बागलुङ कालिका र भजन संस्कृति

राजु खड्का
प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका मन्दिरमा पहिला भजन किर्तन भैरहन्थ्यो । बीचमा जे भएपनि पछिल्लो समय करिब ८ बर्ष देखी फेरि भजन किर्तन कार्यक्रम शुरु गरियो । शनिबार, मंगलबार तथा चाडपर्व बिशेषका अवसरमा बिहान नियमित रुपमा भजन किर्तन संचालन गरिन्छ ।भजन किर्तनलाई नियमित रूपमा संचालनको लागि भनेर भजन समिति गठन गरि सानो कोषको समेत ब्यबस्था मिलाइएको छ ।

मलाई लाग्छ अब कालिका मन्दिरमा नियमित रूपमा भजन किर्तन भैरहन्छ । मलाई बिश्वास छ, अव ब्यवसायिक रूपमै भजन किर्तन अगाडी बढ्ने छ, बढाउनु पर्छ । बागलुङ कालिका मन्दिरमा सत्संग तथा भजन किर्तनलाई मर्यादित र व्यवस्थित रूपमा निरन्तर संचालनका लागि आगामी दिनहरुमा थप योजनाहरु ल्याइने छ ।पछिल्लो समय ऐतिहासिक चैत्राष्टमी मेलामा भजन प्रतियोगिता समेत समावेश गरिएको छ ।

बागलुङ कालिका मन्दिरमा भैरहेको भजन किर्तनले मन्दिरको महिमा र महत्वलाई अझै बढाएको छ । बाग्लुङमा धार्मिक पर्यटनको कुरा गर्दा भजन किर्तनलाई छुटाइयो भने अन्याय हुनसक्छ ।
धार्मिक पर्यटनको कुरा गर्दा जति पनि मठ मन्दिर जिल्लामा छन ति प्राय ऐतिहासिक पृष्ठभूमिका छन् र ति सम्पदाहरूमा भजन संस्कृति पनि संगै रहेको छ। बिभिन्न कारणहरुले समस्यामा परेका मठ मन्दिर तथा भजन संस्कृतिलाई अबको पुस्ताले जुरुक्कै बोक्नु पर्ने अबस्था आएको छ।समयले दिएको यो जिम्मेवारी र अबस्थालाई हामीले गम्भीर रुपमा लिनै पर्छ । पुर्खाको चिनारी, पहिचान र मौलिक संस्कृति जगेर्ना गर्न हामीले ब्यवसायिक सोंचका साथ संगठित रूपमै प्रस्तुत हुन सक्नु परेको छ।

बागलुङका प्राय सबै स्थान र समुदायमा भजन किर्तन गरिन्थ्यो, गरिन्छ । अझै पनि प्रबल सम्भावना छन। त्यति हो रातभरि वा दिउस भरी चिया, रोटी र फुला खाएर अब भजन संस्कृति जोगिदैन, जोगाउँन सकिन्न ।एउटा पप गीत वा दोहोरी गाउनेले गीत गाएर जिबन चलाउन सक्छ भने भजन गाउनेको जिबन संकटमा रहनु पर्ने ? यसो भन्दा अन्य गीत संगीत जस्तै भजन किर्तनलाई पनि ब्यवसायिक रुप दिन सकिन्छ भन्ने हाे ।

भजन भनेको ब्राम्हण, बुढा,जेष्ठपाकाहरुले मात्रै गाउने, बजाउने र नाच्ने हो भन्नु गलत हो। यसैगरी युवा पुस्तालाई भजन संस्कृति प्रति आकर्षण गर्न पुरानो पुस्ता जिम्मेवार बन्नु पर्छ भने नयाँ पुस्ताले रूचि देखाउन आवश्यक छ। अहिले क्रमसः शंङ्ख बजेको सुनिन छाडे । घर, आगन,चौतारी, पोखरी, पाटी,पौवा ,मठ,मन्दिरमा साँझ बिहान भजन, चुट्का गुन्जिन छाडे ।

हाम्रो समाजको पहिचान, संस्कृति, परम्परा, कला र क्षमताको हिसाबले पनि भजनलाई बिशेष संरक्षण आवश्यक छ। भगवानका लिला,पौराणिक पात्रको कथा, शास्त्रको बयान र ब्याख्या सहज, सरल तथा मनोरन्जनात्मक आकर्षक शैलीमा प्रस्तुत गर्ने शसक्त माध्यम भजन नै हो।भजनमा सहभागी हुनु र सुन्नुमा पुण्य मिल्ने जनविश्वास छ । भजन आत्माशान्ति र मनोरन्जनको लागि पनी उत्तिकै प्रभाबकारी माध्यम हो ।

हाम्रो सनातन धर्म संस्कृति र परम्परा संरक्षणका हिसाबले पनि भजनका लागि केही समय दिनु उपयुक्त मानिन्छ ।हामीले भने जस्तै भजनलाई ब्यवसायिक रूपमै लैजान सके रोजगारी सृजना, प्रतिभाको उदय, कला र क्षमताको अभ्यासका साथै संस्कृति संरक्षण हुने पक्का छ । साथै भजनको बिभिन्न प्रशिक्षण, प्रतियोगिता तथा परम्परागत बाद्यबादनका सामाग्रीहरुको प्रयोगले आर्थिक गतिविधिमा समेत महत्व बढ्ने थियो ।

घर घरमा मादल, मुरली, बाँसुरी, खैजडी आदीको उत्पादन बढ्ने र उत्पादकलाई आर्थिक लाभ हुने थियो ।यो संगै सहजै यी सामाग्री उपलब्ध हुने थिए । बाद्यबादनका सामाग्रीहरु उपलब्धताले समाजमा भजन किर्तन संचालनमा सहज वातावरणमा सघाउ पुग्नेछ । छरछिमेक, वरपर, आफन्त र साथीभाइहरु जम्मा भएर आफ्नो धर्म, सस्कार, संस्कृति, परम्परा, पहिचान झल्कने गरी भजन किर्तन गर्दै, नाच्दै आपसमा सदभाव, शान्ति, सुखदुःख साटासाट गर्दाको आनन्द निकै महत्वपूर्ण हुन्छ ।

आम मानिसहरुमा भजनप्रतिको सहभागिता, रौनकता, उत्सुकता र थकाइ बिनाको मनोरन्जनले रात बितेको पत्तै पाउँदैनन् । परम्परा अनुसार बस्नु पर्ने जागाराम बस्न भजन किर्तन कै सहारा लिने गरिन्छ । बास्तबमा शास्त्रमा आधारित र धार्मिक महत्व रहेकाले जनसंस्कृती र लोक भाकाको प्रतीकको रूपमा समेत भजनलाई लिईन्छ ।

बाग्लुङमा भजन किर्तनलाई सस्थागत रूपमा बिकास गर्न केही सकारात्मक प्रयासहरू शुरू पनि गरिँदैछ । चर्चित कलाकार प्रजापति पराजुलीले नेतृत्व गरेको राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको बागलुङमा पनि जिल्लास्तरीय समिति गठन गरिएको छ। यो समितिले बागलुङमा पक्कै पनि ब्यवसायिक योजनाका साथ भजन किर्तनलाई अगाडी बढाउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *