बालबालिकालाई कुलतसँगै लतबाट पनि जोगाउ

सम्पादकीय
बालबालिका, किशोर किशोरी या युवा युवतीहरु उमेर अवस्थाका कारण कुलतमा फस्ने जोखिम बढी हुन्छ । साथी संगत, देखासिकी, पश्चिमी संस्कृतिको प्रभावका कारण यस्तो समस्याबाट आजको दिनमा पनि अधिक बालबालिका, किशोर किशोरी र युवायुवती ग्रसित छन् । चाहे त्यो लागु पदार्थ दुव्यर्सनको सन्दर्भ होस् या अरु विकृत व्यथितिलाई पछ्याउने क्रममा होस् । उमेर अवस्था, अपरिपक्वताका कारण कुलतमा फस्ने र त्यसले केबल व्यक्तिलाई मात्र नभई परिवार, सिंगो समाजमा समेत गम्भीर असर पु¥याइरहेको हुन्छ ।

पछिल्लो दिनमा कुलत मात्र होइन, बिभिन्न लत पनि परिवार र समाजका लागि खतरा देखिएको छ । प्रविधिको तिव्रतर विकास सँगै नागरिकको हात हातमा पुगेको मोवाइल र सामाजिक सञ्जालको पहुँच अहिले बालबालिकाका लागि नराम्रो लत बनिरहेको छ । यसले मनोरञ्जन र केही ज्ञान पनि प्राप्त भएको छ । तर, त्यो सँगै उनीहरुको मानसिकतामा नकारात्मक असर गर्ने र अध्ययनमा ध्यान केन्द्रित नभई एउटै कुरामा मोडिने जोखिम बिद्यमान छ । पछिल्लो तथ्यांक अनुसार पनि प्रविधि सँगै सामाजिक सञ्जाल चलाउने बालबालिकाको संख्या उल्लेख्य छ । राष्ट्रिय बालअधिकार परिषद्को प्रतिवेदन अनुसार लकडाउन भएको चैतदेखि असारसम्म मात्रै ४८ वटा बाल यौन दुव्र्यवहारका उजुरी नेपाल प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये साइबर बुलिङ, बाल अश्लीलता, झुटो आइडी, छलकपट सम्बन्धी धेरै छन् । यसले के संकेत गर्दछ भने मोवाइल र अनलाइनमा अधिक समय खर्चिरहेका बालबालिका ब्ल्याकमेलिङमा फस्ने र गम्भीर दुर्घटना समेत हुने जोखिम बढ्दो छ ।

भनिन्छ, बालबालिका काँचो माटो जस्तो हो । जसलाई जे बनायो, त्यही बन्छन् या बनाउन सकिन्छ । तर, अहिलेका हाम्रा बालबालिका प्रति अभिभावक, शिक्षक र सरोकारवाला उति धेरै संवेदनशील देखिदैनन् । कारण जानेर या नजानेर अनेक व्यस्तता देखाउने, बाहना बनाएर आफ्ना कलकलाउँदा बालबालिकाको भविष्य प्रतिको दायित्वबाट पन्छिन् परिपाटी बढ्दो छ । अधिकांश अभिभावकले आफ्नो व्यस्तता देखाएर छोराछोरीलाई समय दिन नसक्ने, तर मोबाइल, ट्याब, ल्यापटपजस्ता विद्युतीय उपकरण सजिलै किनिदिने गर्दछन् । तर, त्यसको कुन हिसाबले उपयोग गरिरहेका छन् ? भन्नेमा चासो र ध्यान दिऔं । त्यसले भोलीका दिनमा दुर्घटना निम्त्याउने जोखिम बढी हुन्छ । अतः बालबालिकालाई कुलतबाट मात्र होइन, मोवाइल, ल्यापटप, सामाजिक सञ्जालको लतबाट पनि जोगाउ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *