पार्टीले ज्यान मार्ने मुद्दामा फसाएर वडा अध्यक्षबाट हटाउन खोज्योः पुन (विज्ञप्तीकाे पूर्णपाठ)

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनले पार्टी नेतृत्वतहले आफूमाथि कपोकल्पित र झुठा प्रपञ्च रची अध्यक्ष पदबाट हटाउन खोजेको आरोप लगाउनु भएको छ ।

शनिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि पुनले आफुलाई झुठ्ठा मुद्दामा फसाएर निर्वाचन आयोग सम्म पुगेर वडा अध्यक्ष पद खारेज गराउन खोजेको बताउनुभयो ।

पछिल्लो ८/९ वर्षदेखि पार्टीका विविध गतिविधी प्रति आफ्नो फरक मत राख्दै आएकाले पार्टीका जिम्मेवार र नेतृत्वमा रहेकाहरुले सोही मदभेदलाई लिएर सार्वजनिक रुपमा आफ्नो वेइज्जती गर्दै वडा अध्यक्ष पदकै प्रतिष्ठामा आच पु¥याउन खोजेको बताउनुभयो ।

उहाँले २०७६ कार्तिक १२ पार्टीको जिल्ला नेतृत्व तहमा रहेका व्यक्तिहरुले योजनाबद्ध तरिकाले अपराधिक व्यक्ति परिचालन गरि आफु सहित पार्टीका स्थानीय कार्यकर्ता माथी भौतिक आक्रमण समेत गरेको बताउनुभयो । पुनले आफुलाई फसाउनको लागि पार्टी नेतृत्वनै लागि परेको भन्दै उहाँले पटक पटक कृतिम घटना घटाएर छानविन समेत गर्ने गरेको बताउनुभएको छ ।

अध्यक्ष पुनले आफैलाई मार्ने गरि पार्टी नेतृत्वले योजनावद्ध तरिकाले परिचालन गरेका व्यक्तिबाट ज्यान बचाउन सफल भएपनि सोही घटनामा आफु सहित स्थानीय कार्यकर्तालाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरि फसाएर २२ दिन सम्म प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था सिर्जना गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा पुनले आफुलाई बदनाम गर्नको लागि पार्टी नेतृत्वले कुनै कसर बाँकी नछोडेको भन्दै गत असार १३ गते राहत वितरणको लागि कुनै संस्थाले गाउँ लैजादै गरेको खाद्यन्न र नगद खोलामा बगाईदिएको भन्दै संचार माध्मबाट अनर्गल प्रचार प्रसार गरेर आफुलाई बदनाम गर्न खोजेको समेत आरोप लगाउँनुभयो । उहाँले पार्टीले आफु र राष्ट्रिय जनमोर्चा समर्थक स्थानीय कार्यकर्तालाई एकपक्षिय रुपमा कारबाही भन्दै पार्टी सदस्य समेत नरहने गरि निस्काशित गरेको भन्दै आपत्ति जनाउनुभयो ।

२०७६ मंसिर १४ गते आफु नेपाली काँग्रेसमा प्रवेश गरेको भनि कपोकल्पित विवरण पेश गरी निर्वाचन आयोगबाट आफू र वडा सदस्यको निर्वाचित पद खारेज गराउन खोजिएको भन्दै उहाँले उहाँले त्यसको विरुद्धमा आफु कानुनी उपचारमा गइसकेको बताउनुभएको छ ।

प्रेस विज्ञप्ति
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा न –४ का वडा अध्यक्ष म तिलक पुनका विरुद्ध म आफै आवद्ध पार्टी नेतृत्वतहबाट कपोकल्पित र झुठा प्रपञ्चहरु रची निर्वाचन आयोगबाट मेरो निर्वाचित वडा अध्यक्ष पद खारेज गराउने, ज्यान मार्ने उद्योगको झुठा मुद्दामा फसाई दुःख दिने र मेरो विरुद्धमा अनर्गल प्रकारले झुठा अफवाहहरु फैलाएर मेरो सार्वजनिक प्रतिष्ठा गिराउने कुचेष्टा गर्ने जस्ता नाजायज हर्कतहरु हुँदा मेरो विषयमा जनस्तरमा सिर्जना भएका भ्रमहरु बारे बास्तविक तथ्यहरु स्पष्ट गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

पार्टी नेतृत्वबाट पछिल्लो समयमा मेरो विरुद्ध भएका निर्लज्ज आक्रमणहरुको बारेमा स्पष्ट गर्न घटनाक्रमको विगतको पृष्ठभूमि बारे पनि केही चर्चा गर्नुपर्ने आवश्यकता देखिन्छ । खास गरी विगत ८/९ वर्ष अघि देखि नै पार्टीको कतिपय आन्तरिक मामिलाहरुमा जिल्ला तहको पार्टी नेतृत्वसँग मेरो मतभेदहरु रहँदै आएका थिए । समयक्रमसँगै पार्टी नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरुले ती मतभेदका विषयहरुलाई व्यक्तिगत टकरावको रुप दिँदै गए र पार्टी नेतृत्व हामीप्रति चरम असहिष्णु बन्दै गयो । त्यसै क्रममा २०७६/०७/१२ मा पार्टीको जिल्ला नेतृत्व तहमा रहेका व्यक्तिहरुले योजनाबद्ध प्रकारले परिचालन गरेका आपराधिक व्यक्तिहरु सहितको समूहबाट म लगायतका स्थानीय जिम्मेवार पार्टी कार्यकर्ताहरुमाथि निर्मम ढंगले भौतिक आक्रमणको घटना हुन पुग्यो । त्यो घटनको छानविन गर्न पार्टी केन्द्रीय कार्यालयबाट छानविन आयोग गठन भई २०७६ मंसिरमा आयोगले घटनाको स्थलगत छानविन गर्ने काम भयो । २०७६ फाल्गुनमा पुनः जिल्ला तहबाट गठित छानविन आयोगले घटनाको स्थलगत अध्ययन ग¥यो । ती दुवै आयोगहरुले हामीलाई दोषी ठह¥याउने तथ्यहरु फेला पार्न सकेनन् । आयोगबाट आफू अनुकुलको प्रतिवेदन नआएपछि पार्टी नेतृत्वले दुवै आयोगका प्रतिवेदनहरु गुपचुप राखी हामीलाई पार्टीबाट कारबाही गर्ने नयाँ बहानाहरु खोज्न थाल्यो । लामो समयसम्म उपयुक्त बाहाना फेला पार्न नसकेपछि पार्टी नेतृत्वले २०७७ असारमा छद्म ढंगले एउटा कृतिम घटनाको सिर्जना ग¥यो ।

मिति २०७७/०३/१३ मा कहिँ कतै नाम समेत नसुनिएको ‘प्रवासी युवा समूह दुरलेक’ नामको अपरिचित संस्थाले राहत वितरण गर्न लगेको खाद्य सामाग्री र नगद म समेतका स्थानीय पार्टी कार्यकर्ताहरुले खोलामा बगाई दिएको भनेर पार्टी नेता कार्यकर्ता र संचार माध्यमहरुबाट समेत व्यापक प्रोपोगाण्डा सिर्जना गरियो । त्यो राहत वितरण गर्ने भनिएको संस्थाको आधिकारिकता के हो ? त्यो संस्था कहाँ कसरी संचालित छ ? राहत वितरण गर्न संस्थाको आधिकारिक प्रतिनिधी को गएको थियो ? यी सवालहरुको जवाफ अहिलेसम्म पनि कसैले दिन सकेको छैन । तर घटना भएको भनी प्रोपोगाण्डा गरिएको हप्तादिन नपुग्दै राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको नामबाट वक्तव्य बाजी गर्दै म लगायतका स्थानीय पार्टी कार्यकर्ताहरुलाई राहत सामाग्री फालेको आरोप लगाउने र एकपक्षीय ढंगले हामीलाई पार्टी सदस्यताबाट समेत निष्काशन गरिएको घोषणा गर्ने काम भयो ।
पार्टी नेतृत्वले राहत सामाग्री बगाएको भनेर कृतिम घटना सिर्जना गर्नुको खास अन्तरनिहित उद्देश्य म र वडा सदस्य तिल बहादुर फगामीको निर्वाचित पद खारेज गराउनका लागि मुद्दाको बनावटी आधार तयार गर्नु नै थियो । पार्टी नेतृत्वले २०७७ असार देखि नै राहत सामाग्री फालेको आरोप लगाई म र वडा सदस्यको निर्वाचित पद खारेज गराउने कानूनी प्रक्रिया सुरु ग¥यो । पार्टी नेतृत्वले लगाएको त्यो आरोप कानूनी व्यवस्थासँग मेल नखाएपछि २०७७/०७/२७ देखि गएको प्रदेशसभा उपनिर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गरेको आरोप लगाई दोस्रो मुद्दा प्रक्रिया चलाइयो । त्यो आरोप समेत कानूनी व्यवस्था अनुकुल नभएपछि मिति २०७७/०८/०९ मा पार्टीको केन्द्रीय सचिवालय बैठकको नामबाट निर्लज्ज ढंगले म र वडा सदस्य तिल बहादुर फगामी मिति २०७६ मंसिर १४ गते नै नेपाली काँग्रेसमा प्रवेश गरेको भनी कपोकल्पित विवरण पेश गरेर निर्वाचन आयोगबाट म र वडा सदस्यको निर्वाचित पद खारेज गराउने कार्य भएको छ । पार्टी नेतृत्वको यो निर्लज्ज एवं निकृष्ट कुकृत्य अत्यन्तै आपत्ति जनक र निन्दनीय छ । हामी त्यसका विरुद्ध कानूनी उपचारमा गइसकेकाछौं । सम्मानित सर्वोच्च अदालतबाट निर्वाचन आयोगको पद खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भइसकेको छ ।

जहाँसम्म २०७६ कार्तिक १२ गतेको घटनाको विषयलाई लिएर म लगायतका स्थानीय पार्टी कार्यकर्ताहरु विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको र म समेतका साथीहरु २२ दिनसम्म प्रहरी हिरासतमा बस्नुपरेको घटनाको सन्दर्भ छ, यो आम रुपमा जगजाहेर नै छ कि मिति २०७६ कार्तिक १२ गतेको घटना वास्तवमा पार्टी नेतृत्वतहबाटै ज्यान समेत लिने नियतले हामीमाथि योजनाबद्ध प्रकारले निर्मम आक्रमण भएको घटना हो । त्यो निर्मम आक्रमणबाट हामी ४ जना स्थानीय जिम्मेवार पार्टी कार्यकताहरु मरणासन्न अवस्थामा पुगेका थियौं । चारै जना घाइतेहरुले फेवासिटी हस्पिटल पोखरामा भर्ना भई लामो समय उपचार गराएका थियौं । म न्युरो सम्बन्धि थप उपचारको लागि अन्नपूर्ण न्युरो हस्पिटल काठमाण्डौमा समेत भर्ना हुनुपरेको थियो । हामी चारै जना घाइतेहरुले आक्रमणकारीहरुका विरुद्ध कानूनी उपचारका लागि प्रहरीमा संयुक्त जाहेरी दर्ता गराएका थियौं । हाल जिल्ला अदालत बागलुङमा त्यो मुद्दाको प्रक्रिया चलिरहेकोछ । घटनाको यो वास्तविकता जगजाहेर हुँदा हुँदै २०७६ कार्तिक १२ गतेको घटनामा म लगायतका स्थानीय पार्टी कार्यकर्ता विरुद्ध ज्यान मार्ने उद्योगको झुठ्ठा मुद्दामा फसाएर दुःख दिन र मेरो सार्वजनिक बदनाम गर्न पार्टी नेतृत्वले विगत १ वर्ष देखि नै पूरा शक्ति लगाउँदै आएको थियो । अहिले बिचौलियाहरुको प्रयोग र सत्तासिन राजनीतिक शक्तिसितको राजनीतिक सौदावाजीको विषय समेत बनाएर पार्टी नेतृत्वले हाम्रो विरुद्ध झुठा मुद्दा दर्ता गराई दुःख दिन र बदनाम गर्न सफल भएको छ । यो पार्टी नेतृत्वको हद दर्जाको कुकृत्य हो ।

यो सन्दर्भमा पार्टी नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरुले ढोरपाटन नगरपालिकाको नेतृत्वसँग आपसी स्वार्थका विषयहरुमा सौदावाजी समेत गरी ढोरपाटन न.पा. वडा नं. ४ का जनप्रतिनिधी, कर्मचारी, वडावासी नागरिकहरु समेत माथि नाजायज हर्कतहरु भएको घटना प्रति पनि हामी आपत्ति प्रकट गर्दछौं । म प्रहरी हिरासतमा रहेको समयमा नगरपालिकाको नेतृत्वबाट छोरेगाउँमा रहेको वडा कार्यालय बुर्तिबाङमा सार्न दबाव दिने, वडाका जनप्रतिनिधीहरुलाई धम्काउने, राजीनामा दिन दबाव दिने, सरकारी कार्यालयहरुलाई वडा नं. ४ का कार्यवहाक वडा अध्यक्षले गरेका सिफरिसहरु अमान्य गर्न दबाव दिने जस्ता नाजायज एवं गैरकानूनी हर्कतहरु भएका रहेछन् । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि पनि नगरप्रमुखबाट लामो समयसम्म मलाई वडा अध्यक्ष अस्वीकार गर्ने हर्कत समेत भएको थियो ।

अन्तमा जीवनभर पार्टी प्रति समर्पित भएका र ज्यानको बलिदान दिन समेत तयार भएका पार्टी कार्यकताहरु प्रति दुराशय राखी सार्वजनिक रुपमा यस प्रकारका नाजायज हर्कतहरु गर्ने पार्टी नेतृत्वले पार्टीको आदर्श र सार्वजनिक नैतिकताको जग भत्काइसकेको छ । अब पार्टीको आदर्श र नैतिकता जोगाउने दायित्व आम पार्टी कार्यकर्ताहरुमा आएको छ । हामी पार्टी नेतृत्वका जुनसुकै कुकृत्यहरुको विरुद्धमा पार्टी भित्र र सार्वजनिक रुपले समेत संघर्ष गर्नबाट डगमगाएका छैनौं । हाम्रो विरुद्धमा पार्टी नेतृत्वबाट फैलाइएका अनर्गल अफवाहहरुको भ्रममा नपर्न पार्टी कार्यकर्ता र आम जनसमुदायहरु समक्ष अपिल गर्दछौं ।
मिति : २०७७ फागुन ८ गते
तिलक पुन
वडा अध्यक्ष
ढोरपाटन न.पा.–४, बागलुङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *