बागलुङमा जुलोजिकल पार्क निर्माण गर्न रु. पाँच करोड ६१ लाख बजेट

खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) निर्माण शुरु भएको छ । बागलुङ नगरपालिकाले डिपिआर गत वर्ष निर्माण गरेको डिपिआरका आधारमा अहिले गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको रु. ५० लाखले जुलोजिकल पार्क निर्माण शुरु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर–५, ६ र ७ मा पर्ने पाँच वटा सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन नगरपालिकाले अगुवाई गरेपछि सार्थकता पाउन थालेको छ ।

पर्यटन उपज कार्यक्रम अन्र्तगत संघीय सरकार र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत रु. पाँच करोड ६१ लाख हालै बिनियोजन भएको छ । उक्त रकम मध्ये संघीय सरकारले रु. ३ करोड ६५ लाख र बागलुङ नगरपालिकाले रु. एक करोड ९६ लाख बेहोर्नुपर्ने हुन्छ । उक्त रकम तीन वर्षमा खर्च गरिसक्नुपर्नेछ ।

सामुदायिक बनमा भएका जीवजन्तुको संरक्षण सँगै पर्यटनको विकासका लागि नमूना जूलोजिकल पार्क निर्माण शुरु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उक्त पार्कको आर्थिक वर्ष २०७६÷७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार गरीएको थियो ।

बागलुङ नगरपालिकाले जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनले रु. ८ लाखको लागतमा सम्भाव्यता अध्ययन सहित डिपिआर तयार गरिएको थियो ।

झण्डै रु.२६ करोड लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्क तीन वर्षमा आधारभूत पूर्वाधार निर्माण गर्न रु. पाँच करोड ६१ लाख बजेट बिनियोजन भएको पौडेलले जानकारी दिनुभयो । “अहिले गण्डकी प्रदेश सरकारको रु. ५० लाख लागतमा ठेक्का मार्फत तारबार र पैदलमार्ग निर्माणको काम शुरु भएको छ” नगर प्रमुख पौडेलले भन्नुभयो “तीन वर्षमा झण्डै रु.६ करोडको काम हुनेछ, त्यतिबेलासम्म अन्य बजेट समेत थपिदै जाला, पाँच÷सात वर्षमा प्राणी उद्यानले सार्थकता पाउला ।”

अहिले बागलुङ नगरपालिका–५ मालिका मन्दिरबाट ६०० मिटर पदमार्ग, ६०० मिटर तारजाली र वनस्पती परिहचानको माक शुरु भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक विविधतायुक्त पर्यटकीय सामुदायिक बन, संसारकोट सामुदायिक वन, सुनाखरी सामुदायिक वन, वयलधारा सामुदायिक वन र तितौरे सामुदायिक वनको झण्डै ३७२ हेक्टर जंगलमा पार्क फैलने छ ।

धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि निर्माण संगै पर्यटन प्रर्बदन गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ । पशुपंक्षी, जडिबुटीको संरक्षण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्राउने उदेश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको थियो । उक्त पार्क निर्माणका लागि निरन्तरको पहलकदमीबाट संघीय सरकारबाट पर्यटन साझेदारीमा बजेट बिनियोजन गर्न सफल भएको निवर्तमान संघीय सांसद डा. सूर्य पाठकले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायाण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नम्बर–५, ६ र ७ मा पर्ने पाँच वटा सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकाले पछि पार्क निर्माणले गति लिएको हो । ।

सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तु लगायतका पाँच क्षेत्रलाई ध्यानमा दिएर जुलोजिकल पार्क निर्माण गर्न आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनले डिपिआर निर्माण गरेको थियो । पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, भ्यू टावर, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्क भित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जंगल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्दार तथा जंगलको फायर निर्माण लगायतका संरचना निर्माण गर्ने डिपिआरमा उल्लेख रहेको छ ।

जुलोजिकल पार्क नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुनेभएकाले पर्यटकलाई समेत आर्कषण गर्न सकने बागलुङ नगरपालिकाको योजना रहेको छ । पर्यटकहरुलाई सडक मार्ग र पदमार्ग मार्फत जंगल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने,जंगली जनवारहरुको वासस्थान संरक्षण गर्ने नगरपालिकाको उदेश्य रहेको नगर प्रमुख पौडेलले बताउनुभयो । पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधा सम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागि समेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना रहेको छ ।

जंगली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षण संगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको थियो । सामुदायिक बन क्षेत्रमा सय भन्दा बढी प्रजातिका बन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा पाइएको छ । बागलुङमा पाँच कोटको संगम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीय स्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ । फाइल तस्विर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *