काकाकुल गाउँको सारथी बन्दै नेवा

डम्मर बुढा मगर, बागलुङ
बडिगाड गाउँपालिका वडा नम्बर १० की शान्ति थापा हर विहान सबेरै उठ्नु हुन्थ्यो । उहाँ उठ्न साथ गाग्री लिएर पँधेरो तिर लाग्नु हुन्थ्यो । कहिले गाउँका अरु महिलाहरु छिटो धारो पुग्थे त कहिले थापा पुग्नुहुन्थ्यो ।

गाउँकै चन्द्रकला, इन्द्रा र मनकुमारीको पनि दैनिकी र बाध्यता एकै खालको थियो । गाउँ भन्दा धेरै टाढा रहेको धारोमा लाइन लगाएर एक गाग्री पानी भर्न ४ देखि ६ घण्टा लाथ्यो । यसरी घण्टौँ लगाएर खानेपानीको परिपूर्ति गरेका उनीहरु अहिले घर–घरमा धारो बनेपछि दंग देखिन्छन् ।

अहिले शान्ति जस्ता सयौँ महिलाहरुको दैनिकी फेरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले घर–घरमा धारो बनाई दिए पछि गाउँलेको नै दैनिकी फेरिएको छ । खानेपानीको चरम अभाव भए पछि नेवा र बडिगाड गाउँपालिकाले ४५ लाख खर्च गरेर घर–घरमा धारो बनाई दिएको छ । गाउँमा निर्माण भएको २१ वटा धारोबाट २९ घर परिवार लाभान्वित भएका छन् ।

घरमा धारो निर्माण भए पछि गाउँलेको जीवननै परिवर्तन हुन थालेको थापाले बताउनुहुन्छ । उहाँले घर–घरमा यसरी धारो निर्माण होला भन्ने कल्पना समेत नगरेको भन्दै अहिले गाउँलेहरु खुसी भएको उहाँको भनाई छ ।

‘यस्तो घरैमा धारो बन्ला भनेर मैले सोँचेको पनि थिएन, ४/५ घण्टा लगाएर खानेपानी ल्याउनु पथ्र्यो, अहिले पानी बोक्नका लागि गाग्री समेत उचाल्न परेको छैन,’ थापाले खुसी हुँदै भन्नुभयो ‘घर–घरमा पानी धारो बनेपछि त गाउँलेहरुको जीवननै बदलिएको छ, म त निकै खुसी भएको छु ।’

ढोरपाटन नगरपालिका वडा नम्बर ८ की मनकली बिक पनि अहिले निकै हर्षित हुनुहुन्छ । वर्षौदेखि कुवा र पोखरीको फोहोर पानी प्रयोग गर्दै आएकोमा नेवाले अहिले घरमा धारो निर्माण गरेर शुद्ध खानेपानी पु¥याई दिएको छ ।

‘पहिला त यही कुवाको पानी खान्थ्यौँ, राम्रो थिएन यो पानी, छानेर खानु पर्ने हुन्थ्यो, यो पानी खाँदा बिरामी पनि परिथ्यो,’ विकले नयाँ बनेको धारो देखाउँदै भन्नुभयो ‘अहिले त यति राम्रो धारो बनाई दिनुभएको छ, खुसी लागेको छ, अब त्यस्तो फोहोर पानी खान पर्ने छैन ।’

नेवाले बोबाङ गाउँमा ८३ वटा धारा निर्माण गरेको छ । जसबाट बोबाङ नौगर टोलका गाउँका दुई ४१ घर परिवारले शुुद्ध खानेपानी उपभोग गर्न पाएका छन् । नेवाको २६ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ, ढोरपाटन नगरपालिकाको ५ लाख र जनश्रमदान ९ लाख ९९ हजार ३ सय गरि ४१ लाख ७५ हजार दुई २८ रुयैयाँको लागतमा निर्माण भएको थियो ।

नेवाले यस वर्ष जिल्ला भर ८ सय एक वटा धारा निर्माण गर्ने लक्ष्य राखको छ । चालु आर्थिक वर्षको हालसम्म एक सय आठ वटा धारा निर्माण गरिसकेको र अझै ६ सय ९३ धारा निर्माणाधिन अवस्थामा रहेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका योजना अनुगमन निरीक्षक विनोद कोइरालाले जानकारी दिनुभयो ।

नेवाले निसीखोला गाउँपालिकाको वडा नम्बर ६ मा ५६ वटा, जैमिनी नगरपालिका वडा नम्बर १० मा ९ वटा, बडिगाड गाउँपालिका वडा नम्बर २ मा ७६ वटा वडा नम्बर ३ मा ४८ वटा, ताराखोला गाउँपालिका वडा नम्बर २ मा १ सय ६ वटा, ढोरपाटन नगरपालिका वडा नम्बर ६ र ९ मा १ सय ९० र जैमिनी नगरपालिका वडा नम्बर ४, ८ र ८ मा ९४ वटा धार निर्माणाधिन अवस्थामा रहेको कोइरालाको भनाई छ ।

नेवाले चालु आर्थिक वर्षमा पाँच करोड ९३ लाख तीन हजार ९ सय ४८ रुपैयाँको बजेटमा जिल्लाभर धारा बनाउन थालेको कोइरालाले बताउनुभयो । हालसम्म तीन करोड ५५ लाख ८२ हजार ३ सय ६८ रुपैयाँ बराबरको योजना सम्पन्न भएको उहाँको भनाई छ ।

उहाँले यस संस्थाले खानेपानीको चरम अभाव भएका स्थानका नागरिकहरुलाई सहज रुपमा खानेपानीको पहुँच पु¥याउने उद्देश्यले काम गरिरहेको भन्दै यस वर्षको योजना सम्पन्न भए पछि धेरैले खानेपानीकै लागि धेरै सास्ती खेप्नु नपर्ने बताउनुभयो ।

खानेपानीको अभाव भएका ठाउँबाट माग गरे अनुसार नेवाले आवश्यकताको आधारमा काम गरिरहेको भन्दै धेरैलाई खानेपानीको सहजता प्रदान गर्न आफूहरु लागि परेको बताउनुभयो । ‘यस वर्षको योजना सकियो भने धेरै नागरिक खानेपानीको सहज पहुँचमा आउँछन्, हामीले पनि धेरैलाई सहज पु¥याउने उद्देश्यले काम गरिरहेका छौँ,’ कोइरालाले भन्नुभयो ‘हामीले खानेपानीको अभावमा गुज्रिएका नागरिकहरुको आवश्यकता र मागलाई सम्बोधन गर्दै योजना निर्माण गरेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *