मजदुरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

आदर्श अनलाइन, बागलुङ
नेपालमा मजदूरहरुको व्यथा सुनि साध्य छैन । महिनौ काम गरे पछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगिन्ती फेहरिस्त छन् । मजदुरले काम गरे पछि निर्माण व्यवसायी भाग्दा पाँच दिन भोकै हिँडेर घर आएको कुरा सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ । तर, तनहँु जिल्लाको दमौलीमा भवन निर्माणको काम गरेका पर्वत र बागलुङका मजदुर ठेकेदार भागेपछि भोकभोकै पाँच दिन हिँडेर घर फर्किएका छन् ।

पर्वत जिल्लाका ८ मजदुर र बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ जिमीका ३८ वर्षिय नुनबहादुर श्रीस ‘प्रकाश’ दमौलीबाटै पैदल हिँडेर गृह जिल्ला आइपुगेका छन् । एक महिना १९ दिन लगाएर ठेक्का मार्फतको प्रहरी चौकी भवन निर्माणमा काम गरेका उनीहरु ठेकेदार भागे पछि अलपत्र परेका थिए । मंगलबार साँझ घरबेटीले आफूहरु बस्ने कोठामा ताल्चा लगाएपछि हिँडेर पर्वतका ८ जना साथीहरु नयाँ पुल सम्म र आफुु बागलुङ सम्मै एक्लै हिँडेर आएको मिस्त्रीको काम गर्दै आउनुभएका नुनबहादुर श्रीसले बताउनुभयो । रामेछापका निर्माण व्यवसायी दिलिप राइले उनीहरुलाई काममा लगाएको श्रीस बताउनुहुन्छ ।

काम सकेर रकम बुझ्ने बेलामा निर्माण व्यवसायी भागेकाले समस्यामा परेको उहाँको गुनासो छ । “ठेकेदारले खाना बस्न सहित दैनिक एक हजार ज्याला दिने सहमतिमा एक महिना १९ दिन काम गरियो” मजदुर श्रीसले भक्कानिँदै दुःखको फेहरिस्त सुनाउँदै भन्नुभयो “हामी त सोझो मान्छे पैसा देला भन्ने भयो, एक्कासी घरबेटीले ठेकेदार भागेको भन्दै कोठामा चापी लगाए, गोजीमा एक रुपैयाँ दाम नभएका कारण भोकै हिँड्नुको बिकल्प भएन ।” दमौली बजारको अस्थायी प्रहरी चौकी भवन निर्माण गरी नजिकै ठेकदारले दिएको कोठामा बस्दै आएका नौ मजदुर एक साथ पाँच दिन लगाएर घर फर्केका हुन् । दमौलीबाट प्रहरीले पोखरा आउने गाडीमा चढाइदिए पनि केही यता आए पछि भाँडा मागेर पैसा नभए पछि बीच बाटोमै झारिदिएको उहाँको कथन छ ।

श्रीसले गाउँमै मजदुरीको काम गर्दै आए पनि दिनको एक हजार पाइने लोभले ठेकेदारको सम्पर्कमा आएर दमौली पुगेको बताउनुभयो । लगातार पाँच दिन कालोपत्रे सडकमा पैदल हिँड्दा श्रीसका पैताला फुटेका छन् । “पोखरामा पानी माग्दा समेत कसैले दिएनन्, बाटोमा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौ, माघको जाडोमा प्रतिक्षालयमा सुत्दै बागलुङ आइयो ।” बागलुङ आए पछि शुक्रबारको रात बागलुङको बांगेचौर–पर्वत पाङ जोड्ने लामो पूल मुनि कटाएको उहाँ बताउनुहुन्छ ।

यस विषयमा ठेकेदार राइले दिएको सम्पर्क नम्बरमा फोन लाग्दैन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक युवराज तिमिल्सिनाले आफूलाई कुनै जानकारी नभएको भन्दै यस विषयमा बुझ्नु पर्ने बताउनुभयो । उहाँले जिल्लामा धेरै प्रहरी बीट तथा चौकी निर्माणको चरणमा रहेकाले कुन भन्ने पत्ता लगाउनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँमा ठेकेदार भागेर मजदुरहरुलाई अलपत्र पारेको कुनै गुनासो उजुरी नआएको उहाँको दाबी छ । यद्यपि दमौलीमा दुई स्थानमा प्रहरी भवन बन्दै आएको र अहिले कामदार तथा ठेकेदार दुबै नभएकाले ठेकेदार सम्र्पकमा आउँदा साथ जानकारी लिने बताउनुभयो ।

दमौली शेरा स्थित खैरेनी प्रतिक्षालयमा पहिलो दिन, पोखराको गगनगौडामा दोस्रो रात, घट्टेखोलामा तेस्रो रात र बागलुङ जिल्लाको प्रवेशद्वार सहिद पार्कमा चौथो रात कटाएर बागलुङ बजार आउनुभएका श्रीसले बताउनुभयो । विहान पानी माग्दै हिँडे पछि सोधखोज गर्ने क्रममा समस्याका बारेमा जानकारी भएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “खर्बाङ पुग्न हिँडेर कति समय लाग्छ भनेर सोध्नु भो, अनि अहिले त गाडीहरु चलेकै छ किन सोध्नु भो भनेर चासो राखे पछि मजदुरको दुर्दान्त कथाको भित्रि पाटो खुल्यो,” अध्यक्ष शिरीषले भन्नुभयो,“त्यसपछि खुट्टा फुटेका छन्, सुन्निएको छ, हिँडेरै खर्बाङ पुग्ने अवस्था नभए पछि खाजा, खाना र यातायात खर्चको व्यवस्था गरेर घर पठाएका छौ ।” पैसा नभएको बैंकको चेक दिएको र मजदुरलाई दिएको सास्तीबारे थप खोजी र पहल गरिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *