सामाजिक सञ्जालबाट चिठ्ठा परेको भन्दै लाखौ ठग्ने ६ जना पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–६ की २० वर्षीया युवतीलाई फेसबुक र ह्वाट्सएप मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले डोनाल्ड केन्ली नामको फेसबुक एकाउटको म्यासेन्जरबाट ढोरपाटनकी मिना बुढा मगरलाई ६० हजार डलर सहित ल्यापटप चिठ्ठामा परेको भन्दै ठग्ने १ जना पाकिस्तानी नागरिक सहित ५ जना नेपालीलाई देशको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीले तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषेत्तम वाग्ले, नवलपरासीको गैंडाकोट नगरपालिका–१६ का ४२ वर्षीय दिनेश पोख्रेल, झापाको मेचिनगर ६ को भानुटोल बस्ने २४ वर्षीय प्रदिप सिटौला, रुकुम पूर्व भुमे गाउँपालिका ३ मन २२ वर्षीय सन्तोष श्रेष्ठ, झापाको गौरादह नगरपालिका–५ का २९ वर्षीय मिलन कोहवरा सहित १ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । ठगीमा संलग्न अन्य ४ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

संगठित रुपमा संलग्न रहि ठगि गरेको पाईएपछि प्रहरीले पक्राउ परेका व्यक्ती माथि ०७७ माघ ४ गतेबाट ठगी मुद्धाबाट संगठित अपराधमा परीणत गरी अनुसन्धान गरिरहेको श्रेष्ठले बताउनुभयो ।

चिठ्ठामा परेको रकम र ल्यापटप प्राप्त गर्नको लागि कर तिर्नुपर्ने भन्दै डोनाल्ड केन्ली भन्ने व्यक्तीसँग ह्वाट्सएप मार्फत गरेको कुराकानीको आधारमा मिनाले पटक–पटक गरि ७ लाख ६१ हजार रुपैयाँ विभिन्न व्यक्तीलाई पठाउनुभएको थियो ।

कर बापत भन्दै अपरिचित व्यक्तिलाई लाखौ रकम पठाएपछि आफु ठगिएको आशंकामा मिनाले २०७७ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको श्रेष्ठले बताउनुभयो ।

ह्वाट्सएप र फेसबुक म्यासेन्जरमा कुराकानी गर्ने व्यक्तीले मिनालाई आएएमी, आइपीयस मार्फत नेपालको विभिन्न स्थानमा रहेका व्यक्तीलाई पैसा पठाउँन लगाएका थिए ।

मिनाले सन्तोष श्रेष्ठलाई असोज १४ गते आइएमी मार्फत ५६ हजार रुपैयाँ, असोज १६ गते पुरुषोत्तम वाग्लेको नाममा १ लाख ५० हजार रुपैयाँ, असोज १९ गते वाग्लेकै नाममा २ लाख रुपैयाँ र असोज २२ गते प्रदिप सिटौलाको नाममा रहेको एन आइ सी एसिया बैंकको खातामा ३ लाख ५५ हजार रुपैयाँ पठाउनुभएको थियो ।

पछिल्लो समय इमो, ह्वाट्एप, म्यासेन्जरमा लाखौ, करोडौको चिठ्ठा परेको भन्दै म्यासेज र फोन आउने क्रम बढ्दै गएको र मानिसहरु ठगिने क्रम पनि बढेको भन्दै श्रेष्ठले यस्तो फोन र म्यासेज आए तुरुन्तै प्रहरीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

ठगी गर्ने व्यक्तिबाट बच्ने उपायहरु:

१. कुनै पनि अपरिचित व्यक्तिसँग फोन अथवा Facebook, Twitter, Viber, WhatsApp, We chat जस्ता Online माध्यममार्फत अनावश्यक रुपमा अपरिचित व्यक्तिसँग गफ नगर्ने ।

२. मोबाईल अथवा विभिन्न अनलाईन माध्यममार्फत चिठ्‍ठा पर्‍यो भनि आएका Message वा फोन आएमा विश्‍वास नगर्ने । यस्ता Message वा फोनमा तुरुन्त प्रहरी कार्यालयमा सम्पर्क गर्ने ।

३. कुनै पनि अपरिचित व्यक्तिलाई आफ्नो खाता नम्बरलगायत व्यक्तिगत विवरण नदिने ।

४. विभिन्न सञ्चार माध्यममार्फत आएको घरमै बसी रोजगारी भन्ने जस्ता विज्ञापनको भरोसा गरी नहाल्ने । आवेदन दिनुपुर्व कस्तो काम हो त्यसको बारेमा राम्रोसँग बुझ्ने ।

५. कुनै अपरिचित व्यक्तिले तपाईको खातामा पैसा पठाएको छ भने त्यसको बारेमा प्रहरीलाई तुरुन्त खबर गर्ने, त्यसको पैसा गैरकानुनी पनि हुन सक्दछ ।

६. अपरिचित व्यक्तिले आफ्नो नागरिकता, राहदानी, लाईसेन्स जस्ता महत्वपूर्ण कागजात मागेमा नदिने । बिना कुनै स्वार्थ कसैले एक कप चिया त खुवाउदैन भने लाखौँ रुपैयाँको बहुमुल्य उपहार कसरी पठाउछ ? अनि तपाईले भर्दै नभरेको चिठ्‌ठा कसरी पर्दछ ? यस्ता घटनालाई लिएर प्रहरी कार्यालयमा उजुरी दिनेको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । यसरी अपरिचित व्यक्तिले फोन तथा अनलाइन माध्यमबाट गर्ने ठगीबाट बच्न विभिन्न सञ्चार माध्यमले प्रसारण गर्ने सूचनामा ध्यान दिऊ र यस्ता घटनाबाट ठगिन सदैव सजग बनौं र अरुलाई पनि सजग बनाऔं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *