महिला संघ बागलुङद्वारा बैतडीकी किशोरीको हत्यारालाई कारवाहीको माग

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस निकट नेपाल महिला संघ बागलुङले बैतडीकी १९ वर्षीया किशोरीको बलात्कार पछि भएको जघन्य हत्यामा सम्लग्नलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १९ वर्षीया भागिरथी भट्ट शुक्रबार उनको घर नजिकै मृत अवस्थामा फेला परेकी थिइन् ।

नेपाल महिला संघ बागलुङले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अहिलेको सरकारले आपराधिक गतिविधि गर्नेलाई कारवाहीको दायरामा नल्याउँदा यस्ता खालका घटना बढ्दै गएको उल्लेख गरेको छ ।

संघकी अध्यक्ष शकुन्तला शर्मा र सचिव उषा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा–‘विगतका दिनहरुमा निर्मला पन्त, सम्झना बिक लगायतका छोरी चेलीहरुको बलात्कार गरि हत्या गरिएका घटनामा संलग्न अपराधीलाई कानुन बमोजिम कारवाही गर्नुको साटो सत्ता र शक्तिको आधारमा अपराध र अपराधीलाई संरक्षण गर्दा जयन्य अपराधले निरन्तरता पाइरहेको उल्लेख छ ।’

संघकी अध्यक्ष शर्माले मुलुकको नेतृत्व गरेको पार्टी भित्रको आन्तरिक कलह र झगडाका कारण नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारीका कुरा त ओझेलमा परेको भन्दै यस्ता खाले जघन्य अपराधका घटनामा संलग्न अपराधीलाई छिटोभन्दा छिटो छानविन गरि कानुनको दायरामा ल्याइ कारवाही गर्न माग गर्नु भयो । उहाँले सरकार यस्ता घटनाहरुको छानविन गर्न आनकारी गरिरहेको भन्दै अब पनि उदासिन देखिएमा नेपाल महिला संघ न्यायको लागि थप आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

संघकी सचिव उषा पौडेलले दिनदहाडै महिलाहरु बलात्कृत पछि हत्या हुने घटना बढ्दै गएकाले यसमा सरकार उदासिन बनेको बताउनुभयो । उहाँले बागलुङ पनि यस्ता घटनाहरु भइरहेको भन्दै रुपा गौतमको हत्यारा समेत अझै पत्ता लगाउन नसकेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्