खुल्दै घरबास, बढ्दै पाहुना

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको होम–स्टे (घरबास) व्यवसाय बिस्तारै उठ्न थालेको छ । कोरोना भाइरसको प्रवेश सँगै देशमा जारी लकडाउन पश्चात ठप्प प्रायः भएका बागलुङका होम–स्टे खुल्न थालेका छन् ।

होम–स्टे खुलेसँगै पर्यटकीय तथा धार्मिक स्थलहरुमा आन्तरिक पर्यटकको चहल पहल समेत बढेको छ । जिल्लामा सञ्चालित २८ वटा होम–स्टे मध्ये अधिकांश संचालनमा आएको जिल्ला होम–स्टे तदर्थ समितिले जनाएको छ । समितिका अध्यक्ष तथा अतिथि सत्कार होम–स्टे बागलुङ नगरपालिका वडा नम्बर १० का सञ्चालक खिमबहादुर थापाले मंसिर अन्तिम सातादेखि पाहुना राख्न थालेको बताउनुभयो ।

उहाँले कोरोनाको प्रभाव कम हुँदै गएपछि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर होम–स्टे सञ्चालन गरिएको बताउनुभयो । ‘कोरोनाका कारण लामो समय बन्द ग¥यौ, यसको जोखिम कम हुँदै गएपछि खोल्न थालेका हौँ,’ अध्यक्ष थापाले भन्नुभयो ‘आउने पाहुनाहरुले पनि स्वास्थ्य मापदण्ड अपनाउनु भएको छ, सजग भएको पाएका छौँ, हामीहरुले पनि माक्स, स्यानिटाइजरको प्रयोग गरिरहेका छौँ ।’ कोरोनाका कारण अन्य क्षेत्रमा जस्तै पर्यटन व्यवसायमा पनि ठूलो मर्कामा परेको स्थानीय बताउँछन् ।

अहिले पनि पहिलेको जस्तो व्यापक मात्रामा पाहुनाहरुलाई राख्न नसकेको भन्दै सम्पर्क र सम्बन्धको आधारमा आउनेलाई मात्रै राख्ने गरेको उहाँको भनाई छ । ‘कोरोनाले हामीलाई निकै मर्कामा पा¥यो, ९ महिना भन्दा बढी बन्द गरेर बस्यौँ, अहिले पनि पहिलेको जस्तो पाहुना राख्ने अवस्था छैन र त्यसरी आएको अवस्था पनि छैन,’ थापाले भन्नुभयो ‘अहिले त्यही सम्पर्क र सम्बन्धमा आउने पाहु्ना बढी हुनुहुन्छ, उहाँहरुलाई पनि पहिलेको जस्तो स्वागत सत्कार र व्यवस्थापन गर्न सकि राखेका छैनौँ ।’

कोरोना कहरका कारण ९ महिना बन्द हुँदा ६ लाख भन्दा बढी क्षति बेहोर्नु परेको होम–स्टे सञ्चालक बताउँछन् । गाउँमै केही नयाँ गरेर जिविकापार्जन गर्ने प्रयासमा ठुलो झड्का लागेको छ ।कोरोना पछि महिनामा एक सय बढी पाहुना आउने गरेको होम स्टेले जनाएको छ ।

जिल्ला होम स्टे तदर्थ समितिका सचिव तथा रेश सामुदायिक होम–स्टेका संचालक युवराज थापाले कात्तिकदेखि संचालन गरेको बताउँनुहुन्छ । उहाँले बाहिरी पाहुना कम आउने गरेकाले वल्लो पल्लो गाउँका पाहुना र विभिन्न योजनाका लागि आएका कर्मचारीलाई मात्रै आउने गरेको बताउनुभयो ।

‘चैतदेखि बन्द भएको होम–स्टे कार्तिकदेखि खोल्यौँ, खोले पनि पहिलेको जस्तो उत्साहजनक रुपमा पाहुना आएको अवस्था छैन, अहिले निकै कम आउनुभएको छ, कोरोनाको प्रभाव पनि होला,’ थापाले भन्नुभयो ‘बाहिरबाट आउने पाहुना कमै हुनुहुन्छ, त्यही वरपरका गाउँबाट र विभिन्न संस्थाका कर्मचारी आउनुहुन्छ, पहिलेको जस्तो पाहुनाको लहर छैन ।’

अहिले महिनामा ५० देखि ५५ जना पाहुना होम–स्टेमा आउने गरेको भन्दै पहिलेको तुलनामा यो निकै कम भएको उहाँ बताउनुहुन्छ । ‘कोरोना अघि त राम्रै चलेको थियो, पाहुना पनि उलेख्य मात्रामा आउनुहुन्थ्यो तर अहिले त निकै कम आउनुभएको छ,’ उहाँले भन्नुभयो ‘कोरोनाको जोखिमले गर्दा पनि होला, यो पनि बिस्तारै घट्दै छ, अब बढ्ने अपेक्षा छ ।’

अहिले रेश गाउँका ८ वटा घरमा होम–स्टे संचालन छन् । सुरुमा ९ वटा घरमा संचालन गरे पनि एक घरका संचालक बसाइँ सरेपछि आठ घरमा संचालन भईरहेको थापा बताउनुहुन्छ ।

जिल्लाका अधिकांश होम–स्टे खुले पनि केही अझै सञ्चालनमा आउन सकेका छैनन् । त्यस मध्ये बरेङ गाउँपालिका वडा नम्बर २ सिग्दीमा रहेको सिग्दी सामुदायिक होम–स्टे अझै संचालनमा आउन सकेको छैन । कोरोनाका कारण बन्द भएको होम–स्टे थप व्यस्थापन गर्न थालेपछि सञ्चालन गर्न नसकिएको सञ्चालक समितिका अध्यक्ष हिरा पुनले बताउनुभयो ।

बन्द भएको मौका पारेर होम–स्टेलाई थप व्यवस्थित गराउन थालेकाले अझै व्यवस्थापनको काम नसकिएको हुँदा संचालनमा आउन नसकेको उहाँको भनाई छ ।

‘कोरोनाले बन्द भए पछि यसलाई थप व्यवस्थित बनाउने योजना गरायौँ, सोही अनुरुप यही मौका पारेर व्यवस्थापनको काम अघि बढाइयो,’ अध्यक्ष पुनले भन्नुभयो ‘व्यवस्थापनको काम नसकिए पछि संचालन गर्न सकेका छैनौँ, अब छिट्टै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याउँछौँ ।’

बरेङ गाउँपालिकका अध्यक्ष कृष्णप्रसाद शर्मालाई कोरोना संक्रमण भएपछि होम–स्टेमा थप कडाई गरिएको छ । ‘व्यवस्थापनको काम पनि करिब–करिब अन्तिम अवस्थामा थियो, अब संचालन गर्ने भन्ने थियो, गाउँपालिकाका अध्यक्ष ज्यूलाई कोरोना संक्रमण भएपछि थप केही समय बन्दनै हुने भयो,’ पुनले भन्नुभयो ।

कोरोनाका कारण होम–स्टे सञ्चालकलाई निकै घाटा बेहोर्नुपरेको उनीहरुले गुनासो गरेका छन् । आगन्तुक पाहुनालाई स्थानीय उत्पादन अर्गानिक चिज खुवाउनका लागि तयार गरिएका र खरिद गरिएका उत्पादन यतिकै थन्किएको र केही नष्ट हुने अवस्थामा पुगेको पुनको गुनासो छ । अब केही दिनमै स्वास्थ्य मापदण्डलाई अपनाएर होम–स्टे संचालन गर्ने भन्दै पहिलेको भन्दा केही नयाँ सेवा सुविधा सहित संचालन हुने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *