अंशुको गुनासो : ‘११ को परीक्षाबाट वञ्चित भए’

आदर्श अनलाइन, बागलुङ
नेपालकै पाँचौ कोरोना संक्रमित किशोरी कक्षा ११ को परीक्षा दिनबाट बञ्चित भएकी छिन् ।
बागलुङ नगरपालिका–४ कुँडुले घर भएकी अंशु सापकोटा सोही स्थानको कुडुँले माध्यामिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।

कक्षा ११ मा पढ्दै आउनुभएकी सापकोटा शैक्षिक सत्रको अन्त्यतिर बुबा आमासँग बेल्जियम भेटघाटका लागि जानुभएको थियो । भेटघाट पछि नेपाल फर्किने क्रममा गत वर्षको चैत्रमा कोरोना संक्रमण भएको थियो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण परीक्षाबाट बञ्चित भएको अंशुले बताउनुभयो । सापकोटा चैत्रमा कक्षा ११ को परीक्षा दिनका लागि बेल्जियमबाट नेपाल आउँदा कोरोना संक्रमित हुनुभयो ।

चैत्रको अन्तिम साताबाट सुरु हुने परीक्षा देशमा भएको बन्दाबन्दीका कारण स्थगन गरियो । परीक्षाको बातावरण नभएपछि अंशु निको भएपछि फेरि केहि महिना पश्चात बेल्जियम जानुभएको थियो । बेल्जियम गए पछि उहाँले निरन्तर विद्यालयको सम्पर्कमा रही अनलाइन कक्षा समेत लिदै आउनुभएको थियो । तर, मंसिरमा नेपाल सरकारले कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि जारी गर्दै विद्यालयलाई आन्तरिक रुपमा परिक्षा लिन भनेपछि आँफू नेपाल आउने तयारी गरे पनि बेल्जियममा बन्दाबन्दी भएका कारण परीक्षा दिन नपाएको उहाँको गुनासो छ ।

“म विद्यालयको निरन्तर सम्पर्कमा थिए, परीक्षा सुरु हुने भए पछि नेपाल आउने तयारीमा थिए तर बेल्जियममा बन्दाबन्दी भएका कारण समयमै आउन सकेन” अंशुले भन्नुभयो “बेल्जियमको बन्दाबन्दी खुल्दा साथ नेपाल आए, विद्यालयले परीक्षा सकिसकेको भन्यो, कोरोनाका कारण ११ को परीक्षा आन्तरिक भए पनि विद्यालयले लिन मानेन, लिन सकिदैन भनेको छ ।”

विद्यालयले आन्तरिक परीक्षा लिन सरकारले बनाएको कार्यविधि अनुसार परीक्षा लिदाँ अंशु नआएका कारण परिक्षाबाट बञ्चित भएको विद्यालयले जनाएको छ । तर, अंशुले भने आन्तरिक परीक्षा भएको र आफू कोरोनाको संक्रमण र जोखिमको समस्यामा परेका कारण परीक्षा दिन पाउनु पर्ने जिकिर गर्नुहुन्छ ।

विद्यालयलाई छुटेको परीक्षा लिने विषयमा जानकारी नभएको र आफू भन्दा उपल्लो तहबाट परीक्षा लिनु भने पछि मात्रै परीक्षा लिने कुडुँले माध्यामिक विद्यालयका प्रधानध्यापक हरी कंडेलले बताउनुहुन्छ । “आन्तरिक परीक्षा भए पनि अंशु उपस्थित नहुँदा पुनः परीक्षा गराउन समस्या भयो, उनको कक्षा ११ मा ७५ प्रतिशत हाजिर समेत पुग्ने अवस्था थियो” कंडेलले भन्नुभयो “शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन पोखरा र काठमाण्डौंमा समन्वय गरिरहेको छु, अन्तिम प्रयास गर्छु तर अनुमति बिना म स्वयम्ले परीक्षा गराउन सक्दिन ।” अंशुलाई अनलाइनबाट परीक्षा लिने भनिए पनि मान्यता नपाउने भने पछि नेपालमै बोलाइएको थियो ।

अंशुले भने प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखरामा गएर परीक्षा दिन पाउनु पर्ने र त्यसका लागि समन्वय गरिदिन आग्रह गरे पछि कार्यालयले विद्यालयलाई कक्षा ११ को परीक्षाका विषयमा सबै अधिकार दिएका कारण विद्यालयमै सम्पर्म गर्न भनेको थियो ।

परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख विष्णु नारायण श्रेष्ठका अनुसार कक्षा ११ को परीक्षा मुल्याङ्कन, नतिजा प्रकाशन, प्रमाणिकरण तथा प्रकाशन कार्यविधि २०७७ मा कोरोनाका कारण छुट भएको परीक्षाका विषयमा कुनै कुरा उल्लेख नभएको बताउनुभयो । “ग्रेड वृद्धि गर्न पुनः परीक्षा लिन सक्ने भनिए पनि छुटेको परीक्षाका विषयमा कार्यविधि मौन छ, त्यसैले कार्यविधिमा नभएको कुरा हामीले विद्यालयलाई भन्न सक्दैनौंं”श्रेष्ठले भन्नुभयो “तर,कोरोना कहरमा विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी हो, हाजिर समेत पुग्छ भने विद्यालयले परीक्षा लिन सक्छ, त्यो कुरा विद्यालयको हातमै हुन्छ, हामीले केही भन्न मिल्दैन ।”

यसरी अधिकारका विषयमा विद्यालयले माथिल्लो निकाय भन्ने र माथिल्लो निकायले विद्यालयलाई सबै जिम्मा भएको बताइरहँदा अंशुको शैक्षिक भविष्य थप अन्यौलमा देखिएको छ । कोरोना महामारी र व्यवहारिक पाटोलाई हेरेर विद्यालयले आफ्नो विशेष अधिकार प्रयोग गर्दै परिक्षा लिन सक्ने सरोकारवाला बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *