बागलुङका अग्रज पत्रकार आचार्यको निधन

आदर्श अनलाइन, बागलुङ
बागलुङका अग्रज पत्रकार तथा सञ्चार उद्यमी दुर्गादत्त आचार्यको निधन भएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद समेत रहनुभएका आचार्यको शनिबार ६८ वर्षको उमेरमा निधन भएको हो ।

आचार्य शुक्रबार नेपाल ट्रेड युनियन कांग्रेसको कार्यक्रममा कास्कीको लुम्लेमा सहभागी हुन पुग्नुभएको र शनिबार विहान स्वास्थ्यमा समस्या आएपछि पोखरा उपचारका लागि लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको नेपाली कांग्रेसका विद्यार्थी नेता हरिहर शर्माले जानकारी दिनुभयो ।

आचार्यलाई यसअघि हृदयघात भएको थियो । सो समयमा तत्काल काठमाण्डौंमा उपचार गरे पछि अवस्था सामान्य बनेको थियो । पछिल्लो समय आचार्यलाई कोरोना संक्रमण समेत भएको थियो । लामो समयदेखि हृदयघातबाट पीडित आचार्यको सोही समस्या बल्झिएका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

आचार्यको अन्तिम दाहसंस्कार आइतबार बिहान मालढुंगा स्थित कालीगण्डकी किनारमा गरिने बताइएको छ ।

आचार्यको निधन प्रति नेपाल पत्रकार महासंघ बागलुङ शाखाले दुःख व्यक्त गरेको छ । ‘जिल्लाका अग्रज पत्रकार, सञ्चार उद्यमीको निधनले सिंगो पत्रकार महासंघ परिवार स्तब्ध छौ,’ पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले भन्नुभयो, ‘जिल्लाको छापा तथा विद्युतिय सञ्चार माध्यम, पत्रकारिता र पत्रकार महासंघको विकासमा महत्वपूर्ण योगदान स्मरणीय रहनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *