उत्पादन गर्नुस्, बजारिकरणको व्यवस्था हामी गर्छौः मन्त्री थापा

आदर्श अनलाइन, बागलुङ
नयाँ संघीय अभ्यास सँगै खारेजीमा परेको कृषि कार्यालय बागलुङमा पुर्नस्थापित भएको छ । बागलुङ सदरमुकाममा आयोजित एक समारोहका बीच कृषि ज्ञान केन्द्रको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटन पछि बोल्दै मन्त्री मगरले कृषि पेशालाई सम्मानजनक हिसाबले हेर्ने बातावरण निर्माण गरिने बताउनुभयो । ‘किसान भन्दा वित्तिकै नाक खुम्चाउनु पर्ने अवस्थाको अन्त्य आवश्यक छ’ मन्त्री मगरले भन्नुभयो ‘किसानहरु पनि व्यावसायिक तरिकाले बाँच्नु पर्दछ, कृषिमा आधुनिकिकरण भित्राएर निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन आवश्यक छ ।’

देशको मुख्य पेशाको रुपमा कृषि क्षेत्र भएको भन्दै थापा मगरले किसानको सम्मान नभए सम्म कृषि पेशामा लाग्नेहरुबाट राज्यले आशा गर्न नसकिने उहाँको धारणा थियो । गण्डकी प्रदेश सरकारले किसानलाई साथ र सहयोग गर्नका लागि नीतिगत तहमानै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा सरोकारवाला लाग्नुपर्नेमा उहाँको जोड थियो ।

नजिकको सरकारका रुपमा रहेका स्थानीय तहले अझै पनि कृषि क्षेत्रमा उत्साहजनक लगानी गर्न नसकेको भन्दै उहाँले कृषि क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । सरकारले उत्पादन, प्रशोधन, प्याकिङ र बजारिकरणमा सहयोग गर्ने भन्दै उहाँले उत्साहित भएर व्यावसायिक कृषिमा लाग्न उहाँको सुझाव थियो । ‘कृषकहरुले उत्पादनमा जोड दिन प¥यो, बजारीकरणमा हामी लगानी गछौं’ थापा मगरले भन्नुभयो । माघ महिना भित्रै गण्डकी प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र स्थापना भईसक्ने उहाँले जानकारी दिनुभयो । सिमित पूर्वाधार र जनशक्तिको परिचालन गरेर स्थापना भएका कार्यालयबाट अधिकतम फाइदा लिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

तीन बर्ष पहिले जिल्ला कृषि विकास कार्यालय खारेज भए पछि बागलुङका किसानहरुले पर्वतमा रहेको कृषि ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । कृषि प्रधान देशमा जिल्लाबाटै कृषकहरुलाई सेवा दिँदै आएको कार्यालयनै खारेजीमा परे पछि यहाँका किसानहरु मर्कामा परेका थिए । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका ११ जिल्लामै कृषि ज्ञान केन्द्र स्थापना गर्ने लक्ष्य अनुसार बागलुङमा कार्यालय उद्घाटन गरिएको हो ।

गण्डकी प्रदेश सरकारको निर्णय अनुसार सबै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु बिज्ञ केन्द्र स्थापना गर्ने अभियान चलिरहेको छ । साविकको कृषि विकास कार्यालय रहेकै भवनमा कृषि ज्ञान केन्द्र स्थापना भएको हो । कार्यालय खारेज भए पछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय स्थापना गरेको छ । खाली रहेको समयमा आफ्नो कार्यालय स्थानान्तरण गरेको नगरपालिकालाई चालु आर्थिक वर्ष भित्रै वैकल्पिक व्यवस्था गरेर ज्ञान केन्द्रका लागि भवन खाली गरिदिन उहाँले आग्रह समेत गर्नुभयो । ज्ञान केन्द्रमा तत्कालका लागि वरिष्ठ कृषि विकास अधिकृत भानुभक्त भट्टराइको नेतृत्वमा ८ जना कर्मचारीको समुहले सेवा प्रवाह गर्नेछ ।
कार्यालय खारेज भएपछि खाली रहेको भवनमा बागलुङ नगरपालिकाले प्रशासनिक कार्यालय सञ्चालन गरेर नगरवासीलाई सेवा दिँदै आएको छ ।कार्यक्र

ममा संविधानसभा सदस्य नरबहादुर थापा, मन्त्रालयका सचिव सवनम शिवाकोटी, गण्डकी प्रदेस सभा सदस्यत्रय मणिभद्र शर्मा, इन्द्रलाल सापकोटा, खिमविक्रम शाही, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेपाली काँग्रेसका सभापति दिपेन्द्र थापा, बागलुङ नगरपालिका–६ का अध्यक्ष खेमराज सापकोटा, किसान रेशम थापा क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, केन्द्र प्रमुख भानुभक्त ढकालको स्वागत मन्तव्य र बाली विकास अधिकृत कुमार पुन मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *