भागीरथीको अपराधीलाई कारबाहीको दायरामा ल्याउँन अनेमसंघको माग

आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल महिला संघ(अनेमसंघ) बागलुङले भागीरथी भट्टको बलात्कार पछि भएको हत्याको घटना प्रति ध्यानकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई ज्ञापन पत्र बुझाउँदै अनेम संघ बागलुङका उपाध्यक्ष यामुना श्रीषले घटनाको छानविन गरी अपराधमा संलग्न अपराधीलाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउँन माग गर्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेशको बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागीरथीको विद्यालय गएर घर फर्कर्दै गर्दा बाटोमै बलात्कार पछि हत्या गरिएको अवस्थामा माघ २२ गते शव फेला परेको थियो । भागीरथीको बलात्कार पछि हत्या भएको हप्ता दिन वित्दा पनि अपराधी पत्ता लाग्न नसकेको भन्दै शान्ति सुरक्षाको अभावमा हुने यस्ता गम्भिर अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउँन सरकार सम्वेदनशिल बन्नुपर्ने बताउनुभएको थियो ।

अनेमसंघ बागलुङका अध्यक्ष रावित्रा रानाले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई बुझाउँदै श्रीषले दिन प्रतिदिन बालबालिका माथि भएका अमानविय व्यवाहारले बालबालिकाको बाँच्न पाउने जन्मसिद्ध अधिकारको उल्लङघन भएको बताउनुभएको थियो ।

ज्ञापन पत्रमा नेपाल सरकारले बालअधिकार सम्बन्धी महासन्धीमा अनुमोदन गरेको ३० वर्ष पुग्दा पनि बालबालिकाले भेदभाव विना बाच्ने, राजनैतिक समाजिक तथा साँस्कृतिक अधिकार प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले देशमा दिन प्रतिदिन बालबालिका माथि घटिरहेका अमानविय घटनाको आफुले समेत निन्दा गर्दै आएको बताउनुभएको थियो । उहाँले बालबालिका र महिला माथि हुने सबै प्रकारका हिंसाका घटना रोक्नको लागि सबै संवेदशिल हुनुपर्ने बताउनुभयो । उहाँले अनेमसंघले आफुलाई हस्तान्तरण गरेको ज्ञापन पत्र तत्काल सम्बन्धीत मन्त्रालयमा पठाउँने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्