निसीखोलाका सबै वार्डमा कृषि र पशुको ‘पकेट क्षेत्र’

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले पालिकाका सबै वडालाई कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउने भएको छ ।

यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ र बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकाले सात वटै वडालाई फरक–फरक बाली तथा फलफूलमा पकेट क्षेत्र बनाउने तयारी गरेको जनाएको छ ।

निसीखोलाको वडा नम्बर १ लाई किबी, २ लाई कागती र मकै, वडा नम्बर ३ लाई किबी र दाँते ओखर, वडा नम्बर ४ लाई कागती र ओखर, वडा नम्बर ५, ६ मा आलु तथा पशुपालन र वडा नम्बर ७ मा अलैँची पकेट क्षेत्र बनाउन थालिएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ‘गाउँपालिकाको सबै वडामा फरक–फरक चिजको पकेट क्षेत्र बनाउने कार्यक्रम छ, सोही अनुसार सबै वार्डमा बातावरण अनुकल फलफूल, खाद्य बालीका बिउ तथा बिरुवा वितरण गर्ने तयारी छ,’ गौतमले भन्नुभयो ‘यसका लागि कुन वडामा कुन खेती वा कुन जातको पशुपालन राम्रो हुन्छ भन्ने बारे सम्भाव्यता अध्ययन भइसकेको छ, अब छिट्टै कृषकलाई बिरुवा तथा बिउ प्रदान गर्नेछौँ ।’

फलफूल पकेट क्षेत्र पर्ने वडामा ‘बिरुवा हाम्रो, फल तपाइको’ कार्यक्रम समेत सञ्चालन गरिनेछ । ‘कृषकलाईलाई फलफूल उत्पादन तर्फ आर्कषण गर्नका लागि गाउँपालिकाले ‘विरुवा हाम्रो, फल तपाईको’ कार्यक्रम ल्याएको छ, यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरेका छाैँ,’ उहाँले भन्नुभयो ‘कुन ठाउँमा कुन फलफूल राम्रो हुन्छ, त्यही अनुसार पालिकाले बिरुवा बितरण गर्ने हो, कृषकको माग ठीकै छ, भोलीका दिनमा आकर्षण बढ्ने अनुमान छ ।’

गाउँपालिकाकी कृषि शाखा प्रमुख तारा परियारले गाउँपालिकाको धेरै जसो ठाउँमा फलफूल उत्पादनका लागि अनुकुल वातावरण भएको बताउनुभयो । ‘यहाँको माटोमा धेरै प्रजातीका फलफूल तथा खाद्य बाली उत्पादन हुन्छ, यहाँको माटो फलफूल र खाद्यबालीका लागि राम्रो छ, केही वडामा मकै राम्रो, केहीमा धान राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘समग्रमा हेर्ने हो भने सबै वडामा बसै खाद्य बाली उत्पादन गर्न सकिन्छ भने वडा नम्बर ५ र ६ फलफूलका लागि त्यत्ति अनुकुल हावापानी छैन ।’

अब केही दिनमा कृषकले माग गरेका दाँते ओखर, किबिका बिरुवा वितरण गर्ने र त्यसका लागि बिरुवा ल्याइदैछ । ‘कृषकहरुबाट किबी र ओखरको माग बढी आएको छ, पहिलो चरणमा किबी र ओखर पकेट क्षेत्र पर्ने वडाका कृषकलाई बिरुवा वितरण गर्छौँ, त्यसपछि सबै कृषकलाई पकेट क्षेत्र अनुसारका बिरुवा दिन्छौँ,’ उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले कृषि तथा पशुपालनमा ९० लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ४५ लाख कृषि र ४५ लाख पशुपालनमा छुट्याइने छ ।

गाउँपालिकाले पशुपालन गर्ने कृषकका लागि अनुदानको समेत व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुहुन्छ । वडा नम्बर ५ र ६ पशुपालन पकेट क्षेत्र बनाउने भन्दै अध्यक्ष पौडेलले उनीहरुका लागि गाउँपाकिाको साथ रहने उहाँको भनाई छ ।

गाउँपालिकाले पाँच भन्दा बढी भैसी पाल्ने कृषकलाई ५० प्रतिशत अनुदान दिने योजना ल्याएको छ । यसका लागि वडा नम्बर ५ र ७ पशुपालनका लागि उपर्युक्त भएकाले सोही अनुसार कार्यक्रम बनाइएको अध्यक्ष पौडेलको भनाई छ । ‘पशुपालनका लागि हाम्रो दुई वडा बढी उपर्युक्त छन्, यहाँ अहिले पनि धेरै किसानहरुले ठुलो संख्यामा भेडा, गाइ, भैँसी पालन गर्नुभएको छ, भूगोल पनि त्यस्तै मिलेको हुँदा हामीले ५ र ६ नम्बर वडालाई पशुपालन र आलु पकेट क्षेत्र बनाउन थालेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले सबै तयारी पूरा गरेका छौँ, कृषकहरुसँग पनि छलफल गरेका छौँ, कृषकलाई हामी सधै सम्मान गर्छौ, सहयोग गर्छौ ।’

सिंगो पालिकानै कृषि र पशुपालनका लागि अनुकुल वातावरण भएको भन्दै अब बिस्तारै निसीखोलाले कृषि र पशुपालनबाट समृद्धि तर्फ पाइला अघि बढाउने उहाँको भनाई छ । पालिकाका किसानलाई व्यावसायिकता तर्फ उन्मुख गर्ने उद्धेश्यले समय–समयमा तालिम, परामर्श, बिउ बिजन र पशुलाई औषधी खोप समेत दिँदै आएका छ ।

‘पालिकालाई दूध, मासु र फलफूलमा आत्मनिर्भर बनाउने हाम्रो प्रयास जारी छ, कृषि क्षेत्रलाई व्यस्थित र परिस्कृत बनाउँदै रोजगार सिर्जना गर्ने, विदेश जाने युवालाई कृषिमै लगाउने गरि काम भएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘केही दक्ष जनशक्तिको अभाव छ, त्यसको परिपूतिका लागि पनि हामीले कर्मचारी राख्ने र कृषकलाई सहज बउन तर्फ लागेका छौँ ।’

यो पनि पढ्नुहोस्