नयाँ सहरी आयोजनाः बदलिँदै बुर्तिबाङ बजार

डम्मर बुढा मगर, बागलुङ
केही वर्ष अगाडि सम्म अस्तव्यस्त रहेको बुर्तिबाङ बजार क्रमशः अहिले व्यवस्थित बन्दै गएको छ ।
साना छाप्रो, २/४ वटा ठूला भवन रहेकोमा अहिले ठूला–ठूला भवनहरुले बजार ढाकिएको छ ।

गाडी चल्दा धुलोले आजित हुने बुर्तिबाङवासी अहिले त्यो सकसबाट धेरै हद सम्म मुक्त भएका छन् । मध्यपहाडी लोकमार्गको नयाँ सहरी आयोजनाले काम गर्न थालेपछि बुर्तिबाङ बजारको मुहारै फेरिने क्रममा छ । उसो त यसमा ढोरपाटन नगरपालिकाले पनि आफ्नै हिसाबले योजना र काम गरिरहेको छ ।

ढोरपाटन नगरपालिकाको केन्द्र तथा बागलुङको दोस्रो व्यापारिक केन्द्रका रुपमा विकास भइरहेको बुर्तिबाङ बजारमा नयाँ सहरी आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । सरकारले घोषणा गरेको मुलुकका १० वटा नमुना सहर मध्येमा परेको बुर्तिबाङ बजारमा पूर्वाधार निर्माणको कामले गति लिएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर २ कुत्थाप्लामा नयाँ सहर आयोजनाको कार्यालय स्थापना गरि विकासको कामलाई अगाडी बढाइएको छ । कार्यालयले बजार क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै पूर्वाधार निर्माणलाई जोड दिएको छ । ढल व्यवस्थापन, सोलार बत्ती जडान, सडक ढलान लगायतका कामलाई आयोजना कार्यालयले जोड दिएको छ ।

बुर्तिबाङ बजारको विकासको लागि चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका इन्जिनियर कोमल शाहले जानकारी दिनुभयो । अहिले बजार क्षेत्रका सडकमा ढलानको काम तीव्र गतिमा भइ रहेको शाहले बताउनुभयो ।

‘यसवर्ष आठ करोड रुपैयाँ विनियोजन भएको छ, त्यसबाट बजार क्षेत्रमा सडक ढलान लगायतका काम तीव्र गतिमा भइरहेको छ,’ उहाँले भन्नुभयो ‘अहिले काम चलिरहेको छ, ढलानसँगै अरु कामहरु पनि त्यत्तिकै तीव्र गतिमा भइ रहेका छन् ।’

इन्जिनियर शाहले यस वर्ष बजार क्षेत्रको ९० प्रतिशत सडक ढलान गरि सक्ने र अर्को वर्ष बाँकी रहेको १० प्रतिशत सडक ढलान गरि सक्ने गरि काम भई रहेको बताउनुभयो । यो वर्ष ढलानको लागि ४ करोड छुट्याएको भन्दै यो रकमले ४ किलो मिटर सडक ढलान हुने शाह बताउनुहुन्छ ।

‘यो वर्ष बजार क्षेत्रका सबै सडक ढलान गर्ने योजना हो, कम बजेटका कारण बसै गर्न सबिने अवस्था रहेन, त्यसले गर्दा १० प्रतिशत जति सडक यो वर्ष सक्छौँ, अर्को वर्ष सबै सकिन्छ,’ उहाँले भन्नुभयो ‘ढलको काम गरि सकेका छौँ, अब बजार क्षेत्रसँग जोडिएका अन्य सडकहरु स्तरोन्नती गर्न बाँकी छ, आगामी वर्षहरुमा ति कामहरु हुनेछन् ।’

सडक ढलानको लागि असारसम्म म्याद रहेको भन्दै काम तीव्र गतिमा भएको हुँदा छिटै सकिने शाहको भनाई छ । यस वर्ष आठ करोड बजेट विनियोजन भएकोमा गत वर्षको योजनाको लागि ४ करोड र अन्य चालु वर्षका लागि खर्चिने इन्जिनियर शाह बताउनुहुन्छ ।

‘यो आर्थिक वर्षमा विनियोजन भएको आठ कराड मध्ये गत वर्षको योजनाको लागि ४ करोड भुक्तान गर्न थियो, अन्य बजेटले यस वर्ष कार्यालय व्यवस्थापन, सडक ढलान लागयतको काम हुँदैछ,’ उहाँले भन्नुभयो ‘कार्यालय व्यवस्थापनका काम पनि बाँकी रहेको हुँदा यस वर्ष त्यो पुरा हुनेछ ।’

बुर्तिबाङ बजारमा अझै बाहिरी सडक ढलान, खेल मैदान, बसपार्क लगायतका कामहरु गर्न बाँकी रहेको उहाँको भनाई छ । ढोरपाटन नगरपालिका र स्थानीयको सहयोगले काम तीव्र गतिमा भएको शाहले बताउनुभयो । ‘नगरपालिका र स्थानीयको राम्रो सहयोग छ, उहाँहरुको सहयोगले गर्दा कामले गति लिएको छ, समन्वय र सहकार्य निरन्तर रहनेछ ।’

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले नयाँ सहरी आयोजनासँगको सहकार्यमा भएको काम प्रभावकारी भएको बताउनुभयो । नेपालीले यो आयोजनाले बजार क्षेत्र सुधारका लागि उल्लेख्य काम गरेको भन्दै नगरपालिकासँग पनि राम्रो सहकार्य भएको भताउनुभयो ।

‘आयोजनाले जनचाहना अनुसार काम गरेको छ, त्यसका लागि हामीले पनि साथ दिएका छौँ, पहिलो कस्तो गञ्जागोल थियो बुर्तिबाङ बजार ? अहिले हेर्नुस् कस्तो राम्रो भएको छ,’ मेयर नेपालीले भन्नुभयो ‘आयोजनाले काम गर्न थालेपछि बुर्तिबाङ बजारको स्वरुप नै बदलिएको छ ।’

उहाँले जनताले अनुभव गर्ने र प्रत्यक्ष देखिने गरि काम भएको भन्दै आयोजनाको कामलाई आफूहरुले पनि साथ दिएको बताउनुहुन्छ । उहाँले आयोजनाले गरेको हरेका कामलाई सहयोग पुग्ने काम गरेको भन्दै सहकार्य गरे काम निरन्तर गरिने बताउनुभयो ।

‘आयोजनाले गरेको कामलाई हामीले सुरु देखिनै सहयोग पुग्ने गरि काम गरेका छौँ, बजार क्षेत्रको ढल व्यवस्थापन होस् या सोलार जडान हो, सबैमा हामीले सहकार्य गरेका छौँ,’ उहाँले भन्नुभयो ‘अझै पनि हाम्रो तर्फबाट सहयोग हुन्छ, यो सब जनताकै लागि हो, विकासकै लागि हो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *