अगाडी गाडी गुड्दा चकित छन् ।
स्थानीय चनु कायत अहिले ८३ पार गरेर ८४ वर्षमा लाग्नु भयो । उहाँले आफ्नो जीवनकालमा १८ वर्षको उमेरमा पहिलो पटक गाडी गुडेको देखेको बताउनुहुन्छ । ‘यता तिर त गाडी आउला भन्ने त हामीले कल्पना समेत गरेका थिनौँ, आए पनि हामी जिउँदै हुँदा आउला जस्तो लागेको थिएन,’ कायतले भन्नुभयो ‘तर हामीले कल्पना गरेको गलत सावित भयो, घरै अगाडी सरर् गाडी गुड्दा त गोरखपुरको झल्को यही मेटिन्छ, म १८ वर्षको उमेरमा गोरखपुर भर्ति हुन जाँदा गाडी देखेको, केही साथीहरु त गाडी हामी तिर आएको देख्दा त डराएर भाग्ने गर्थे, अहिलेको जस्तो भए त के डराउँथे र ?’
कायतले नुन चामल बुटवलबाट बोकेर उपभोग गरेको अनुभव सुनाउँदै अहिले घरमै नुन तेल लगायत चाहिने सामान आउँदा आनन्द लागेको बताउनुहुन्छ । उहाँले त्यस बखतमा आफूहरुले निकै दुःख भोगेको स्मरण गर्दै अबका पुस्ताले त्यो समस्या भोग्न नपर्ने बताउनुभयो ।
‘हाम्रो पालामा ११ दिन लगाएर बटौलीबाट नुन, तेल बोकेरा खान्थ्यौँ, अहिलेको जस्तो घर–घरमा आउने थिएन, बाटोमा बासबस्दै जानु पथ्र्यो, बास बस्दै आउनु पथ्र्यो धेरै दुःख थियो हजुर ऊ बेला, अहिले त जहाँ भन्यो त्यहीँ, जे भन्यो त्यही पाइन्छ,’ कायतले भन्नुभयो ‘सुबिस्ता भएको छ अहिले, हाम्रा छोरा नातिलाई सुबिस्ता बनाई दियो, यो सुबिस्ता म बुढोले पनि लिन पाएँ, निकै खुसी लागेछ ।’
उहाँले पैदल हिँडेर ६ दिनमा बुटवल पुगेको भन्दै बाटोमा खाने खर्च बोकेर जाने गरेको समेत बताउनुभयो । पहिले ६ दिन लगाएर जाने बुटवलमा अहिले एकै दिनमा पुग्न सकिने उहाँ बताउनुुहन्छ । ‘नुन ल्याउन जाँदा खर्चपर्च बोकेर जानुपथ्र्यो, बाटोमा बास बस्दै जान्थ्यौँ, पानी झरी गर्दा निकै कष्ट हुने गथ्र्यो, अहिले सबैथोक घरमै आउँछ,’ उहाँले भन्नुभयो ‘हामी ६/६ दिन लगाएर जाने बटौलीमा अहिले त एकै दिनमा पुगिन्छ, उस्तै परे बिहान गएर बेलुकी खाना खान घरै आइन्छ ।’
अर्का स्थानीय कल्याण कायतले मोटरबाटोले गाउँको मुहार फेरिदिएको बताउँनुहुन्छ । कायतले मोटरबाटो गाउँमा आए पछि धेरैलाई शिक्षित र सभ्य बनाएको भन्दै विकासका अन्य पथ पनि खुला गरेको बताउनुभयो ।
‘यो ठाउँ निकै पिछडिएको थियो, धेरै नागरिक अशिक्षित थिए, यहाँ सामाजिक विकृति विसंगती सम्बन्धी धेरै घटनाहरु हुने गर्थे र बाहिरबाट कोही नयाँ मान्छे आयो भने बस्ने बातावरण पनि थिएन,’ कायतले भन्नुभयो ‘अहिले धेरै परिवर्तन भएको छ, नागरिक पनि शिक्षित भएका छन्, त्यसले गर्दा पनि पहिलेको तुलनामा अहिले उल्लेख्य परिवर्तन भएको छ ।’ भर्खर–भर्खर विकासका कामहरुले गति लिन थालेको भन्दै पहिलेको जस्तो यहाँका नागरिकहरु पढ्नबाट बञ्चित र स्वास्थ्य उपचारबाट टाढा रहेकाहरुको सहज पहुँच पुग्ने अवस्था छ ।
‘केही समय अगाडिसम्म त गाउँमा धेरै बालबालिका विद्यालय पढ्न समेत जाँदैनथे र त्यो अनुसारको संरचना पनि थिएन तर अहिले सबै तिर विकास हुँदैछ, बालबालिका पनि विद्यालय जान थालेका छन्’ उहाँले भन्नुभयो ‘नजाने त कमै होला र बिरामी पर्दा धामी झाँक्री गर्ने प्रचलन त छ तर अहिले सडकले गर्दा सहजै बुर्तिबाङ अस्पतालमा पुगिहाल्छन् ।’
कायतले सडक सञ्जालले गाउँदेखि ढोरपाटन जोडिएपछि व्यापार व्यसाय गर्नेहरु समेत बढिरहेको बताउनुभयो । उहाँले पहिले सामान लिनको लागि बुर्तिबाङ पुग्ने बाध्यता रहेको भन्दै अहिले त्यो समस्या हटेको बताउनुहुन्छ ।
‘पहिला त यहाँ पसलहरु पनि खासै थिएन, केही सामान चाहिएर किन्नु परेमा बुर्तिबाङ नै पुग्नु पर्ने बाध्यता थियो, तर अहिले त घर–घरमै पसल छन्, सबै सामान गाउँमै किन्न सकिन्छ,’ उहाँले भन्नुभयो ‘गाउँमा भएका १/२ जना पसलेहरुले पनि घोडा खच्चडमा र भरिया लगाएर सामान लिने गर्थे, अहिले त्यो प्रचलन पनि हट्यो, घोडा खच्चडको प्रयोग पनि कम हुन्छ ।
२०६६ सालमा बोबाङ गाउँ सडकले जोडिएको थियो । त्यसभन्दा अगाडि सम्म यहाँ अधिकांश नागरिकहरुले घोडा खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे भने अहिले त्यो बिस्तारै घटेको छ । अहिले पनि यदाकदा घोडामा ढुवानी गर्ने गरे पनि पनि पहिलेको तुलनामा धेरै कम भएको छ ।
यहाँका धेरै जसो नागरिकहरु घुम्ती बसाई गर्ने गर्छन् । वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औल)मा बस्ने गर्छन् । अझै पनि यस ठाउँमा अपेक्षा अनुसारको विकास हुन सकेको छैन । अझै पनि विद्यालय टाढा हुँदा कति बालबालिका शिक्षा लिन बञ्चित छन् । कोही स्वास्थ्य उपचारबाट बञ्चित छन् । यस तर्फ भने सम्बन्धित निकायको ध्यान जान जरुरी भएको स्थानीय बताउँछन् ।