सविना परियार,बागलुङ
नाम कुलबहादुर परियार । घर पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङ । उमेरले २६ वर्ष । कक्षा १२ सम्मको अध्यान गर्नुभएका कुलबहादुर पछिल्लो समय गाउँमै कृषि र सिलाई कटाइमा व्यस्त हुनुहुन्छ ।
अध्यनमा लगनशिल भएपनि पारिवारिक जिम्मेवारीका कारण २३ वर्षकै उमेरमा विदेशिएका कुलबहादुर २ वर्षमै नेपाल फर्कनुभयो । कामदार भिषामा साउदी अरब पुगेका २ वर्ष सम्म होटलमा काम गर्नुभयो । आम्दानी पनि राम्रै थियो । तर भिषा सकियो । भिषा सकिएपछि १ वर्ष पहिले घर फर्किएका परियारले तरकारी खेती गर्ने र कुखुरा पाल्ने सोच बनाउनुभयो ।
लोकल प्रजातीका २५ वटा कुखुराका चल्लाबाट घरमै व्यवसायीक जीवन सुरु गरेका परियार पछिल्लो समय तरकारी खेती गर्ने र सिलाई कटाई समेत गर्न थाल्नुभएको छ । स्थानीय युवा क्वलबमा समेत आवद्ध रहेर सामाजिक कार्यमा समेत सहयोग गर्दै आएका परियारले घरमै च्याउ खेती समेत गर्न थाल्नुभएको छ । ‘स–सानो लगानीमा च्याउ, कुखुरा र टर्नेल समेत निर्माण गरेर टमाटर खेती गरे,’ परियारले भन्नुभयो ‘ठुलो लगानी गरेर कृषि गर्न सके राम्रो आम्दानी हुँदो रहेछ भन्ने महशुष गरेको छु ।’
‘विदेशबाट फर्किएर नेपालमै व्यवसाय गर्छु भन्ने सोच बनाएको थिए,’ उहाँले भन्नुभयो ‘घर पनि फर्कने कोरोनाको कारणले लकडाउन पनि हुने भयो तत्कालै सोचेजस्तो गर्न नसके पनि सुरुवात गरेको छु ।’ ठुलो लगानी गर्ने, टन्न तरकारी खेती गर्ने, कुखुरा चल्ला पाल्ने र आम्दानी गर्ने सोच नभएको भने होइन तर ऋण गरेर व्यवसाय गर्दा डुब्छ की भन्ने चिन्ताले सताउने गरेको उहाँको भनाई छ ।
‘आजभोली गाउँ घरमा पनि बजारको तरकारीको भरमा बस्ने परिवार बढ्दै गएका छन्,’ परियार भन्नुहुन्छ सानै लगानीमा पनि गाउँमा तरकारी खेती गर्न सक्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’ गाउँमै च्याउ खेती गरेका छिमेकी दाइसँग तालीम लिएर सानो पूँजीमा च्याउ खेती गरेका परियारले फालाएको च्याउ गाउँमै बेचेर सकेको बताउनुहुन्छ । स्वच्छ, अर्गानिक तरकारी र खाद्यन्न खानेहरुको संख्या न्यून हुँदै गएको समयमा युवाहरुले गाउँ गाउँमै व्यवसायीक रुपमा तरकारी खेती गर्न सके आम्दानी पनि हुने र स्वच्छ तरकारी पनि खान पाइने उहाँको भनाई छ ।
तरकारी, कुखुरा र टमाटर मात्र होइन परियारले गाउँमा आइपर्ने अन्य काम पनि सहजै गर्नुहुन्छ । विवाह, चौरासी पुजामा पञ्चेबाजा बजाउने देखि पछिल्लो समय आफ्नै जातिय पेशालाई समेत प्रर्वद्धन गर्नुपर्छ भनेर परियारले घरमै टेलरिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको छ ।
बा, बाजेले सिलाउनु हुन्थ्यो, मैले पनि तेही देखेर सिकेको थिए, परियारले भन्नुभयो तर पछिल्लो समय घरमै एउटा मेसिन राखेर व्यवसायीक रुपमै सिलाउन थालेको छु । उहाँले आफ्नो पुख्यौली पेशालाई व्यवसायीक बनाउँनको लागि तीन महिने सिलाई तालिम लिएर घरमै कुर्ता, विद्यार्थीका ड्रेस सिलाउन थालेको समेत बताउनुभयो । अहिले सम्म यतिनै आम्दानी गरे भन्न सक्ने अवस्था छैन परियार भन्नुहुन्छ तर घर खर्च चलाउन ऋण खोज्नु परेको छैन ।
‘हातमा सिप र जाँगर हुने हो भने एक छाक खानको लागि मर्नु पर्दैन,’ परियार भन्नुहुन्छ ‘जानेको काम गर्न लाज लाग्दैन, नजानेको काम पनि सोधेर, खोजेर सिकेर गर्ने गरेको छु ।’ उमेरले सानै भएपनि सोचले भने परियार परिपक्क हुनुहुन्छ । मौलिक संस्कृती लोप हुन थालेको प्रति उहाँको चिन्ता र चासो छ । बाउबाजेको पुख्यौली काम पञ्चेवाजालाई संरक्षण गर्नुपर्छ भनेर उहाँले आफुभन्दा सानो उमेरका भाइहरुलाई समेत हौसला प्रदान गर्दै आफैले बाजा बजाउने गरेको बताउनुभयो ।
देशमै स्वरोजगार बन्ने, परिवार सँग रमाउने र कमाउने सोच बनाएर विदेशबाट फर्किए पनि परियार ढुक्क भने हुनुहुन्न । लगानी गर्ने सुरक्षित बातावरण नभएको, भर्खर काम सुरुवात गर्न चाहाने युवालाई प्रोत्साहन हुने गरि वातावरण नभएको र सुरुवातमै आफुजस्तो युवाले ऋण खोजेर ठुलो लगानी गर्न क्षमता नपुग्ने भन्दै उहाँले सुरक्षित र सुनिश्चित वातावरण बन्नुपर्नेमा सरोकारवालाको ध्यायन पुग्नुपर्ने बताउनुहुन्छ । अब फरि विदेश जाने मन छैन, नेपालमै काम गर्ने वातावरण बनोस र सबैको सहयोग मिलोस भन्ने चाहना रहेको परियारको भनाई छ ।