सिधा सडक सञ्जालः जोडिँदै निसी–ढोरपाटन

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ५ का अधिकांश स्थानीय घुम्ती बसाई गर्ने गर्छन् । यहाँका स्थानीय वासिन्दा हिउँदको समयमा निसी गाउँ (औल) र वर्षात्को समय निसेलढोर (लेक)मा बस्ने गर्छन् । निसीदेखि निसेलढोर जोड्ने सडक निर्माण हुन नसक्दा वर्षौदेखि जोखिमको यात्रा गर्दै आएका छन् ।

उनीहरु हरेक वर्ष साँघुरो गोरेटो बाटोमा यात्रा गर्न विवश छन् । यही बाध्यता अन्त्य गर्न निसीखोला गाउँपालिकाले निसीदेखि उत्तरगंगा ढोरपाटन जोड्नका लागि मोटरबाटो निर्माण कार्य थालेको छ । गाउँपालिकाले वडा ५ को निसी कटुवाल डेरादेखि साम्जा धूरी हुँदै ढोरपाटन नगरपालिका वडा नम्बर ९ अँधेरीखोला जोडिने सडक निर्माण गर्न थालेको हो । जहाँबाट उत्तरगंगा–ढोरपाटन पुग्न सहज हुनेछ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १० लाख, २०६६/०७७ मा ८ लाख र चालु आर्थिक वर्षमा ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । हालसम्म वडा नम्बर ५ को ज्ञानेन्द्र माध्यमिक विद्यालयदेखि हार्जबाङ गाउँ नजिक पुगेको सडक निर्माण समितिका सचिव ताराबहादुर बिकले जानकारी दिनुभयो ।

निर्माणाधिन अवस्थामा रहेको यो सडक ढोरपाटन नगरपालिका वडा नम्बर ९ अँधेरीखोला जोडिने छ । बजेट निरन्तर रुपमा परे केही समयमै ढोरपाटन नगरपालिका वडा नम्बर ९ सँग जोडिने सचिव बिकले बताउनुभयो । थोरै–थोरै बजेट पर्ने गरेको हुँदा समयमै जोड्न नसकेको उहाँको भनाई छ । ‘गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेको छ, प्रदेश र केन्द्रबाट पनि केही बजेट पर्ने भए छिट्टै जोड्न सकिने थियो,’ बिकले भन्नुभयो ‘थोरै बजेट पर्दा अझै केही वर्ष लाग्ने देखिन्छ, सबै तिरबाट बजेट प¥यो भने छिट्टै जोडिनेमा हामी आशावादी छौँ ।’

यो सडक सम्पन्न पछि निसीका स्थानीयलाई ढोरपाटन आवतजावत सँगै त्यहाँ उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका सामग्री ढुवानीमा समेत सहज हुनेछ । ढोरपाटनसँग सिधा सडकले निसी गाउँ नजोडिँदा बुर्तिबाङ हुँदै घुमाउरो यात्रा गर्नु पर्ने बाध्यता छ ।

‘ढोरपाटनबाट सामान लिएर आउनु प¥यो भने बुर्तिबाङ पुगेर आउनु पर्ने अवस्था छ, यो सडक बनेपछि सिधा ढोरपाटनबाट निसी आउन सकिन्थ्यो,’ बिकले भन्नुभयो, ‘यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ, यो सडक निर्माण भयो भने निसीवासीले विकास भएको अनुभुति गर्र्नेछन् ।’

अहिले ढोरपाटन उत्तरगंगाबाट कुक्कु, अँधेरी खोलासम्म सवारी सामानमा सान ढुवानी गर्नुका साथै यात्रा गर्न सकिन्छ भने अँधेरीखोलाबाट ५/६ घण्टाको पैदल यात्रा गरि घनाघोर जंगल पारगरी साम्जा धुरी नाघेर निसी पुग्नुपर्ने अवस्था छ ।

जंगलको बाटो यात्रा गर्दा वन्यजन्तुले आक्रमण गर्ने जोखिम र भारीसँग यात्रा गर्न निकै कठिन हुने स्थानीय भूलबहादुर बिकले बताउनुभयो । यो सडक जोडिएपछि सहज र थोरै समयमै ढोरपाटन पुग्न सकिने भन्दै यो सडकको छिटो निर्माण सम्पन्न हुन जरुरी रहेको बताउनुभयो । ‘यो सडक नबन्दा हामीले धेरै सस्ती खेप्नु परेको छ, ढोरपाटन जानु प¥यो भने घना जंगल पार गरेर जानु पर्ने हुन्छ, भारीसँग त झन् गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘ढोरपाटनबाट आलु, स्याउ ल्याउनु प¥यो भने बुर्तिबाङबाटै गाडीमा ल्याउनु पर्छ, बुर्तिबाङबाट आउँदा निकै फेरो पर्छ ।’

अर्का स्थानीय स्थानीय रुपमाया घर्ती मगरले सडक निर्माण भए पछि ढोरपाटन आउजाउ गर्न निकै सहज हुने बताउनुहुन्छ । घर्तीले अहिलेसम्म साँघुरो बाटोबाट पशुचौपाया लिएर ढोरपाटनको यात्रा गर्दा निकै समस्या भएको भन्दै सडक निर्माण पश्चात आफूहरुलाई ठूलो राहत मिल्ने बताउनुहुन्छ । ‘बाटो साँघुरो छ त्यस्तो बाटोमा गाई भैँसी सँग हिँड्दा लड्ने, पल्टिने डर हुन्छ, भीरको बाटो जोखिमै जोखिम छ, कति पटक गाई भैँसी पल्टिएर मरे पनि,’ उहाँले भन्नुभयो ‘धेरैजसो बर्खामा समस्या हुन्छ, बाटो चिप्लो हुन्छ, गाई भैँसी लड्ने जोखिम हुन्छ ।’

निसीखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ती मगरले यहाँका धेरैजसो स्थानीयको ढोरपाटनसँग रोटिबेटीको सम्बन्ध रहेकाले जंगलको बाटो आउजाउ गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । थोरै बजेटले गर्दा काम तीव्र गतिमा हुन नसकेको भन्दै यहाँका नागरिकको बाध्यता बुझेर केन्द्र र प्रदेश सकारले पनि बजेट विनियोजन गर्नु पर्नेमा उहाँको जोड छ ।

‘धेरैजसो नागरिक यही बाटो भएर हिँड्छन्, ढोरपाटन र निसीको रोटिबेटीको सम्बन्ध छ, यसले गर्दा पनि आवतजावत बढी हुन्छ,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘अझ ढोरपाटनबाट केही सामान ढुवानी गरेर ल्याउने हो भने भरिया लगाएर ल्याउनु पर्छ कि घोडा खच्चडमा, गाडीमै ल्याउने हो भने घण्टौँको फेरो पर्ने सडक प्रयोग गरेर बुर्तिबाङबाट आउनुपर्छ ।’ यो सडकलाई वडाले गौरवको योजनाको रुपमा राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *