बरेङका घर घरमा जस्ताको छानो

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिका–१ बाँस्कोटकी कुमारी सुनार यो वर्ष ढुक्क हुनुभएको छ । यो वर्ष मात्र होइन उहाँलाई अबका केही वर्ष सम्म पनि चुहिने छानोबाट सास्ती खेप्नु नपर्ने भएको छ । सुनारले २ वर्ष पहिले गाउँकै पुरुष कामदारलाई लगाएर घरको छानो खरले छाउनुभएको थियो । यो वर्ष पुन छानोलाई व्यवस्थापन गर्नुपर्ने भएको थियो ।

घरमा लोग्ने मान्छे नहुँदा उहाँलाई यो वर्ष कसरी छानो छाउने भन्ने भएको थियो । तर गाउँपालिकाले खरका छाना विस्थापित गरी सबैका घर जस्तापाताले छाइदिने भएपछि सुनारको घर कसरी छाउने भन्ने तनाव मात्र कम भएको छैन, पटक पटक आर्थिक रुपमा पर्ने मार पनि कम भएको छ ।

‘हुनेखानेका सिमेन्टका घर छन्, टिनले छाएका छन्,’ सुनार भन्नुहुन्छ ‘हाम्रो त खरले छाएको, सुतेको बेला कसैले आगो लगाई दिन्छ कि भन्ने डर कहिले पानी चुहिने डर ।’ खुसी हुँदै सुनार भन्नु हुन्छ टिनले छाएपछि त वर्षाैसम्म फेर्न पर्दैन रे ढुक्क भएकी छु ।

गाउँपालिकाले खरको छानो विस्थापित गर्ने योजनाको साथ यो वर्ष देखि गाउँपालिका भित्रका विपन्न, गरिबको घर जस्तापाताले छाइदिने भएको छ । गाउँपालिका भित्रका २ सय ५० भन्दा बढी गरिब र विपन्नका घर जस्तापाताले छाउने गरी जस्तापाता खरिद कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ ।

‘अहिले जस्तापाता खरिद कार्य सुरु भएको छ, अध्यक्ष शर्माले भन्नुभयो अबको केही महिनामा गाउँपालिकाका हरेक घर खरका छाना मुक्त हुनेछन् ।’ खरका छाना मुक्त गाउँपलिका निर्माणको लागि यो वर्ष करिब डेढ करोड रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले खरका छाना भएका घरको तथ्याङ्क संकलन गरिरहेको भन्दै आर्थिक अवस्था कमजोर हुनेलाई गाउँपालिकाले छाइदिने र अन्य व्यक्तिलाई जस्तापाता दिने र उनिहरुले आफै छाउनुपर्ने गरि काम अगाडी बढेको शर्माले बताउनुभयो ।

उहाँले पहिलो चरणमा ५० लाख रुपैयाँको जस्तापाता ख रिद गरी काम अगाडी बढाउने बताउनुभयो । दलित, जनजाती र क्षेत्री, ब्रमाणको विचमा विभेद हुँदैन शर्माले भन्नुभयो आर्थिक अवस्था कमजोर हुने सबैको घर गाउँपालिकाले आफै छाउछ ।

गाउँपालिकाको वडा नम्बर २ मा सबैभन्दा बढी खरका छाना रहेकाले सोही वडाबाट काम अगाडी बढाउने तयारी गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ सिक्धाराकी सुस्मिता विकले गाउँपलिकाले जस्तापाताले घर छाइदिए खरबारीमा भएको थोरै खर गाइवस्तुलाई खुवाउनेकी घर छाउने भन्ने दुविधा अन्त्य हुने बताउनुहुन्छ । घर छाइदिन्छौ त भन्नुभएको छ विकले भन्नुभयो हिउँदैमा घर छाइदिए आगलागीको जाखिम कम हुने थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *