पर्यटन विकासका लागि ‘पर्यटन महोत्सव’

डम्मर बुढा मगर, बागलुङ
दर्जनौ पर्यटकीय स्थल भएर पनि प्रचार प्रसारको अभावको कारण ओझेलमा रहेको बरेङ गाउँपालिका यो वर्ष भने जुर्मुराएको छ । यहाँका केही धार्मिक तथा पर्यटकीय क्षेत्रहरु चर्चामा भएपनि कतिपय अझै ओझेलमा छन् । कौडेको धूरी, साग्दी सत्यवती मन्दिर यहाँका चर्चामा रहेका पर्यटकीय स्थल हुन् ।

चर्चामा रहेका पर्यटकीय स्थलले पनि पूर्वाधार निर्माण, त्यहाँ सम्म पुग्ने सडक सञ्चाल र पर्यटकलाई खाने बस्ने र त्यहाँको विषेशता बताउन सक्ने दक्ष जनशक्ति अभावका कारण पर्यटकलाई आकर्षण गर्न सकेका छैनन् ।

तीनै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार प्रसार र चर्चामा रहेकालाई स्थललाई प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले यो वर्ष पर्यटन महोत्वस गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमै पर्यटन महोत्वस गर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

महोत्सव गर्नको लागि निर्धारित समय नतोकिए पनि यसै वर्ष महोत्सव गर्ने थापाको भनाई छ । महोत्सवको माध्यबाट ओझेलमा परेका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचार गरिने थापाले बताउनुभयो ।

‘हाम्रो पालिकामा अनगिन्ती धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, तर तिनीहरु प्रचार प्रसारको अभावमा ओझेलिएका छन्, तीनै क्षेत्रको प्रचार प्रसार र प्रचारमा आएका गन्तव्यहरुको प्रवद्र्धनको लागि महोत्सव गर्ने भएका छौँ,’ थापाले भन्नुभयो ‘महोत्सवको लागि समय तोकेका छैनौँ, तर यस आर्थिक गर्नेछौ ।’

थापाले नेपालले कृषि पछि पर्यटनबाट आम्दानी गर्न सक्ने प्रचुर सम्भावना बोकेको भन्दै बरेङले पनि पर्यटकलाई खुसी बनाएर समृद्धि हाँसिल गर्न सक्ने धेरै आधार रहेको बताउनुभयो । गाउँपालिकाले कृषि, विकास निर्माण सँगै पर्यटनलाई पनि प्राथमिकतामा राखेर काम गरि रहेको भन्दै महोत्सवपछि धेरै गन्तव्यहरु बाहिर आउने उहाँको भनाई छ ।

‘अहिले धेरै गन्तव्यहरु ओझेलमा परेका छन्, धेरै रमणीय, आन्तरिक र बाह्य पर्यटकलाई समेत आकर्षण गर्ने ठाउँको बारेमा प्रचार प्रसार गर्न सकेका छैनौ,’ उहाँले भन्नुभयो, ‘महोत्सवलाई माध्यम बनाएर बरेङका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने योजना बनाएका हौ ।’

उहाँले पर्यटन प्रर्वद्धन पश्चात गाउँपालिकाका हरेक नागरिक व्यवसाय सँग जोडिने भन्दै उनीहरुको जीवनशैली र दैनिकी पनि परिर्वतन हुने बताउनुभयो । थापाले साग्दीको सत्यवती मन्दिर र वडा नम्बर २ को कौडेको धूरीलाई केही वर्ष अगाडी देखि प्रर्वद्धन गर्न थालेको भन्दै यस वर्ष पनि निरन्तर पूर्वाधार निर्माण तथा पुरातात्विक वस्तुहरुको संरक्षणमा लागि रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा सत्यवती मन्दिर व्यवस्थापनको लागि ५ लाख, कौडेको धूरीमा पूर्वाधार निर्माण तथा पुरातात्विक वस्तुहरुको संरक्षणका लागि ५ लाख विनियोजन गरेको थापाले जानकारी दिनुभयो । यी लगायत अन्य स्थालहरुको पहिचान, विकास, प्रचार प्रसार र पर्यटन महोत्वका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले २४ लाख ५० हजार विनियोजन गरेको उहाँको भनाई छ ।

बरेङ गाउँपालिकाले धार्मिक स्थलको रुपमा वडा नम्बर ३ साग्दीमा रहेको सत्यवती मन्दिरलाई प्राथमिकतामा राखेर काम यसको प्रवद्र्धनमा लागेको छ । स्थानीय सरकार आएपछि जीर्ण बन्दै गएको मन्दिर व्यवस्थित र चिटिक्क परेको सत्यवती मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष खडकबहादुर श्रीस बताउनुभयो ।

उहाँले पहिले झडीले ढाकिएको र अस्तव्यस्त रहेको भन्दै अहिले व्यवस्थित बनेको बताउनुहुन्छ । ‘केही वर्ष अगाडी त सबै झाडीले ढाकेको थियो, मन्दिरसम्म पुग्ने बाटो गतिलो थिएन, अहिले त धेरै राम्रो भएको छ,’ श्रीसले भन्नुभयो ‘मन्दिर पनि राम्रो भएको छ, त्यस वरपर पनि हेर्न लायक, देख्न लायक भएको छ ।’ हरेक वर्ष मंसिर/पुस महिनाको पूर्णिमामा ठूलो मेला लाग्ने यस मन्दिरमा पुजा गर्नको लागि देशका ठूला शहर पोखरा, काठमाडौँ, नेपालगञ्ज तथा, बागलुङका विभिन्न स्थान, गैडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल, म्याग्दी, लगाएतका ठाउँहरुबाट तिर्थयात्रीहरु आउँने श्रीसको भनाई छ ।

गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले पर्यटन विकासका लागि सुवाती चरणदेखिनै पूर्वाधार निर्माण गर्नमा लागेको बताउनुभयो । ‘हामी निर्वाचित भएर आएदेखि नै पालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गगरि प्रचारमा जुटेका छौँ, कतिपय अझै ओझेलमै छन्,’उपाध्यक्ष पुनले भन्नुभयो ‘प्रचार गरिएका गनन्तव्यहरुमा पर्यटकहरु पुग्न थालेका छन्, रमाउन थालेका छन्, अझै पनि लुकेका गन्तव्यको खोजिमा हामी लागि रहेका छौँ ।’

उहाँले कौडे र सत्यवतीसँगै वडा नम्बर ३ को भातेखोपरालाई पनि प्रचार गर्न थालिएको बताउनुभयो । गत वर्ष यस ठाउँमा तीन लाखको लागतमा भवन निर्माण गरेको भन्दै अन्य पूर्वाधार समेत निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *